चिकित्सकभन्दा झाँक्री–वैद्य प्यारा, डाडुको रापले दाँतको उपचार



Download our app to get more features

बाजुरा, २७ वैशाख । बाजुरा जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा स्वास्थ्य चौकी छन् । तर, स्वास्थ्य चौकीभन्दा धामीझाँक्री र वैद्यहरू स्थानीय जनताको मनमा बस्न सफल भएका छन् । 

यहाँका अधिकांश बिरामी उपचारका लागि स्वास्थ्य चौकी जाँदैनन्, धामीझाँक्री र वैद्यहरूकै भर पर्छन् । धामीझाँक्री र वैद्यहरूले गर्ने उपचार पद्धतिमा पनि उनीहरूको कुनै गुनासो पाइँदैन । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ । 

स्वामीकार्तिक गाउँपालिका–२ की जनपुरा रावल दाँत दुखेपछि रातभर सुत्न सकिनन् । बिहानीको पर्खाइमा उनले कष्ट सहेर रात कटाइन् । उज्यालो भएपछि उनको प्राथमिकतामा स्वास्थ्य चौकी परेन । उनी सिधै स्थानीय वैद्यकोमा गइन् । वैद्यले भान्सामा प्रयोग हुने फलामको डाडु आगोको भुंग्रोमा रातो हुने गरी तताइन् । त्यसपछि ती महिला वैद्यले उनको दुखेको दाँतमा केहीबेर डामिन् । रावललाई तातो डाडुको रापले बिसेक भयो । तत्कालै दाँत दुख्न छाडेपछि रावलले वैद्यको प्रशंसा गर्न छाडिनन् । उनले खुसी हुँदै भनिन्, ‘मलाई बचायौ दिदी, रातभर सुत्न सकेकी थिइनँ । अहिले त पुरै सन्चो भयो ।’ 

वैद्य र धामीझाँक्रीप्रति विश्वास गर्ने रावल प्रतिनिधि पात्र मात्र हुन् । बाजुरामा वैद्य र धामीझाँक्रीलाई विश्वास गर्नेको संख्या असंख्य छ । बिच्छ्याँ–३ का शुभलाल बुढा अहिले ९० वर्षका भए । तर, उनी अहिलेसम्म पनि उपचारका लागि स्वास्थ्य चौकी गएका छैनन् । अलि बिसन्चो हुनेबित्तिकै उनी तिनै वैद्य र धामीझाँक्रीकामा पुगिहाल्छन् । धामीझाँक्री र वैद्यकोमा जानेबित्तिकै सन्चो हुने हुनाले उनीहरूप्रति बुढाको औधी विश्वास छ । ‘अब कतिचाहिँ बाँच्छु होला र ? तर, अहिलेसम्म पनि उपचारका लागि स्वास्थ्य संस्था जानुपरेको छैन, यत्रो उमेर त वैद्य र धामीझाँक्रीसँग उपचार गरें, अब स्वास्थ्य संस्था किन जानु ? जानु पनि नपरोस्,’ वृद्ध बुढाले भने । 

स्वास्थ्य संस्थाप्रति यहाँका जनता सकारात्मक नहुनुको प्रमुख कारण हो, धेरै टाढा हुनु र गएकाबेला स्वास्थ्यकर्मी पनि नभेटिनु । चाहिएको औषधि पनि नहुनु । तर, धामीझाँक्री र वैद्य वडावडामा छ्यासछ्यास्ती छन् । यहाँसम्म कि धामीझाँक्री र वैद्य पेसाले यहाँ व्यवसायकै रूप लिएको छ । 

बिच्छ्याँका स्थानीय रामबहादुर रोकाया भन्छन्, ‘स्वास्थ्य चौकी टाढा भएकाले अधिकांश व्यक्ति त्यहाँ जान मान्दैनन् । हुँदाहुँदै धामीझाँक्री र वैद्य नै सबैको प्रिय बन्न पुगे ।’ बिच्छ्याँका स्थानीयवासी शक्ति सिंह सरकारले स्वास्थ्य चौकीको महत्वबारे बुझाउन नसकेकाले पनि बिरामीमा स्वास्थ्य चौकीबारे थाहा हुन नसकेको बताउँछन् । 

 

(आजको राजधानी दैनिकमा छापेको समाचार)
 

Last modified on 2017-06-14 16:50:55

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts