इलाममा दश हजारले गरे स्वास्थ्य बीमा



Download our app to get more features

इलाम, १६ वैशाख । इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बीमा गरेका छन् । 

गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ । 

यस कार्यक्रमअन्तर्गत उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट सेवा लिएका छन् । सामाजिक स्वास्थ्य विकास समिति जिल्ला कार्यालय इलामका प्रबन्धक हार्दिक सापकोटाकाअनुसार जिल्ला अस्पतालबाट तीन हजार ९८ जना, झापाका अस्पतालबाट पाँच सय ८५ र काठमाडौँका अस्पतालबाट १५ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् । 

प्रबन्धक सापकोटाकाअनुसार साँखेजुङ, सोयाङ, सोयाक, जोगमाइ, पञ्चकन्या, मङ्गलबारे, इरौटार, दानाबारी, साकफाराजस्ता साविकका गाविसमा दर्ता सहयोगी नभएर बीमा कार्यक्रम सुचारू भएको छैन । बीमा दर्ता सहयोगी नभएर काम नभएको ठाउँमा स्थानीय तहको निर्वाचनपछि तत्कालै सुरू गर्ने सापकोटाले जानकारी दिए । 

जिल्लामा हाल ५२ जना दर्ता सहयोगी रहेका छन् । सबैभन्दा बढी बीमा गर्ने सूर्योदय नगरपालिकामा आठ सय ८१ जना, इलाम नगरपालिकामा आठ सय ३५ जना, देउमाई नगरपालिकामा दुई सय ३१ जना रहेका छन् । 

बीमा कार्यक्रम सुरू हुँदा भन्दा अहिले सेवा सुविधासमेत थप गरेको प्रबन्धक सापकोटाले जानकारी दिए । एक वर्षअघि बिमा कार्यक्रम सुरू हुँदा एक सय ६८ प्रकारका औषधि सेवामा समेटिएको थियो तर अहिले बढाएर ५३० प्रकारका औषधि सेवामा रहेका छन् । रासस

Last modified on 2017-04-29 18:05:30

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts