सिद्धार्थनगर औलोको उच्च जोखिममा



Download our app to get more features

लुम्बिनी, १२ वैशाख । रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर (भैरहवा) औलो रोगको उच्च जोखिममा रहेको पाइएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले गरेको सर्भेक्षणअनुसार सिद्धार्थनगर नगरपालिकाका १३ वडामध्ये वडा नम्बर १ र ३ औलोको उच्च जोखिमयुक्त क्षेत्रमा परेको छ । 

खुला सिमानाका, खाल्डाखुल्टीमा जम्ने पानीलगायतका कारण सिद्धार्थनगर उच्च जोखिममा परेको जनस्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख केहरसिंह गोदारले जानकारी दिए । 

अन्य जिल्लाको तुलनामा रुपन्देही सबैभन्दा धेरै औलोका बिरामी भेटिने जिल्लाको रुपमा रहेको बताउँदै यसको नियन्त्रणका लागि सबैले सतर्कता अपनाउनु पर्नेमा जोड दिए । यो जिल्ला खुला सिमानाका कारण महामारीको उच्च जोखिममा परेको उनले बताए । 

जनस्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणकोे तथ्याङ्कअनुसार रुपन्देहीमा प्रतिहजारमा शून्य दशमलव ११ जना औलो रोगको उच्च जोखिममा रहेका छन् । 

कार्यालयले विगतमा गरेको अध्ययनअनुसार रुपन्देहीको बुटवल, देवदह, धकधइमा औलोका बिरामी अत्यधिक भएपनि नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गरेका कारण ती क्षेत्रमा घटेको जनाएको छ । पछिल्लो समयमा सिद्धार्थनगरसहित फरेना, लुम्बिनी, धकधइका केही र सिनपाका अन्य वडा पनि औलोको जोखिममा रहेका छन् । 

सरकारले नेपाललाई सन् २०२६ सम्म औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ जसअन्तर्गत सरकारले सन् २००७ देखि औलो विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । 
औलो एक किसिमको सरुवा रोग हो । स्वास्थ्यकर्मीका अनुसार एनोफिलिस जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेर एक मान्छेबाट अर्को मान्छेमा रोग सार्ने गर्दछ । औलोका बिरामीमा प्लाज्मोडियम फाल्सिपारम र भाइभेक्स जातका परजीवी पाइन्छन् । तीमध्ये प्लाज्मोडियम फाल्सिपारम सबैभन्दा घातक हो । 

खुला सीमाका कारण यसरी सहजै औलोको सङ्क्रमण बोकेर नेपाली भित्रिने गरेका कारण रुपन्देही यसको उच्च जोखिममा परेको जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए । 

नेपालमा औलो रोग धेरै भारतबाट भित्रिने गरेको बताइएको छ । भारतमा कामको सिलसिलामा नेपालबाट गएका नेपालीले सङ्क्रमण पछि रगत परीक्षण गर्दा यस्तो अवस्था देखिने गरेको शाहले जानकारी दिए। 

औलो रोग लागेमा बेलुकापख ज्वरो आउने, दाँयापट्टि पेट दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी आउने तथा समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुनसक्ने भएकाले समयमै सचेत रहन पनि जनस्वास्थ्यले आम नागरिकमा अनुरोध गरेको छ । 

रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले औलो प्रभावित क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न जनस्वास्थ्य कार्यालयलाई आग्रह गरेका छन् । 

‘सदाका लागि औलो अन्त्य गरौँ’ भन्ने मूलनाराका साथ यस वर्ष पनि आज विश्व औलो दिवस–२०१७ मनाइँदैछ । दिवसको पूर्व सन्ध्यामा सोमबार आयोजना गरिएको कार्यक्रममा आज रुपन्देहीको बेतकुइयामा जनचेतनामूलक ¥यालीसहित विभिन्न कार्यक्रम गरी औलो दिवस मनाउन लागिएको जनस्वाथ्य कार्यालय रुपन्देहीले जनाएको छ । रासस 
 

Last modified on 2017-06-16 12:47:59

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts