गर्मी लागेसँगै कान्ति अस्पतालमा बिरामीको चाप बढ्यो



Download our app to get more features

काठमाण्डौ, २७ चैत । गर्मी बढेसँगै कान्ति बाल अस्पतालमा उपचार गर्न आउने बालबालिकाको संख्यामा वृद्धि भएको छ । 

मौसम परिवर्तन र गर्मी बढेसँगै जरो, टाइफाइड, हेपाटाइटिस, भाइरल हेपाटाइटिस, झाडापखाला, बान्ताका बालबालिकाको वृद्धि भइरहेको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले जानकारी दिए । साथै फेनन्जाटिस्(घाँटीको संक्रमण), श्वासप्रश्वास, रुघाखोकी, निमोनियाका बिरामी पनि बढेका छन् । 

बिरामीको वृद्धिसँगै दैनिक चारसयको संख्यामा ओपीडीमा आउने बिरामीको संख्या बढेर पाँच सयसम्म पुग्ने डा. पौडेलले बताए । 

डा. पौडेलका अनुसार गर्मी समयमा खानपान तथा सरसफाइमा ध्यान नदिँदा पानीबाट सर्ने भाइरल हेपाटाइटिस ए र ई का बिरामीे बढ्नुको साथै झाडापखालाका बिरामी पनि बढेका हुन् । यसको साथै विभिन्न संक्रमण भई रिफर भएर आउने बिरामीको संख्या पनि बढेको छ । 

गर्मी समयमा मानिसलाई विभिन्न रोगले आक्रमण गर्ने सम्भावना धेरै रहन्छ । यसमा बालबालिका झनै संवेदनशिल मानिन्छन् । यो समयमा विभिन्न सरुवा रोगका किटाणु सक्रिय हुने हुँदा यसले बालबालिकालाई छिट्टै प्रभाव पार्ने हुन्छ । त्यसैले गर्मीको समयमा भाइरलहरु सक्रिय हुने हुँदा बालबालिकालाई झाडापखाला तथा भाइरल हेपाटाइटिस बाट बचाउन खानपान तथा सरसफाईमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।

 

Last modified on 2017-06-18 15:27:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts