NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>
Deurali_Janta_Pharmaceutical-ad

Find Hospitals, Clinics, Doctors ...

चटयाङले गर्दा तीन वर्षयता नेपालमा ३ सय ३६ जनाको मृत्यु, चटयाङ प्रभावितलाई मुटुको समस्या

चटयाङले गर्दा तीन वर्षयता नेपालमा ३ सय ३६ जनाको मृत्यु, चटयाङ प्रभावितलाई मुटुको समस्या

Deurali Janta New Products Ad

वैशाख ३०, २०७४ । नेपाल प्रहरीको आधिकारिक तथ्यांकअनुसार यो वैशाखको गत बुधबारसम्म मुलुकमा चटयाङका ५० घटना दर्ज गरिए । चटयाङले गर्दा १६ जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भए ।

चटयाङबाट ज्यान गुमाउनेमा मानिस मात्र नभई चौपायासमेत छन् । प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार चटयाङले १६ चौपायाको ज्यान लिनुका साथै चार वटा घर र एउटा गोठमा समेत क्षति पुगेको छ ।

२०७१ सालयता गत बुधबारसम्म चटयाङबाट ३ सय ३६ जनाको मृत्यु हुनुका साथै ९ सय २९ जना घाइते भएका छन् । चटयाङमा प्रहरी तथ्यांकले बर्से्नि सयभन्दा बढीको मृत्यु हुने गरेको देखाउँछ । २०७१ सालमा १ सय १९ जनाको मृत्यु हुनुको साथै २ सय ८६ जना घाइते भएका थिए ।

यस्तै, २०७२ सालमा ९७ को मृत्यु र २ सय २९ जना घाइते भए भने गत वर्ष अर्थात् २०७३ सालमा १ सय ४ जनाको मृत्यु र ३ सय ३३ जना घाइते भएका एसएसपी खनाल बताउँछन् ।

मुलुकमा चटयाङले हुने मानवीय क्षतिको विकराल स्थिति रहे पनि अझै आम जनमानसमा यसबाट जोगिने उपाय, सुरक्षाका लागि गर्नुपर्ने विभिन्न प्रक्रिया, प्राथमिक उपचारलगायतबारे खासै जनचेतना छैन ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार दिनहुँ ८० लाखभन्दा बढीपटक पृथ्वीमा चटयाङ पर्ने गर्छ । सामान्य व्यक्तिका लागि चटयाङमा पर्ने जोखिम कम भए पनि यसको मारमा पर्नेहरूमा गम्भीर चोटपटक देखिन्छ ।

सन् २००३ देखि २०१२ सम्म अमेरिकाजस्तो विकसित मुलुकमा समेत औसत ३५ जनाको बर्से्नि मृत्यु हुने गरेको थियो ।

के हो चटयाङ ?      

चटयाङ ‘बादल र बादल’ वा ‘बादल र जमिन’ बीच बग्ने एक प्रकारको विद्युतीय करेन्ट हो । पृथ्वीको सतहबाट जलवाष्प माथि आकाशमा पुगेपछि शून्यभन्दा तल्लो तापक्रममा बरफमा परिणत भएका पानीको कणबीच घर्षण हुँदा विद्युतीय ‘चार्ज’ उत्पन्न हुन्छ । यसपछि विपरीत जार्च भएका कणहरू एकअर्काबाट पृथक हुन थाल्छन् र आकाशमा विद्युतीय क्षेत्र तयार हुन्छ । यो विद्युतीय क्षेत्रले स्थिरताका लागि सजिलो बाटो खोज्छ । बादलमा धेरै ठूलो चार्ज उत्पन्न भएपछि यसले पृथ्वीको सतहमा भएको सुचालक खोज्न थाल्ने औंल्याउँदै भौतिक शास्त्री एवं चटयाङमै विद्यावारिधि गरेका श्रीराम शर्मा भन्छन्, ‘र, पृथ्वीको सतहमा भएको, ठूलो टावर, रूख, घर, पाइप वा कुनै व्यक्ति चटयाङको सिकार बन्छ ।’
               
एउटा चटयाङमा सूर्यको सतहभन्दा पाँच गुणा बढीसम्म तापक्रम हुन सक्छ । अर्थात्, यो तापक्रम २७ हजार डिग्री सेन्टिग्रेडसम्म हुन सक्छ । एउटा चटयाङमा बादलबाट जमिनतिर चार्ज बग्दा एक अर्ब भोल्टसम्मको विद्युत् प्रवाह हुन सक्छ ।

चटयाङ एक सेकेन्डको हजार भाग बराबरभन्दा पनि कम समयसम्मको लागि हुन सक्छ । यति सानो समयमा ठूलो करेन्ट बग्दा हावा र पानीको कणलाई तताउँछ । पानीको कण तातेर आवाज उत्पन्न हुनुका साथै वायुमण्डलका विभिन्न ग्यासले प्रकाश उत्पन्न गर्ने शर्मा बताउँछन् ।

चटयाङको आवाज सामान्यत : ११ किलोमिटर टाढासम्म सुनिन्छ भने कहिलेकाहीँ यो आवाजलाई ३३ किलोमिटर टाढासम्म पनि सुन्न सकिन्छ ।

बिजुली चम्केको देखे तपाईं बाँच्नुभयो

यदि तपाईंले चटयाङको चमक देख्नुभयो भने नआत्तिनुस्, तपाईं जोगिनुभयो । प्रकाशको गति करिब ३ लाख किलोमिटर प्रतिसेकेन्ड हुन्छ भने ध्वनिलाई १ किलोमिटर टाढा पुग्न करिब ३ सेकेन्ड लाग्छ । यसैले बिजुली चम्केको देखियो भन्नुको तात्पर्य तपाईं यसबाट अप्रभावित रहनु हो ।

अपराह्न ४ बजेदेखि ६ बजेबीच सर्वाधिक चटयाङ

मुलुकमा सामान्यत : अपराह्न ४ बजेदेखि ६ बजेसम्म सबैभन्दा बढी चटयाङ पर्ने गरेको छ । यस्तै, पूर्वी नेपालको झापामा सबैभन्दा बढी चटयाङ पर्ने गरेको पाइन्छ ।

यसबाहेक पूर्वी नेपालको चुरे पर्वत शृंखला सुरु हुने ठाउँदेखि नवलपरासीसम्मको खण्ड चटयाङबाट बढी प्रभावित क्षेत्र रहेको शर्मा बताउँछन् । मकवानपुरको उत्तरी क्षेत्रमा समेत यसको अधिकतम प्रभाव देखिएको छ । यसबाहेक त्रिशूली नदी क्षेत्र, पोखरा, विराटनगर, सिन्धुपाल्चोक विशेष प्रभावित क्षेत्रमा पर्छन् ।

उपचार

चटयाङ प्रभावितलाई समय खेर नफाली तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा र्पुयाउनुपर्छ । चटयाङको विद्युतको मानव शरीरमा थुप्रै गुणा नकारात्मक असर हुन्छ । चटयाङले शरीर डढा तन्तुहरूमा क्षति पुग्नुका साथै यो नष्टसमेत हुन सक्छ । यसलाई सहजै निको पार्न सकिँदैन ।

‘चटयाङले सबैभन्दा बढी हाम्रो टाउको, घाँटी र काँधलाई प्रभावित पार्छ,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति एवं इमर्जेन्सी एन्ड जेनरल प्राक्टिस विभागका प्रा.डा. भरत यादव भन्छन्, ‘यसले मुटको चाल रुक्नुको साथै हाम्रो अंगहरूसमेत डढ्न सक्छ ।’

शरीरमा भएको रगत लिएर जाने ससाना नलीहरूसमेत चटयाङको प्रभावले फुट्न सक्छन् । चटयाङको असर हाम्रो स्नायु प्रणालीमा समेत पर्छ । यसले गर्दा हृदयाघात भएरसमेत मृत्यु हुन सक्छ । त्यति मात्र नभई शारीरिक अपंगताको जोखिमसमेत हुन्छ ।

चटयाङले शरीरको कुनकुन भाग र प्रणालीमा कस्तो प्रकारको असर पारेको हो, यसलाई निक्र्योल गरेर उपचार प्रक्रिया अपनाइने जनाउँदै डा. यादव भन्छन्, ‘सबैभन्दा पहिले चटयाङले भएको मुटुसम्बन्धी समस्या र डढाइमा ध्यान दिएर उपचार सुरु गरिन्छ ।’

चटयाङले धेरैजसो मुटुको चालमा गडबडी हुने गरेको औंल्याउँदै मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, ‘घटनास्थलमा भएकाहरूले चटयाङले घाइते भएकाहरूको सास र मुटु चलिरहेको छ वा छैन तुरुन्त हेर्नुपर्छ ।’

नाडीको चाल हेर्न सबैभन्दा राम्रो स्थान गर्दनमा भएको धमनी छाम्नुपर्छ । श्वास र नाडीको चाल नदेखिए स्वास्थ्य सहयोग नआएसम्मका लागि कार्डियोपल्मुनरी रेसिस्युटेसन (सीपीआर) गर्न थाल्नुपर्छ । एक्कासि मुटुको चाल रोकिँदा सीपीआर धेरै प्रभावकारी हुन्छ । घाइतेको सास बन्द रहे तुरुन्त मुखका माध्यमले मुखमा दिइने कृत्रिम श्वासप्रश्वास प्रक्रिया सुरु गर्नुपर्छ । घाइते चिसो र भिजेको ठाउँमा रहे हाइपोथर्मियाबाट जोगाउन प्रभावीलाई बाक्लो तन्नालगायतका कुनै वस्तुमा राख्नुपर्छ ।

चटयाङले मुटुको चाल बिग्रेर तुरुन्त मृत्युसमेत हुन सक्छ भने यसले मुटुका मांसपेशीमा असर गरेर मुटुलाई कमजोरसमेत बनाउन सक्छ । समयमै उपचार गरिएमा मुटुको अवस्थालाई पूर्ण रूपले निकोसमेत गर्न सकिन्छ ।
 
चटयाङले धेरैजसो देखिने मुटुसम्बन्धी समस्या ‘मायो कार्डाइटिस’ अर्थात् मुटुको मांसपेशीको क्षति रहेको औंल्याउँदै डा.ओममूर्ति भन्छन्, ‘यो क्षति हुँदा इलेक्ट्रो कार्डियोग्राम परीक्षण (ईसीजी) मा ह्दयाघात भएको जस्तै परिवर्तन देखिन्छ ।’

चार वर्षअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चटयाङ प्रभावित नुवाकोटकी १० वर्षे बालिका ल्याइएको घटना सम्झँदै डा. ओममूर्ति भन्छन्, ‘चटयाङ प्रभावित ती नानीको शरीर कतै डढेको थिएन तर मुटु अत्यन्त कमजोर भएर श्वासप्रश्वासको समस्याले गर्दा अस्पताल ल्याइएको थियो ।’

ती बालिकामा चटयाङले मुटूको मांसपेशीमा हानि र्पुयाएको पहिचान गरिएको जनाउँदै उनले बालिकाको ईसीजी गर्दा हृदयाघातजस्तै परिवर्तन देखिएको समेत सम्झन्छन् ।

चटयाङ प्रभावितको ईसीजीमा देखिने परिवर्तनले धेरैजसो स्वास्थ्यकर्मी ह्दयाघात नै हो कि भनेर समेत झुक्किने गरेको औंल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘तर यो ह्दयाघात होइन, चटयाङले मुटुको मांसपेशीमा क्षति पुगेर ईसीजीमा परिवर्तनसँगै कार्डियाक इन्जाइममा वृद्घि गराउँदा ह्दयाघातमा देखिनेजस्तै परिवर्तन देखिएको हो ।’

मुटुको क्रियाकलापमा सुधार ल्याउन विभिन्न औषधिलगायत सामान्य प्रक्रियापछि ती बालिका पूरै निको भएर घर फर्किएकी जनाउँदै डा. ओममूर्ति भन्छन्, ‘चटयाङ प्रभावितको मुटुको उपचार नगर्दा विस्तारै मुटुको क्रियाकलाप बिग्रेर मृत्युसमेत हुन सक्छ ।’ चटयाङ प्रभावित व्यक्तिको स्वास्थ्य संस्थामा ईसीजी र इको अनिवार्य रूपमा गर्नुपर्छ । चटयाङ प्रभावितको मुटु परीक्षण आवश्यक छ ।


चटयाङ परेका बेला कसरी जोगिने ?

    फुस, पक्की वा जस्तोसुकै घरमा चटयाङको सुचालक (लाइटनिङ कन्डक्टर) लगाउनुपर्छ ।

    जमिनमा रहँदा असुरक्षित अग्लो वस्तुको मुनि, छेउछाउमा बस्नु हुँदैन ।

    अग्लो रूख, बाँसको झाङलगायतको मुनि र खुल्ला ठाउँमा बस्नु हुन्न ।

    हाइटेन्सन लाइनको नजिक भए दुइटा ठूलो टावरबीच तारमुनि बस्दा हुन्छ ।

    घरभित्र हुँदा रेडियो, टेलिभिजन, इलेक्ट्रोनिक उपकरण आदि बन्द राख्नुपर्छ ।

    तार जोडिएको फोन (ल्यान्ड लाइन) उपयोग गर्नु हुँदैन । यसबाट मृत्युसमेत भएको छ ।

    खुला धारामा नुहाउनु हुँदैन ।

    सकेसम्म विद्युतीय उपकरणभन्दा टाढै बस्नुपर्छ ।

    चटयाङ परिरहेका बेला रेडियो, टीभी, कम्प्युटर, सबैको मोडेम र पावर प्लग निकाल्नुपर्छ ।

    झयालढोकाबाट अलि टाढा बस्नुपर्छ ।

    नांगा खुट्टाले भुइँमा टेक्नु हुँदैन ।
    पछिल्लोपटक चटयाङको आवाज सुनेको आधा घण्टासम्म बाहिर निस्कनु हुँदैन ।

 

(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

IPA gagan thapa Swastha Bema AD below news KDC Ad Below News
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top