तपाईंको नङ वरिपरिका छाला उप्किने समस्या छ ? यसो गर्नुहोस्... 



Download our app to get more features

धेरैको नङ वरिपरिको छाला च्यातिने समस्या हुन्छ । साधारणतया मौसम परिवर्तनका वेला यो समस्या धेरै देखिने भए पनि अन्य समयमा पनि भइरहेकै हुन्छ । नङ वरिपरिको छाला च्यातिएपछि चिलाउने पोल्ने हुनाले धेरैले छाला नै उप्काएर फालिदिने गरेको पनि पाइन्छ । यसो गर्दा घाउ बन्ने, रगत बग्ने र थप इन्फेक्सन भएर पिप बग्नेदेखि नङ नै उप्किएर जाने खतरासम्म आइलाग्छ । अधिकांशले भोग्नु पर्ने यो समस्या आखिर के कारणले हुन्छ ? समस्या आउनै नदिन के गर्न सकिन्छ ? र समस्या भइसकेपछि समाधान के हुन सक्छ ?
 

केमिकल र फोहोरका कारण
मरेका छाला निस्किने प्रक्रियाबाहेक केमिकल र फोहोरका कारण पनि नङ नजिकको छाला उप्किने गर्छ । ग्लोब्स विना नै केमिकल चलाउने तथा ब्याक्टेरिया युक्त फोहोरमा काम गर्ने व्यक्तिले जुनसुकै वेला यो समस्या व्यहोर्नु पर्छ । फोहोरमा काम गरेर राम्रोसँग नधुँदा पनि नङ वरिपरिको छाला उप्किने गर्छ । ‘हाउस वाइफ’हरूमा यो समस्या बढी देखिनुको कारण यही हो । नङ र औँला टोकिरहने व्यक्तिहरू पनि यो समस्याको बढी नै सिकार हुन्छन् । 

छाला फेरिँदा पनि देखिन्छ यस्तो समस्या
नङ आसपासको छाला उप्किने समस्यालाई मेडिकल भाषामा ‘प्यारोनाइकिया’ भनिन्छ । शरीरबाट मरेका छाला निस्किने र नयाँ पलाउने एउटा नियमित प्रक्रिया पनि हो । नङ वरिपरिका छाला पनि पुरानो भएपछि आफैं उप्किएर जाने गर्छ । तर, उप्किदै गरेको छालाबाट असहज महसुस भएपछि हामी जबर्जस्ती च्यातेर फालिदिने गर्छौं । यो गलत काम हो । यसले थप समस्या ल्याउँछ । रगत बग्ने, घाउ बन्ने र पिप बन्नेसम्म भएर नङ नै खतरामा पर्न सक्छ । नङमा भएको इन्फेक्सन शरीरकै लागि घातक भइदिन पनि सक्छ । त्यसैले उप्किदै गरेको छाला जबर्जस्ती च्यात्ने कहिल्यै गर्नु हुँदैन । 

भिटामिन र प्रोटिनको अभाव
शरीरमा भिटामिन र प्रोटिनको आवश्यक मात्रा अपुग हुँदा पनि नङ वरिपरि छाला उप्किने समस्या हुन्छ । भिटामिन ‘सी’को अभावमा बढी यस्तो भएको पाइन्छ । पर्याप्त भिटामिन र प्रोटिनको मात्रा प्रयोग गर्ने हो भने पाँच–सात दिनमै समस्या समाधान हुन्छ । तर, उप्किदै गरेको छालालाई जबर्जस्ती च्यात्नु हुँदैन । 

समस्या आउन नदिन तथा देखिहाले के गर्ने ?

  • केमिकल र केमिकलजन्य पदार्थ चलाएर काम गर्नुपरे पन्जाको प्रयोग गर्नुपर्छ । 
  • नङका कोषहरूमा समस्या आउनै नदिन नियमित सफाईमा ख्याल गर्नुपर्छ ।
  • फोहोर या केमिकलसँगको संसर्गपछि हात राम्रोसँग धोएर मस्चराइज गर्नुपर्छ । 
  • यस्तो समस्या निम्तियो भने चाँडो समाधान खोज्न तातोले सेक्नुपर्छ । नुनपानी उमाल्ने र सेलाएर मनतातो भएपछि औँला पाँच मिनेटजति डुबाइदिने । 
  • बढी नै समस्या छ भने एन्टिसेफ्टिक मलम लगाउने । डिटोल पनि लगाउन सकिन्छ । यसो गर्दा पनि घाउ फैलिदै गएको छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ । 
     
Last modified on 2019-01-01 07:41:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts