गोरखा अस्पतालमा किट अभावले सेवा प्रभावित



Download our app to get more features

गोरखा, ७ वैशाख । एचआईभी भएरनभएको थाहा पाउन रक्त परीक्षणका लागि चाहिने ‘किट’ अभाव हुँदा गोरखा अस्पतालको सेवा प्रभावित भएको छ । 

बिरामी उपचार सेवा लिनबाट वञ्चित छन् । सरकारले सित्तैमा उपलब्ध गराउने उक्त सामग्री यहाँ सकिएको हो । नाम्जुङबाट रगत परीक्षण गराउन आएका एक युवकले पर्चा लिए पनि सेवा पाएनन् । ‘टिकट काटेर ल्याबमा पुगें,’ उनले भने, ‘सामान सकिएको छ, आज जाँच्न मिल्दैन भनेर फर्काइदिए ।’ रक्त परीक्षणका लागि ल्याबमा उपयोगी किटको स्टक अस्पतालको स्टोरमा पनि छैन । ‘एचआईभी पोजेटिभ छ कि नेगेटिभ भनेर परीक्षण गर्ने किट सकिएको छ,’ अस्पतालका सूचना अधिकृत कृष्ण ढकालले भने, ‘माथिबाट नआएकाले यहाँ आउने सेवाग्राहीले दुस्ख पाएका छन् ।’ उक्त किट स्वास्थ्य विभागले नियमित पठाउने गरेको थियो । आपूर्ति रोकिएपछि यहाँ रहेको स्टक पनि सकिएको छ । नयाँ वर्ष मनाउन घर गएका अस्पतालका मेसु डा. श्रीराम तिवारी पनि आइतबारसम्म फर्केका छैनन् । अस्पतालका अन्य कर्मचारीलाई किट कहिलेदेखि सकिएको भन्ने यकिन जानकारीसमेत छैन । 

जिल्लामा नियमित रूपमा एआरभी औषधि खाने र एचआईभी परीक्षण गराउने करिब दुई सय जना बिरामी छन् । एचआईभीको अवस्था जाँच गरेर मात्रै बिरामीलाई दिने एआरभीको मात्रा चिकित्सकले निर्धारण गर्छन् । सरकारी अस्पतालमा सित्तैमा पाइने सेवा अवरुद्ध भएपछि बाहिर ६ सय रुपैयाँ खर्च गरेर रक्त परीक्षण गराएको एक सेवाग्राहीले बताए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुबाट किट माग गरिसकेको अस्पतालले जनाएको छ । आफ्नो मौज्दात सकिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयबाट एक सयवटा किट सापटी लिएको भए पनि त्यसले पनि नपुगेर हाल अभाव भएको अधिकृत ढकालले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयले पनि उक्त किटको मौज्दात धेरै नभएको जनाएको छ । ‘टीबी भएका बिरामीलाई समेत एचआईभी परीक्षण गराउँदा धेरै किट खर्च हुने गरेको छ,’ उनले भने । 
 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2017-06-16 16:07:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts