अंग प्रत्यारोपणमा फड्को, ब्रेन डेथ भएका व्यक्तिको मृगौला दुई जनालाई



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक व्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण गरेको छ ।

केन्द्रका निर्देशक एवं वरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत बिहीबार मस्तिष्क मृत्यु भएका एक व्यक्तिका दुइटा मृगौला झिकेर दुई फरक व्यक्तिमा प्रत्यारोपण गरिएको हो । 

सडक दुर्घटनामा परेर ती करिब ३० वर्षे युवाको मस्तिष्क मृत्यु भएको थियो । स्रोतका अनुसार प्रत्यारोपण गराएका एक युवा र अर्का अधबंैसे व्यक्तिलाई एक सातामा अस्पतालबाट डिस्चार्ज गरिनेछ । ‘प्रत्यारोपण गराएका दुवै स्वस्थ छन्, शनिबार गरिएको परीक्षणमा समेत कुनै असामान्यता देखिएको छैन,’ केन्द्रका एक चिकित्सकले भने । मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाको अंग लिने र प्रत्यारोपण गर्ने बाटो खुला गरेपछि मुलुकले प्रत्यारोपणको क्षेत्रमा फड्को मार्न सकेको हो । विकसित मुलुकमा ८० प्रतिशतभन्दा बढी अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त हुने अंगदानबाट हुने गर्छ । एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई मृगौला, दुई फोक्सो, एक मुटु, एक कलेजो, एक प्याँक्रियाज, एक सानो आन्द्रा, दुई आँखाका नानी तथा छालालगायत अंग दान हुन सक्छन् । 

केन्द्रले निर्देशक डा. श्रेष्ठको नेतृत्वमा २०६९ माघबाट मृगौला प्रत्यारोपण सुरु गरेको हो । हालसम्म केन्द्रमा दुई सय ८४ जनाको मृगौला प्रत्यारोपण भइसकेको छ । केन्द्रले विदेशी विशेषज्ञको सहयोगमा मुलुकमै पहिलो कलेजो प्रत्यारोपणसमेत सफलतापूर्वक गरिसकेको छ । 

गतवर्ष असारमा केन्द्रले मुलुकमा पहिलो पटक आपसी सहमतिबाट दुई परिवारबीच मृगौला साटासाट गरी प्रत्यारोपणसमेत गरेको थियो । यसरी प्रत्यारोपणका लागि एकै परिवारका सदस्यमध्ये अंगदाता र ग्रहणकर्ताबीच ‘म्याच’ नभएको अवस्थामा दुई परिवारका आपसी सहमतिमा अंग साटासाट गरेर प्रत्यारोपण गर्ने चलन पश्चिमा मुलुकमा प्रचलित छ । 

मृगौला ‘फेल’ भएकाका लागि अधिकतम संख्यामा डायलासिस र प्रत्यारोपणको सुविधा उपलब्ध गराउँदै आएको केन्द्रले मुटुको जटिल शल्यक्रियासमेत थालेको छ । केन्द्रले प्रत्यारोपणसँगै अन्य सेवा पनि विस्तार गर्दै लगेको छ । युरोलोजी सेवा, मुटुरोग तथा पेटसम्बन्धी उपचार, पोषणसम्बन्धी जानकारी तथा अत्याधुनिक रेडियोलोजी र प्याथोलोजी सेवाहरूसमेत केन्द्रमा उपलब्ध छ । 

सन् २००४ मा नेपालमा पहिलो पटक वीर अस्पतालमा गरिएको मृगौला प्रत्यारोपण असफल भएको थियो । २००८ को अगस्ट ८ मा त्रिवि शिक्षण अस्पतालमा पहिलो सफल प्रत्यारोपण भएको थियो । यसै वर्ष वीर अस्पतालमा समेत सफल मृगौला प्रत्यारोपण सुरु भएको थियो । मुलुकमा करिब ३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग लागेको अनुमान छ । तीन हजार व्यक्तिको वर्षैपिच्छे दुवै मृगौला फेल हुने गर्दछ, जसमध्ये ९० प्रतिशतभन्दा बढी केही महिनामै मृत्युको सिकार हुन्छन् । 

मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार सडक दुर्घटनालगायतले काठमाडांै उपत्यकामा मात्रै बर्षेनी करिब एक हजार व्यक्तिको मस्तिष्क मृत्यु हुने गरेको छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हजारौं संख्यामा विभिन्न अंग प्राप्त हुन सक्छन् । एक अनुमान अनुसार मुलुकमा बर्से्नि ३ हजार जनाको मृगौला, एक हजार जनाको कलेजो फेल हुने गरेको छ । करिब ३० लाख मधुमेहीहरूमध्ये उल्लेख्य संख्यामा प्याँक्रियाज तथा मुटु र फोक्सो ‘फेल’ हुने भएकाले मस्तिष्क मृत्यु भएकाबाट प्राप्त अंग प्रत्यारोपण गराएर हजारौं व्यक्तिले नयाँ जीवन पाउन सक्ने चिकित्सकहरू बताउँछन् ।

 

(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

Last modified on 2017-06-14 16:34:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts