स्वास्थ्य क्षेत्रमा भएको ठूला उपलब्धीले म खुशी छुः प्रधानमन्त्री प्रचण्ड

What's This?


Download our app to get more features

काठमाण्डौ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्दै आज पदबाट राजीनामा दिएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भएका घटनाक्रम र उपलब्धीका बारेमा चर्चा गरे । सो क्रममा प्रधानमन्त्री दाहालले जनस्वास्थ्यका क्षेत्रमा पनि सरकारले थुप्रै नीतिगत र कार्यक्रमिक सुधार गरेको भन्दै सन्तुष्टि व्यक्त गरे।

सम्बोधनको क्रममा उनले स्वास्थ्य क्षेत्रमा भएका विभिन्न नीतिगत र कार्यक्रमिक सुधारका बारेमा जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म कम्तिमा २ चिकित्सक, स्थानीय स्वास्थ्य संस्थासम्म निशुल्क औषधि र उपकरणको व्यवस्था गरिएको, अस्पतालमा ओपिडी सेवाको समय बढाइएको, सरकारी अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य गरिएको बताए । 

मिर्गौला डायलेसिस सेवासँगै बाथ, मुटुरोग, मृगौला प्रत्यारोपण निशुल्क गरिएको, महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण, नसर्ने रोगको परीक्षणलाई स्थानीय तहसम्म बिस्तार गरिएको, नेपालगञ्ज र जनकपुरमा मुटुरोग र नेपालगञ्जमा क्यान्सर उपचार बिस्तार गरिएको प्रधानमन्त्रीले बताए । उनले सबै नेपालीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन ‘स्वास्थ्य बीमा विद्येयक’ र समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर बनेको ‘राष्ट्रिय स्वास्थ्य विद्येयक’ मन्त्रीपरिषदवाट स्वीकृत भई संसदमा पेश हुने चरणमा रहेको र ‘प्रजनन स्वास्थ्य विद्येयक’ अन्तिम चरणमा रहेको जस्ता ठूला उपलब्धी भएको भन्दै खुशी व्यक्त गरे । 
 
यसैगरी, स्वास्थ्य जनशक्ति, पूर्वाधार र उपकरणलाई एकीकृत रुपमा विकास गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अगाडि बढाइएको, सेवाका आधारमा अस्पतालको बर्गीकरण गरी संघीय संरचनाअनुरुप प्रत्येक स्थानीय तहमा एक प्राथमिक अस्पताल हुने गरी प्रादेशिक र संघीय तहमा स्वास्थ्य सेवा र संरचनासहितको मापदण्ड स्वीकृत गरिएको प्रधानमन्त्रीले जानकारी दिए । 

यस्तै, यस वर्षलाई ‘मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको रुपमा मनाइँन सुरु गरिएको, मुटु, मृगौला, क्यान्सर, पार्केन्सन, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल कर्ड इन्जुरी, सिकलसेल एनिमिया, मस्तिस्कघात, कलेजो, फोक्सो र थाल्सेमियर गरी १२ वटा प्राणघातक रोगहरुको उपचारको लागि एक लाखसम्मको खर्च सरकारले व्यहोर्ने व्यवस्था गरिएको भन्दै प्रधानमन्त्रीले उपलब्धि पेश गरे ।

साथै, सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम कैलाली, बाग्लुङ्ग, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की र म्याग्दीमा सञ्चालन भइरहेको  र कार्यक्रम क्रमशः देशभरी सञ्चालन गरिने व्यवस्था मिलाइएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो । नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणले उपचार गर्न सक्ने गरी अस्पताललाई सर्वसाधारणका लागि पनि खुल्ला गरिनु अर्को उपलब्धि भएको प्रधानमन्त्रीको जिकिर छ । 

Last modified on 2017-06-14 14:26:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts