पशुपति होमियोप्याथिक चिकित्सालय जग्गा विवाद, मुख्य न्यायाधिसले दिए धम्की



Download our app to get more features

काठमाण्डौ, बैशाख ८ । सरकारले ललितपुरमा रहेको पशुपति होमियोप्याथिक चिकित्सालयले सेवा प्रदान गर्दै आएको जग्गा तथा आवास भवन पाटन उच्च अदालतलाई दिने निर्णय गरेको छ । यस निर्णय प्रति नेपाल होमियोपैथिक चिकित्सक संघले आपत्ती जनाएको छ । यो निर्णयलाई सच्याएर केन्द्रिय स्तरको होमियो अस्पताल र शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा संघको जोड छ ।

यदि सरकारले यो कदम फिर्ता नलिए देशभरीका सम्पूर्ण होमियोपैथिक चिकित्सक आन्दोलमा होमिन वाध्य हुने नेपाल होमियोपैथिक चिकित्सक संघका अध्यक्ष डा. रवीन्द्र रायले बताए । 

संघका पदाधिकारीसँगको पटक पटकको छलफमा स्वास्थ्य मन्त्रालयले पशुपति होमियो अस्पताल र त्यसको जग्गा पाटन उच्च अदालतलाई नदिने आश्वासन दिएको थियो । वर्तमान सरकारले आँखामा छाह्रो हाल्दै नाटकिय ढंगबाट अस्पतालको जग्गा तथा भवन पाटन उच्च अदालतलाई दिने निर्णय गरेको अध्यक्ष डा. रायले आरोप लगाए । 

महिला बालबालिका जेष्ठ नागरीक र समाज कल्याण समितिको २०७३ चैत १५ गते बसेको बैठकले अस्पतालको स्तरोन्नती र सेवा विस्तारमा लैजान निर्देशन दिएको थियो । पशुपति होमीयो चिकित्सालयले जनतालाई दिदै आएको सेवा सुविधालाई ध्यानमा राख्दै यसलाई नहटाउने निर्णय समितिको थियो । 

जसमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी पशुपति होमियो प्याथी चिकित्सालयले जनतालाई दिदै आएको सेवा र सुविधाको महत्वलाई ध्यानमा राखी सोही स्थानमा निरन्तर सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन समिति निर्देशन गर्दछ ।’ 

तर, मन्त्रीपरिषद्को २०७३ चैत्र २९ गते बसेको बैठकले समितिको निर्णय विपरित अस्पतालको दुईवटा आवास गृह र उच्च अदालत परिसरसँगै रहेको खाली जग्गा पाटन उच्च अदालतलाई दिने निर्णय गरेको थियो । 

अस्पताललाई अदालतको धम्की
पाटन उच्च अदालतले अस्पताललाई एक हप्ता भित्र खाली गर्न अल्टिमेटम दिएको छ । मुख्य न्यायाधिश, रजिष्टार लगायत करीब १० जनाको समूह बिहिबार अस्पतालमा आएर एक हप्तामा खाली गर्न धम्कि दिएको पशुपति होमियोप्याथिक चिकित्सालयका निर्देशक डा. समिर खाँले बताए । 

‘मन्त्रालयले आधिकारीक पत्र नपठाएको हुँदा अस्पताल खाली गर्न कुनै पनि हालतमा तयार छैनौं’ निर्देशक डा. खाँले भने ‘अदालतले ताला लगाए पनि बाटोमा नै बिरामीलाई सेवा दिन्छौं ।’ 

सरकारको यस्तो निर्णयसँगै वि.सं. २०१० देखि सञ्चालन हुँदै आएको नेपालको एक मात्र सरकारी होमियोप्याथीक चिकित्सालय संकटमा पर्ने देखिएको छ । 


 

Last modified on 2017-06-16 15:41:53

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Homeopathic kunai pani halat ma hatauna mildaina...garib janta lai nisulka aausadhi bitaran gareko cha ra ....


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts