मनिपाल शिक्षण अस्पतालको रबैयामा व्यवस्थापन र चिकित्सक दुवै दोषी



Download our app to get more features

पोखरा, वैशाख १३ । मनिपाल शिक्षण अस्पतालले बस दुर्घटनाका घाइतेलाई उपचार सेवा नदिएको बारे छानबिन गर्न गठित समितिले यस्तो हुनुमा अस्पताल र चिकित्सक दुवै दोषी रहेको जनाएको छ । 

अस्पतालको कमजोर व्यवस्थापनका कारण मुस्ताङ बस दुर्घटनाका घाइतेले उपचार नपाएको समितिका संयोजक डा. भोलाराम श्रेष्ठले बताए ।

गत शनिबार मुस्ताङको कागबेनीमा भएको बस दुर्घटनाका गम्भीर १४ घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट मनिपाल ल्याइएको थियो । तर, अस्पतालका निर्देशक डा. पीके चक्रवर्तीले चिकित्सकको आन्दोलन भएकाले भर्ना गर्न नसकिने भनेपछि घाइतेलाई एम्बुलेन्समा राखेर अन्य अस्पताल र्पुयाइएको थियो । उक्त घटनापछि मनिपाल प्रशासन र चिकित्सकबिरुद्ध चौतर्फी आलोचना भएको थियो । यसको छानबिनका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सक सेवा महाशाखा प्रमुख भोलाराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर पोखरा पठाएको हो ।

समितिले सोमबार यहाँ आएर अस्पताल व्यवस्थापन र आन्दोलनरत चिकित्सकलगायतसँग सोधपुछ गरेको थियो । ‘व्यवस्थापन र चिकित्सक दुवै पक्षको गल्तीका कारण विवाद उत्पन्न हुने भएकाले एउटा पक्षलाई मात्र दोष दिन मिल्दैन,’ छानबिन टोली मंगलबार राजधानी फर्कनुअघि संयोजक श्रेष्ठले भने, ‘तर, अस्पताल व्यवस्थापन बढी जिम्मेवार हुनुपथ्र्यो ।’ मानवीय विपत्तिका बेला घाइतेले व्यवस्थापन र चिकित्सकबीचको विवादका कारण उपचार नपाउनु दुस्खद भएको उनले बताए । ‘मनिपालले व्यवस्थापन पक्षलाई सक्षम बनाउनु पर्ने देखियो’ उनले भने, ‘लामो समयदेखि चिकित्सकको आन्दोलनलाई व्यवस्थापन गर्न नसक्नु अस्पतालको लाचारी हो । आइन्दा यस्तो गल्ती नदोहोरियोस् ।’ यो प्रारम्भिक छानबिन मात्रै रहेकाले कानुनी रायअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।
समिति सदस्य प्राडा ढुण्डिराज पौडेलका अनुसार अस्पतालले जनशक्ति नभएर घाइतेको उपचार गर्न नसकिएको जनाएको र चिकित्सकले आफूहरूलाई घाइते आउनेबारे जानकारी नदिइएको बताएका छन् । 

‘जे भने पनि दुवै पक्षले सेवाको पाटोलाई महत्त्व नदिएको पाइयो,’ उनले भने, ‘एउटा विश्वसनीयता बोकेको संस्थामा लामो समयदेखि समस्या आउँदा पोखरेली नागरिक समाज तथा अन्य सरोकारवाला पक्षले ध्यान नदिनु पनि दुस्खद हो ।’ घटनापछि आन्दोलनरत चिकित्सक र अस्पताल प्रशासनबीच सहमति भएर सोमबारदेखि अस्पतालका सेवा सुचारु भएका छन् । तर, यो सम्झौता अस्थायी प्रकृतिको भएकाले दीर्घकालीन समस्या समाधानमा टोलीले जोड दिएको थियो । 

श्रम ऐनअनुसार करारका चिकित्सकलाई स्थायी गर्नुपर्ने, समय सापेक्ष वैज्ञानिक ढंगले तलब वृद्धि र शनिबार तथा सार्वजनिक बिदाको दिनको सट्टा बिदाको व्यवस्था गर्नुपर्ने माग दोर्होयाउँदै नेपाली प्राध्यापक शिक्षक (चिकित्सक) पछिल्लोपटक गत फागुन १ देखि काम गरेका छैनन् । यसले अस्पतालको सेवा नराम्ररी प्रभावित भएको छ ।

 

(आजको कान्तिपुर दैनिकमा लालप्रसाद शर्माले लेखेको समाचार)

Last modified on 2017-06-16 11:53:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts