मानिसमा लाग्ने ६१ प्रतिशत रोग जनावरबाट सर्छन्



Download our app to get more features

काठमाडौँ, २४ वैशाख । मानिस र जनावरबीचको सामीप्यका कारण मानिसमा विभिन्न प्रकारका रोग सर्ने गरेको एक अनुसन्धानले जनाएको छ । मानिसमा लाग्ने रोगमध्ये ६१ प्रतिशत जनावरबाट सर्ने गरेको अन्तर्रा्ष्ट्रिय अनुसन्धान संस्था सिएमडिएनले जनाएको छ । संस्थाका कार्यकारी निर्देशक दिवेश कर्माचार्यका अनुसार विश्वका विभिन्न अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा मानिसमा लाग्ने रोगमध्ये अधिकांश जंगली र घरपालुवा जनावरबाट सरेको पाइएको जानकारी दिए ।

‘केही वर्षयता विश्वका विभिन्न अनुसन्धानकर्ताले ‘वान हेल्थ’ नीतिअनुसार गरेको अध्ययन अनुसन्धानले धेरैजसो मानिसमा जनावरबाट रोग सरेको पाइएको छ,’ कर्माचार्यले नयाँ पत्रिकासँग भने, ‘यसलाई न्यूनीकरण गर्न विश्वव्यापी रूपमा काम भइरहेको छ । नेपालमा पनि यसको जोखिम रहेकाले हामीले जनावर र मानिसको स्वास्थ्य परीक्षण गरी रोग पत्ता लगाउने काम सुरु गरेका छौँ ।’

विश्वमा नौला प्रकारका रोग देखिएपछि अनुसन्धानकर्ताहरूले १४ सय १५ जना मानिसको नमुना परीक्षण गरेका थिए । परीक्षणमा ६१ प्रतिशत किटाणु (जनावरमा पाइने भाइरस) जनावरबाट मानिसमा सरेको पत्ता लागेको कर्माचार्यले स्पष्ट पारे । मानिसको मात्रै स्वास्थ्य परीक्षण गर्दा कतिपय रोग निको पार्न नसकिएको उनको भनाइ छ । कर्माचार्यले पछिल्ला केही वर्षयता नेपालमा पनि जनावर र मानिसबीचको दूरी नजिकिँदै गएका कारण विभिन्न रोग सर्ने सम्भावना बढेर गएको बताए ।

जनावरको स्वास्थ्य परीक्षण

सिएमडिएनले मानिसमा लाग्न सक्ने विभिन्न रोगमा कमी ल्याउने उद्देश्यले अन्तर्रा्ष्ट्रिय स्तरको अनुसन्धान संस्था स्थापना गरेको जनाएको छ । संस्थाले ‘वान हेल्थ’को नीति अवलम्बन गर्दै जंगली जनावर, घरपालुवा जनावर र मानिसको स्वास्थ्य परीक्षणजस्ता विभिन्न नमुनाका आधारमा अनुसन्धान गरिरहेको छ । निर्देशक कर्मचार्यले जंगली र घरपालुवा जनावर तथा मानिसका विभिन्न नमुना संकलन गरी अत्याधुनिक ल्याबबाट परीक्षण गरी रोग पत्ता लगाउने बताए । उनले आफूहरूको अध्ययन अनुसन्धानले राज्यको नीति निर्माण तहमा सघाउ पुग्ने दाबी गरे । ‘हाम्रो उद्देश्य भनेको रोग लाग्न दिने र उपचार गर्ने हैन, रोग लाग्नुअघि नै विभिन्न परीक्षण गरी रोग लाग्नबाट जोगाउनु हो,’ कर्माचार्यले नयाँ पत्रिकासँग भने ।

छोटो दूरीका जनावर र मानिसको नमुना परीक्षण

नेपालमा अनुसन्धान गर्ने उद्देश्यले विगत १० वर्षअघि खुलेको संस्थाले आफ्नो अनुसन्धानलाई फराकिलो बनाएको छ । उपत्यकालगायत बाहिरका विभिन्न ठाउँमा जनावर र मानिसको रगत, दिसा, डिएनए आदिको नमुना संकलन गरी अनुसन्धानलाई तीव्र बनाएको छ । यसरी नमुना परीक्षण गरेर आएको रिपोर्ट संस्थाले नेपाल सरकारलाई बुझाउने गरेको छ ।

सेवा विस्तार

जनावरबाट मानिसमा रोग लाग्न नदिने उद्देश्यले अनुसन्धानको दायरा फराकिलो पार्न संस्थाले चितवन मेडिकल कलेज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न रोगलाई आधार मानेर नमुना परीक्षणको सेवा सुरु गरेको छ । दुई अस्पतालको समन्वयमा सेवा विस्तार गरेको कर्माचार्यले बताए । अस्पतालमा आउने बिरामीहरू ठीक नभएको अवस्थामा मात्रै संस्थाले रगत, खकार, पिसाब परीक्षण गरी रोग पत्ता लगाउने गर्दछ । ‘कतिपय बिरामी ज्वरो आएर अस्पतालमा उपचारका लागि आउने गर्दछन्,’ कर्माचार्यले भने, ‘अस्पतालले रोग पत्ता नलगाएको खण्डमा नमुना परीक्षण जाँच गरिनेछ ।’

यसकारण चितवन र पाटनमा सेवा विस्तार

सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले चितवन र पाटन क्षेत्रका बासिन्दा जनवारहरूको नजिक बस्ने भएका कारण यी दुई क्षेत्रलाई अध्ययनको आधार बनाइएको जानकारी दिए । चितवनमा एक किलोमिटरको दूरीमा जंगली जनावर र मानिसको बस्ती रहेको छ । जंगली जनावरको नजिक बस्ती रहेको र सो क्षेत्रमा विभिन्न रोग लाग्न सक्ने भएका कारण यस क्षेत्रका जनावर र मानिसको स्वास्थ्य अवस्था कस्तो छ भनेर चितवनमा अनुसन्धान सुरु गरेको उनको भनाइ छ ।

यता, पाटनमा भने स्वयम्भू, पशुपति र थापाथलीमा पाइने बाँदरको संख्या धेरै रहेका कारण तिनका माध्यमबाट विभिन्न प्रकारको रोग लाग्न सक्ने भन्दै सिडिएमएनको सेवा विस्तार गरिएको हो । ‘जनावर मानिससँग नजिक भएको हैन । जनावर बस्ने जंगल फाँडेर मानिसले बस्ती बसाल्न थालेपछि जनावर र मानिसबीचको दूरी नेपालमा नजिक भएको हो,’ उनले भने ।

नेपालमा पनि अनुसन्धान हुँदै

वर्षौँ लगाएर गरिने यस्तो अनुसन्धान दक्षिण एसियामा नेपालमा मात्रै रहेको सिएमडिएनले दाबी गरेको छ । सिएमडिएनले सुरुमा जंगली जनावर, घरपालुवा जनावर र मानिसको नमुना परीक्षण गरेर कुन–कुन रोग मिल्यो भनेर रिपोर्ट तयार पार्ने गर्दछ । कर्माचार्यले आगामी चार वर्षमा जनावरबाट मानिसमा आउन सक्ने रोगबारे अध्ययन गरेको बताए । जनावरबाट मानिसमा सर्न सक्ने रोगमा दक्षिण एसिया बढी जोखिममा पर्दछ । कर्माचार्यले नेपालीहरू रोजगारीको खोजीमा विभिन्न देश जाने भएका कारण रोग भित्रन सक्ने सम्भावनालाई ध्यानमा राखेर संस्थाले स्वास्थ्य परीक्षण गर्न थालेको स्पष्ट पारे ।

यी हुन् जनावरबाट मानिसमा सर्ने रोग

अहिलेसम्मको अध्ययन अनुसन्धानमा बाँदरबाट एचआइभी, कुकुर तथा स्यालबाट रेबिज, कुखुरा तथा हाँस (चराचुरुंगी)बाट बर्डफ्लु एच ७ एन ९, सुँगुरबाट स्वाइनफ्लु एच १ एन १, बिरालोबाट टोक्सोप्लाज्मोसिस, मुसाबाट लेक्टोस्पाइरोसिस प्लेग, चमेराबाट इबोला, बाख्रा तथा गाईबाट ग्रुचेलोसिस र टिभी र अन्य घरपालुवा जनावरहरूबाट हान्टाभाइरस, क्रिप्टोच्कोरिबिओसी आदि भाइरस मानिसमा कुनै पनि रूपमा सर्न सक्ने पत्ता लागेको छ ।

 

(आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेको समाचार)

Last modified on 2017-06-15 10:17:51

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts