गर्मी, काठमाण्डौको धुलो र आँखाको समस्या



Download our app to get more features

काठमाण्डौं, १२ बैशाख । गर्मी मौसममा आँखाको विशेष स्याहार गर्नु आवश्यक हुन्छ । गर्मीसँगै काठमाडौं उपत्यका भित्रको धुलो धुँवाले आँखालाई झनै असर पारेको छ । जाडो समयमा भन्दा गर्मी समयमा बढी मात्रामा आँखामा समस्या हुने गरेको चिकित्सकहरुले बताएका छन् । 

गर्मी बढेसँगै आँखा अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ । नेपाल आँखा अस्पतालकी आँखा रोग विशेषज्ञ डा. सविना बिजुक्छेका अनुसार काठमाडौं उपत्यकाको धुलोका कारण गत वर्षभन्दा यस वर्ष आँखाका बिरामीको संख्यामा वृद्धि भएको छ । डा. सविनाले भनिन् ‘अस्पतालमा हिजोआज एलर्जिक कन्जन्टेभाइटिसका बिरामी बढी आउने गरेका छन् ।’ 

‘आँखामा समस्या देखिँदा सुरुको अवस्थामा रातो हुने, चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने र चिलाउने हुन्छ’ डा. सविनाले भनिन् ‘जसलाई एलर्जिक कन्जन्टेभाइटिस भनिन्छ ।’ उनका अनुसार आँखामा देखिने यो समस्या सिजनल एलर्जी हो । 

कन्जन्टेभाइटिस कुनै कीटाणुको कारण नभई वातावरणसँगै गर्मी समयमा आँखामा आउने प्रमुख समस्या हो । डा. सविनाका अनुसार गर्मी मौसममा धुलो, धुवाँ, बढी हुने तथा रुखमा फूल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्ने हुन्छ । जसका कारण आँखा चिलाउने, रातो देखिने, चिप्रा आउने हुन्छ । 

गर्मी समयमा आँखा सुख्खापनले पनि चिलाउने हुन्छ । यस्तो अवस्थामा आँखाको समस्या देखिएमा सफा पानीले बिहान बेलुका आँखा सफा गर्ने, घर बाहिर निस्कदा धुलो धुँवा रोक्न राम्रो खालको चस्मा लगाउन उनको सुझाव छ । धुलो धुवाको कारण सुख्खा भएको आँखा चिलाउदा कहिलेकाहीँ नानीमा संक्रमण भई दृष्टिसमेत गुम्न सक्ने डा. सविना बताउछिन् । 

गर्मी समयमा कन्जन्टेभाइटिसको समस्या धेरै देखिने हुँदा आँखा रातो हुने, चिलाउने चिप्रा आउने समस्या देखिएमा चुरुन्त आँखा रोग विशेषज्ञसँग जाँच गराउन चिकित्सकहरुकोे सुझाव छ । साथै आँखा सम्बेदनशिल अंग भएको हुदा यस्ता समस्या देखा परेमा आफु खुसी औषधिको प्रयोग नगर्न समेत चिकित्सकहरुको सल्लाह छ ।  

फाइल तस्बिर

Last modified on 2017-06-16 12:46:22

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts