राउटेकी भाञ्जी भन्छिन्ः छोरो मरे तिम्लाई मार्छौ भनेका छन्



Download our app to get more features

काठमाडौ । ‘मेरो छोरा नबाचे तिमी पनि बाच्दैनौ भनेका छन्’, ट्रमा सेन्टरमा उपचारार्थ १८ बर्षका राउटे युवा कपिल शाहीलाई कुरेर बसेकी  सत्यादेबी खड्का भन्छिन्, ‘आफ्नो ज्यान बाजी राखेर उपचारका लागि राजी बनाएर त्याएका हौ ।’
राउटे उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष समेत रहेकी खड्का राउटे समुदायका मुखीया मैनबहादुर शाहीका मितकी
भाञ्जी हुन् । मैनबहादुरको भान्जी भएकाले उनलाई राउटे समुदायका सबैले भान्जी भन्ने गर्छन् । २०७२ पुस ६ गते राती आगो तापेर सुत्ने क्रममा कपिल शाहीको शरिरको आधा भाग पोलेको थियो । घटनाबारे जानकारी पाएपछि ३ दिन पछि औषधि बोकेर घटनास्थलमा पुगेकी थिइन् । उपचारका लागि अस्पताल जान नमानेपछि राउटे समुदायका घाइते घरमै थलिएर रहेका थिए । आगोले पाखुरा, ढाड र पेट जलेका शाही १६ महिनासम्मको प्रयासपछि बिहिबार उपचार गराउन काठमाडौ ल्याइएको हो ।
उपराष्ट्रपतिका छोरा दिपेश पुन र एनआरएन बेल्जीयमका महासचिव लोक दाहाल र राउटे उत्थान प्रतिष्ठान को पहलमा आएका बेल्जियमका डाक्टर लुक बुकुरसहितको टोली राउटे बस्दै आएको दैलेखको विन्द्रासैनी पुगेका थिए । डाक्टर लुकले शाहीको उपचार बस्तीमा संभव नहुने बताएपछि राउटे समुदाय कपिललाई उपचारका लागि अस्पताल पुर्याउन राजी भएका थिए । त्यसपछि बिहिवार मात्र  उपचारको लागि काठमाडौं ल्याइएको हो । कपिलको उपचारका लागि काठमाडौ आउनेसम्मको सम्पुर्ण खर्च समेत तिनै बेल्जीयमका चिकित्सक लुक बुकुरले बेहोरेका हुन् ।
‘उपचारका लागि पटक पटक अस्पताल ल्याउन प्रयास गरेपनि उनिहरु मान्दैमानेनन्, बल्ल १६ महिनापछि उपचार गराउन राजी भएका हुन् त्यो पनि छोरालाई केही भने मलाई पनि बाँकी नराख्ने सर्तमा ।’– खड्काले हाम्रो डाक्टरसगं भनिन् ।
कपिलसँगै उपचारको लागि उनका बुवा वीरबहादुर, ठुलो बुवा र मुखिया मैनबहादुर शाही काठमाडौं आएका छन् । कपिलको उपचार ट्रमा सेन्टरका डा. पियुस दाहालको नेतृत्वमा भइरहेको छ ।
काखी र पेटको भाग निकै बिग्रिएर किरा परिसकेको अवस्थामा पुगेका शाहीको शल्यक्रिया गरेर किरा निकालिएकाले अवस्थामा सुधार आएको उपचारमा खटिएका चिकित्सक डा. अपार लामिछानेले बताए ।
सबै राउटेको उपचार निशुल्क गरिने
राउटे समुदायका सबैको उपचार अब राज्यले गर्ने भएको छ । शनिवार स्वास्थ्यमन्त्री गगन थापाले उपचारार्थ १८ बर्षिय शाहीलाई भेट्ने क्रममा उनको मात्र नभएर सम्पुर्ण राउटे समुदायका मानिसको उपचार अब सरकारले नै बेर्होने बताएका हुन् ।
राउटे संरक्षण गर्नुपर्ने समुदायका भएकाले सबै राउटेको उपचार खर्च अब राज्यले नै बेर्होछ, – मन्त्री थापाले भने ।
राउटेहरुको उपचारका लागि घुम्ती स्वास्थ्य क्लीनिकको व्यवस्था गरिने मन्त्री थापाले बताए । उनले राउटे समुदायको लागि निःशुल्क स्वास्थ्य बिमा गरिने पनि थापाले बताएका छन् । बिमाको सबै शुल्क राज्यले व्यहोर्ने गरि उनीहरुको बिमाको व्यवस्था गरिने बताएका छन् ।

 

Last modified on 2017-06-16 14:56:12

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts