कपाल झर्ने सबैको साझा समस्या, किन झर्छ कपाल ?



Download our app to get more features

कपाल झर्नु तपाईँ हामी सबैको साझा समस्या हो । कपाल झर्ने समस्याबाट आजकल हरेक उमेरका मानिस ग्रसित छन् । विज्ञहरूका अनुसार कपाल झर्नुको पनि सबैको आ– आफ्नै कारण छ । अर्थात, तीव्र सहरीकरण, तनाव, प्रदूषण, नकारात्मक जीवनशैली, खानपानमा विषादी, उचित पोषणको अभाव, रसायनको अत्यधिक उपयोगले नेपालीहरू क्रमशस् ‘तालु खुइले’ को स्थितिमा पुगिरहेका छन् ।
धुलिखेल अस्पताल, छाला रोग विभागद्वारा विदेशी विशेषज्ञको सहभागितामा आयोजित कपाल पुनःस्थापनसम्बन्धी कार्यशालामा विशेषज्ञहरूले यस्तो बताएका हुन् । उसो त सबैको धेरैथोरै कपाल झर्छ । दिनहुँ ५० देखि सय वटासम्म कपाल झर्नु सामान्य हो । तर, टाउकाको कुनै एक ठाउँमा कपाल नहुनु अथवा धेरै पातलो बन्दै जानु कपाल झर्ने प्रक्रिया हुन सक्ने डर्मा डेन्ट क्लिनिक, उदयपुर भारतका डा. प्रशान्त अग्रवाल बताउँछन् ।

चोटपटक वा तनावले पनि कपाल झर्ने समस्या आउन सक्छ । ‘टेलोजेन एफयूबीयम’ भनिने यो प्रक्रियाअन्तर्गत लामो समयदेखिको मानसिक तनाव, उच्च ज्वरो, संक्रमण, शल्यक्रिया आदिले कपाल झर्ने धुलिखेल अस्पतालका छाला रोग विभाग प्रमुख डा. धर्मेन्द्र कर्ण बताउँछन् । उनका अनुसार, डेढ वर्षयता मात्रै धुलिखेल अस्पतालमा करिब ५ सयभन्दा बढीले कपाल प्रत्यारोपण गराएका छन् । ‘कुनै पनि रोग भएको संकेतमा कपाल झर्न सक्छ,’ उनले भने । थाइराइड, एनिमियालगायत करिब ३० रोगमा कपाल झर्न थाल्ने स्किन इनोसेन्स, दिल्लीका डा. सिद्घार्थ सोन्थालिया बताउँछन् ।

रोगको उपचारपछि कपाल झर्न बन्द हुनुका साथै केही खास स्थितिबाहेक धेरैजसोमा झरेको कपाल फर्कन थाल्छ । यति मात्र नभएर हाल उच्च कोलेस्ट्रोल, आयरन मेटाबोलिज्मले पनि कपाल झर्ने समस्या हुन सक्छ ।

यस्तै उपयोग गरिने धेरैजसो औषधिले समेत कपालको स्वास्थ्यमा प्रतिकूल असर पार्छ । कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह आदिमा उपयोग गरिने औषधिहरूसमेत कपाल झर्ने कारक हुन सक्ने पटना मेडिकल कलेज, भारतका डा. अभिजितकुमार झा औंल्याउँछन् । अटो इम्युन स्थिति एलोपेसिया एरियाटाले पनि कपाल झार्छ । कपाललाई स्वस्थ राख्न सकेसम्म कृत्रिम प्रक्रियाभन्दा टाढा रहनु फाइदाजनक हुन्छ । कपालमा स्प्रे, क्रिम, जेल आदिको प्रयोग सकेसम्म घटाउनुपर्छ । यसमा भएको कडा रसायनिक तत्त्वहरूले टाउकाको छाला सुक्खा बनाएर पाप्रो बनाउन सघाउने डा. अर्श दीप बताउँछिन् । हामीहरूले रंगाउने, पर्म गर्ने, रिलेक्सयर उपयोग गर्नेजस्ता प्रक्रियाले पनि कपालको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । बढी रसायन नभएको आफूलाई उपयुक्त लाग्ने गुणस्तरीय स्याम्पु र कन्डिसनर प्रयोग गर्नुपर्छ ।
 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2017-06-16 14:05:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts