शल्यक्रिया गरेर बच्चा जन्माउने विधी ‘सिजेरियन सेक्सन’ के हो ?



Download our app to get more features

पेटको तल्लो भाग र पाठेघर चिरेर शल्यक्रियाबाट बच्चा जन्माउने विधीलाई नै मेडिकल भाषामा सिजेरियन सेक्सन भनिन्छ । कतिपय स्थितिमा प्रसव व्यथा सुरु भइसकेपछि तुरुन्त शल्यक्रिया गर्नुपर्ने अवस्थालाई इमर्जेन्सी सिजेरियन सेक्सन भनिन्छ भने कतिपय स्थितिमा यो केहि समय कुरेर केहि तयारी पछि गर्ने गरिन्छ, जसलाई इलेक्टिभ सिजेरियन सेक्सन भनिन्छ । 

कुन अवस्थामा सिजेरियन सेक्सन गरिन्छ ?
प्राकृतिक रुपमा प्रसवको अवस्थाबाट बच्चा जन्माउन नसकिने विशेष स्थितिहरूमा मात्र सिजेरियन सेक्सन गरिन्छ । पछिल्लो समयमा यो विधीबाट बच्चा जन्माउने दर बढ्दै गएको छ । कतिपय स्थितिमा आमा र बच्चाको जीवन जोगाउने यस विधी चिकित्सकीय आवश्यता अनुसार मात्र गरिनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले जोड दिदै आएको छ । 

मुख्य गरि निम्न स्थितिमा बच्चा जन्माउन सिजेरियन सेक्सन अपरेसन गरिन्छ :

  • पहिलै सिजेरियन सेक्सन गरिसकेको अवस्थामा 
  • बच्चा उल्टो रहेमा 
  • बच्चाको तौल सामान्यभन्दा बढी रहेमा 
  • बच्चा तल आउने बाटो साँघुरो भएमा 
  • प्रसव सुरु भएको लामो समयसम्म पनि व्यथा अगाडी नबढेमा वा पाठेघरको मुख खुल्दै नगएमा 
  • साल पाठेघरको मुखमा रहेमा 
  • आमाको रक्तचाप अत्याधिक बढ्ने रोग (प्रिएक्ल्याम्सिया) देखिएमा 
  • बच्चाको मुटुको धड्कनको गति ठिक नभएमा 
  • बच्चाले पाठेघरभित्रै दिशा गरेमा  
  • आमालाई प्रसव व्यथामा जान खतरा हुने अन्य विभिन्न रोगहरु भएमा  

 सिजेरियन सेक्सनका हानीहरु के के हुन् ? 
शल्यक्रिया गरेर बच्चा निकाल्ने विधी भएकाले सिजेरियन सेक्सनका आफ्नै हानी र वेफाइदाहरु छन ।  
तुरुन्तै देखिने समस्याहरुः

  • रक्तश्राव हुनु 
  • इमर्जेन्सी अपरेसन गर्दा खालीपेट नभएमा एस्पिरेसन निमोनिया हुनु 
  • पिसावाथैली वा मुत्रनलीमा घाउ लाग्नु वा अन्य समस्या देखा पर्नु 

 केहि पछि देखिने समस्याहरुः

  • बेहोस बनाउन दिइएको सुइँको कारणले टाउको दुख्नु 
  • घाउ पाक्नु वा संक्रमण देखिनु 
  • दोश्रो बच्चा जन्माउदा विभिन्न समस्याहरु देखिनु 
  • पेटमा हर्निया हुनु 
  • लामो समयसम्म अस्पताल बस्नुपर्ने हुनु 
Last modified on 2017-06-11 17:36:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts