निजीमा काम गर्न पाउँ भन्दै नौ सय सरकारी चिकित्सकद्धारा निवेदन



Download our app to get more features

काठमाडौं, ५ बैशाख । निजीमा काम गर्न पाउँ भन्दै करिब नौ सय सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयमा निवेदन दर्ता गराएका छन् । 

सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थामा काम गर्न अनिवार्य स्विकृति लिनु पर्ने भएपछि उनीहरुले मन्त्रालयमा निवेदन दिएका हुन् । निवेदन दिनेमा चिकित्सक तथा अधिकृत स्तर (छैठौं तह भन्दा माथि)का स्वास्थ्यकर्मी रहेको स्वास्थ्य मन्त्रालयका उपसचिव सत्य आचार्यले बताए । ‘यो संख्या मन्त्रालयमा दर्ता भएकाहरुको मात्र हो’ आचार्यले भने ‘विभाग तथा क्षेत्रीय स्तरमा पनि निवेदन दिने व्यवस्था भएको हुँदा जिल्लाबाट तथ्याङ्क आउन बाँकी छ ।’

चैत मसान्तसम्म समयसीमा तोकिए पनि कतिपय निवेदन हुलाकबाट आउने क्रम जारी रहेको छ । उपसचिव आचार्यले भने ‘चैत मसान्तसम्म कुनै पनि कार्यालयमा दर्ता भएका निवेदनहरु समावेस हुनेछन् ।’ यसरी दर्ता भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मन्त्रालयले आइडी नम्बर दिने छ, सोही आधारमा उनीहरुले निजी स्वास्थ्य संस्थामा काम गर्न पाउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठका अनुसार उनीहरुले कार्यालय बाहेकको समयमा आफू कार्यरत स्वास्थ्य संस्थाको काममा बाधा नपुग्ने गरी निजी अभ्यास गर्न चैत मसान्त भित्र स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखामा निवेदन दिने समय सिमा तोकिएको थियो । ‘यस अघि यस्तो स्वीकृति प्राप्त गरेका वा नगरेका सबैले निवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो’ डा. श्रेष्ठले भने ।

सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले अनिवार्य पालना गर्नुपर्ने सेवा शर्त सम्बन्धी निर्देशन, २०७३ माघ ६ गते मन्त्रीपरिषद्बाट पारित भएकाले कर्मचारीले सरकारको पूर्वस्वीकृति नलिई काम गर्न नपाउने भएका हुन् । नियमित कार्यालय समय भन्दा अतिरिक्त सेवा गर्नुपर्ने चिकित्सक, नर्स एवं स्वास्थ्यकर्मीलाई अतिरिक्त सेवा सुबिधा प्रदान गरी स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने उद्धेश्यले यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 

स्वीकृति नलिई सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा लगाएको पाइएमा त्यस्ता संस्थाहरुको अनुमति नविकरण नहुने र कानून बमोजिम अन्य कारवाही समेत हुने नयाँ निर्देशिकामा उल्लेख छ ।

स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५२ मा कर्मचारीले सरकारबाट निर्धारित समयमा नियमित रुपले कार्यालयमा हाजिर हुनु पर्दछ र बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनुहुँदैन भन्ने कानुनी व्यवस्था रहेको छ । सो व्यवस्था बमोजिम स्वास्थ्य क्षेत्र विशेष एवं संवेदनशील क्षेत्र भएकाले स्वास्थ्य संस्थाहरुले विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्नु पर्नेछ । जसमा नियमित सेवा विहान ९ बजेदेखि दिउसो ३ बजेसम्म तोकिएको छ । स्वास्थ्य संस्थाबाट दिउसो ३ बजेदेखि कम्तिमा ५ बजेसम्म विस्तारित स्वास्थ्य सेवा वा अतिरिक्त सेवा सञ्चालन गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ । अतिरिक्त सेवा गरे बापत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सेवा सुविधाको पनि व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।   

Last modified on 2017-06-18 13:29:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts