स्वास्थ्यमन्त्री थापाको अभिव्यक्ति विरुद्ध नेपाल औषधि आयातकर्ताको आन्दोलन



Download our app to get more features

काठमाण्डौ, २८ बैशाख । नेपाल औषधि आयातकर्ता संघले स्वास्थ्यमन्त्री गगन थापाले नेपाल औषधी आयातकर्तालाई नकारात्मक पुष्टि गर्ने खालको अभिव्यक्ति दिएर सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

मन्त्री थापाले आयातकर्ताहरुलाई कालोबजारिया हुन् र औषधी व्यवसायमा चार सयदेखि २२ सय प्रतिशत नाफा छ भन्ने जस्तो सन्देश प्रवाह हुने गरी दिएको अभिव्यक्तिप्रति विरोध जनाउदै संघले आन्दोलनको घोषणा गरेको हो । 

संघका महासचिव पवन आचार्यले आरोप मात्र लगाएर केही नहुने भन्दै मन्त्री थापालाई प्रमाण दिन चुनौती दिएका छन् । ‘हामी चुनौती दिन्छौं मन्त्री थापालाई प्रमाण देखाउन’ महासचिव आचार्यले भने ‘सस्तो लोकप्रियताका लागि हामी आयातकर्ताहरुलाई बदनाम बनाउन औषधिको मूल्यमा ठूलो नाफा छ भनी भ्रम श्रृजना गर्ने ?’ 

‘सरकारले नेपाली औषधिमा मुल्य निर्धारण गरे सस्तोमा औषधि दिन सक्छौ, यो हाम्रो घोषणा हो ।’ महासचिव आचार्यले मन्त्री थापालाई प्रश्न गर्दै भने ‘गंगालाल अस्पतालले ८० पैसाको औषधिलाई ८ रुपैयामा बेच्दा त्यो समाज सेवा हुने ?’ 

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अञ्जन पुडासैनीले औषधि सस्तोमा आउनु पर्छ भन्ने आफूहरुको पनि माग भएको तर, सस्तो लोकप्रियताका लागि भ्रम श्रृजना गरेको आरोप लगाए । उनले भने ‘सबै आयातित औषधिमा २५ देखि ७५ प्रतिशतसम्म मुल्य घटाउन तयार रहेका छौं ।’

स्वदेशी औषधि उद्योगीहरुको दवावमा आएर गठन गरेको कार्यदलको प्रतिवेदनलाई नै आधारमानी लगभग ३५ प्रकारका गुणस्तरीय औषधिको आयातमा समेत रोक लगाउने खालको घातक निणर्य भएको संघले आरोप लगाएको छ । 

संघले बैशाख २९ गते औषधि व्यवस्था विभागमा मुखमा कालो पट्टी बाँधेर ज्ञापनपत्र बुझाउने, जेठ २ गत व्यवस्था विभागमा कालो पट्टी बाँधेर धर्ना दिने, जेठ ७ गतेदेखि सांकेतिक विरोध स्वरुप सम्पूर्ण आयातकर्ताहरुले बिलिङ्ग बन्द गर्ने र जेठ ८ गतेदेखि सोही क्रमलाई निरन्तरता दिदै आयात समेत ठप्प पार्दै जाने लगायतका आन्दोलनका घोषणा गरेको छ । 

Last modified on 2017-06-14 16:44:50

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. नाफाखोरिलाइ अब समाजसेवी भन्नुपर्ने भो?? तपाइहरुकै कारण ले हामिले अत्यन्त चर्को मुल्यमा औसधि किन्नुपर्ने वाध्यता छ।।।फेरि सरकारले गुणस्तरीय विदेसी औसधि ल्याउन रोक लगाउने जस्तो कुरा कहाँ गर्या छ???


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts