‘गहत’ जसमा छ अनेक गुण, राख्छ सँधै स्वस्थ



Download our app to get more features

‘जात फाल्नु गहतको झोलमा’ भनेर उखानले व्यंग्य गरे पनि गहत कम्ती पोषक र गुणकारी खाद्य पदार्थ होइन । गहतको दाल नियमित सेवन गर्न सके, विशेषतः जाडो याममा, यसले औषधिले भन्दा पनि चामत्कारिक फाइदा र्पुयाउँछ । 

गहत (कुथली÷कुर्थी) पोषणका दृष्टिले निकै महत्त्वपूर्ण दाल हो । यसको वैज्ञानिक नाम ‘मेक्रोटाइलोमा युनी फ्लोरम’ हो । 

गहतमा अरू दालमा भन्दा रेसा (फाइबर) बढी पाइन्छ । त्यसैले यो सजिलै पच्छ । न्यानो प्रकृतिको मानिने गहत रातो, सेतो र कालो गरी तीन प्रकारको हुन्छ । यसबाट दालबाहेक रोटी पनि पकाउने गरिन्छ । 

२२ प्रतिशतजति प्रोटिन पाइने गहत क्याल्सियम र फोस्फोरसको मुख्य स्रोत हो । लौह तत्त्व र भिटामिन ए पनि यसमा हुन्छ । यसको बीउमा प्रोटिन र कार्बोहाइड्रेट विशेष मात्रामा हुन्छ । यसमा युरिएजसमेत पाइन्छ । 

जाडोमा गहत नियमित रूपमा खाने गरे चिसोले छुँदैन भन्ने आममान्यता छ । धेरै समयसम्म निरन्तर यो दाल सेवन गर्दा पत्थरी आफैँ निको हुने पनि बताइन्छ । 

आयुर्वेदमा यो दाललाई मूत्रसम्बन्धी विकार र पत्थरी रोग हटाउन विशेष उपयोगी मानिएको छ । पत्थरीलाई फुटाएर मूत्रनलीबाट बाहिर निकाल्नका लागि गहत प्रसिद्घ महौषधि पनि हो । तर, यसको प्रयोग उचित मात्रा र युक्तिपूर्वक गर्नुपर्छ । 

यसको बढी मात्रामा सेवनले अम्लपित्तको स्थिति उत्पन्न हुनेसमेत भनिन्छ । आयुर्वेदका अनुसार पिसावमा रोकावट हुनु, ज्वरोको कारण पिसाबमा कमी वा पोल्नु आदि व्याधि हटाउन यो उत्तम प्रयोग हो । 

यसको उपयोगले रोकिएको पिसाब खुलेर आउँछ । यसले पित्त र रगतको दोषलाई समेत निको पार्छ । यसले पोल्ने, गर्मी र पसिनालाई रोक्छ । वात ज्वर, श्वेतप्रद र मोटोपना हटाउनसमेत गहत उपयोगी मानिन्छ । यस्तै, प्रसवपछि गर्भाशयको शोधमा समेत यसको सेवन लाभकारी मानिन्छ । 
यसले नेत्र रोग र पाइल्सलाई समेत निको गर्छ । वीर्य दोषसमेत निको पार्ने क्षमता भएको गहत सास, खोकी पेटको रोग, मुटुको रोग, टाउको दुखाइ आदिमा लाभप्रद मानिन्छ । 

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2017-06-16 15:37:42

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts