कालिकोटका बालिका कुपोषणले बढी प्रभावित, एक बालिकाको मृत्यु



Download our app to get more features

कालिकोट, १७ वैशाख । कुपोषणले एक बालिकाको मृत्यु भएको छ । धौलागोह ६ की १० महिने निरुसा हमालको शुक्रबार बेलुका मृत्यु भएको हो । केही साताअघि पनि स्युना र सिप्खाका दुई बालिकाको कुपोषणले मृत्यु भएको थियो ।

अन्तिम अवस्थामा अस्पताल ल्याइएकी बालिका निरुसालाई पोषणयुक्त खाना खुवाउने क्रममा घाँटीको नलीमा खाना अड्केर मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । सुताएर खाना खुवाइएको थियो । डा. अलीले बालिकाको टाउको सिधा नहुने भएकाले सुताएर खाना खुवाएको बताए ।

स्युनास्थित स्वास्थ्य चौकीले रेफर गरेपछि बालिकालाई जिल्ला अस्पताल ल्याइएको थियो । ‘अन्तिम अवस्था भएपछि आमाबाबुले अस्पताल ल्याए,’ डा. अलीले भने, ‘बचाउन सकिएन ।’ १० महिने बालिकाको तौल ५ केजी मात्र थियो । बालिका ३ महिनाकी हुँदा भारतबाट घर फर्किने क्रममा आमालाई गाडीमा बान्ता भएपछि दूध खुवाउन सकेकी थिइनन् । त्यसपछि बोतलको दूध खुवाउने गरिएको बुवा दिलबहादुर हमालले बताए । 

बालिकालाई वैशाख १ गतेदेखि पखाला लाग्ने, ज्वरो आउने भएपछि १२ गते मात्र सिप्खानाबाट उनकी आमा कल्पनाले उपचारका लागि स्युना स्वास्थ्य चौकी लगेको बताइन् । त्यहाँका स्वास्थ्यकर्मीले बालिकालाई पेटको बिमार भएकाले जिल्ला अस्पताल लैजान रेफर गरेका थिए । ‘यहाँका डाक्टरले कुपोषण भएको छ, पौष्टिक आहार खुवाउनुपर्छ भनेर दिए,’ कल्पनाले भनिन्, ‘खुवाउँदा खुवाउँदै खाना अडकेर मरी ।’ 

छोरीमा अत्यधिक कुपोषण 

गत कात्तिकयता शीघ्र कुपोषणले ३ शिशुको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबै छोरी हुन् । सिप्खाना ६ कोलिगाउँकी १४ महिने बालिका सुशीला योगीले कात्तिक २३ गते ज्यान गुमाइन् । घरको आर्थिक अवस्था कमजोर भएका सिप्खानाका जगन्नाथ योगी र पार्वतीको पहिलो सन्तान मृत जन्मिएको थियो । सुशीलाकी आमा पार्वती पुनः गर्भवती छिन् । ६ महिनाकी गर्भवती उनको शारीरिक अवस्था निकै कमजोर रहेको स्वास्थ्यकर्मी कटकले बताए । 

सुशीलाको मृत्यु भएको एक दिनअघि अर्थात् कात्तिक २५ गते स्युना ९ बड्डालाकी एक वर्षीया कोपिला फर्सालको पनि शीघ्र कुपोषणबाटै मृत्यु भएको थियो । यही शुक्रबार धौलागोह ६ की १० महिने निरुसा हमालको पनि कुपोषणले नै प्राण त्याग्नुर्पयो । 

चरम लैंगिक विभेद, पोषण सम्बन्धी चेतनाको कमी, महिलालाई अत्यधिक घरायसी बोझ, स्याहारसुसारमा बेवास्ताले यहाँका कलिला बालबालिका अकालमै मृत्युवरण गर्न बाध्य छन् । ४ केजी मात्र तौल भएकी १४ महिने सुशीला कुपोषित भएको कात्तिक २३ गते पत्ता लाग्यो । २५ गते सदरमुकाम मान्म खबर पुग्यो । त्यसको भोलिपल्ट अस्पताल लैजाने तयारी गर्दा उनको मृत्यु भयो । सुशीलाका अभिभावकले तीनरचार महिनादेखि घर बाहिर पनि नदेखाएको छिमेकीले बताए । स्थानीयका अनुसार मसान लाग्यो भन्दै मरेको मान्छेको हड्डी घोटेर चटाउने, जडीबुटीसहित धामीझाँक्रीले झारफुक गर्ने काम गरे । अस्पताल लगेनन् ।

कोपिलाले भने स्थानीय स्वास्थ्य संस्थाबाट पोषणयुक्त पिठो पाए पनि नखाएपछि स्वास्थ्यकर्मीले जिल्ला अस्पताल रेफर गरेको दाबी गरिन् । ‘स्युनाकी बालिकालाई कडा कुपोषणसहित नाक, मुख र खुट्टामा पनि घाउ भएको थियो,’ स्युना स्वास्थ्य चौकीलाई उद्धृत गर्दै जिल्ला स्वास्थ्यका पोषण फोकल पर्सनसमेत रहेका सिनियर अहेब महतले भने ।

उनका अनुसार भदौयता ५ सय ७३ जना कडा कुपोषण भएका बालबालिका फेला परेकोमा २ सय २७ उपचार पछि निको भएका छन् । ३ सय ३ जना अझै उपचारमै रहेका छन् । बाँकी डिफल्डर (बीचैमा उपचार छाडेका) छन् । मध्यम खालको कुपोषण भएका बालबालिकाको संख्या ६ सय ६८ छ । सामान्य कुपोषण भएका बालबालिकाको संख्या २ हजार ३ सय ६४ छ । उपचार छाड्नेमा धेरैजसो बालिका भएको महतले बताए । 

कुपोषण भएकामध्ये ६३ प्रतिशत बालिका छन् । त्यसमा ५० प्रतिशतभन्दा बढी दलित समुदायका बालिका कुपोषित छन् । बीचैमा उपचार छाड्नेमा पनि ६६ प्रतिशत बालिका छन् । 

 

(आजको कान्तिपुर दैनिकमा तुलाराम पाण्डेले लेखेको समाचार)

Last modified on 2017-06-15 13:10:03

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts