‘गरिबको पनि दिन आउँदो रहेछ’



Download our app to get more features

गौर (रौतहट), १७ चैत । रौतहटको सरुवाटार–७ का अबुलेस र अमु्रनेसा मियाँका तीन वर्षीया छोरी आठ महिनाअघि एकाएक बिरामी परिन् । पिसाबबाट मासुका चोक्टा निस्कने समस्या देखिएपछि उनीहरूले नाबालिका छोरीलाई गौर अस्पतालमा लगेर जँचाए ।

अस्पतालले बालिकाको मूत्रथैलीमा पत्थरी भएको निदान गर्दै उपचारका लागि वीर अस्पतालमा रिफर गरिदिए । राजधानी लगेर उपचार गराउँदा १ लाख रुपैयाँसम्म लाग्ने सुनेपछि उनका अभिभावक खर्च अभावमा त्यत्तिकै बस्न बाध्य भए । 

मजदुरी गरेर सात छोरी र दुई छोरासहितको परिवार धान्दै आएका उनीहरूमा अहिले भने खुसी फर्किएको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाद्वारा गौरमा सञ्चालित संयुक्त स्वास्थ्य शिविरमा ती बालिकाको सफल शल्यक्रिया गरी ५.१ एमएलको पत्थर निकालिएको छ ।

“कमाइ छैन, खान–लाउन नपुगिरहेको बेला छोरीको उपचार गर्न १ लाख कसले दिने हामी गरिबलाई ?”, अमु्रनेसाले आँसु झार्दै भनिन्, “सरकारले निःशुल्क अप्रेसन गरेर छोरीलाई बचाइदियो, गरिबको पनि दिन आउँदो रहेछ भन्ने लाग्यो ।”

वीरेन्द्र सैनिक अस्पतालकी प्रमुख सेनानी सर्जन डा. ज्योति रायमाझी राणाका अनुसार बालिकाको उपचारमा अझै ढिलाइ गरेको भए दुवै मृगौलाले काम नगर्ने अवस्थामा पुग्थ्यो । “दुवै मृगौला सुन्निसकेको पाइयो”, उनले भनिन्, “उनीजस्ता धेरै बालबालिका जनचेतना र आर्थिक अभावमा रोग छिपाएर बस्न बाध्य रहेछन् ।” 

यही चैत ८ गतेदेखि सोमबारसम्म सञ्चालित स्वास्थ्य शिविरमा १० जना बच्चाको शल्यक्रिया गरिएको छ । सात जनाको हर्नियाको शल्यक्रिया गरिएको नेपाली सेनाका तर्फबाट शिविर संयोजक तथा एनेस्थेसिया विशेषज्ञ डा उदय बज्राचार्यले जानकारी दिए ।

“धेरै बिरामी आर्थिक अवस्था कमजोर भएका कारण रोग पालेर बसेका रहेछन्”, संयोजक बज्राचार्यले भने, “यहाँका बच्चाको स्वास्थ्य स्थिति पनि निकै दयनीय रहेछ ।” उनका अनुसार एक वर्षको बच्चामा हर्नियाभित्र झोला हुन्छ, त्यसमा आन्द्रा पसेर अड्किएको पनि पाइयो । भने, “अन्य धेरै बच्चामा यस्तो समस्या होला ।” यसका लागि सरकारले भरपर्दो कार्यक्रम ल्याउन आवश्यक देखिएको उनले बताए ।

जिल्ला अस्पतालमा आवश्यक चिकित्सक नहुँदा बिरामी उपचारबाट वञ्चित हुँदै आएको देखिएको उनले बताए । सरकारले स्वास्थ्यमा ठूलो लगानी गरे पनि सामान्य रोगको उपचार गर्न नसक्दा अन्य जटिल रोगको सिकार भएको पाइएको उनले सुनाए ।

मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. भोलमराम श्रेष्ठले यो शिविरले आगामी दिनमा कस्तो स्वास्थ्य सेवा आवश्यक छ भन्नेबारे थप सहयोग पुग्ने बताए । 

आजको कारोबार दैनिकमा जुनु भट्टराईले लेखेको खबर

Last modified on 2017-06-19 10:59:29

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Tei doctor haruko lapravai le garda aaja mero aama cancer ko sikar banna pugyo. Tetro regular checkup garauda pani yo vako ho vani diagnosis garenan. Last ma 4th stafe samma puraidiyo. Hijo samma arule yesari vanda aafulai kasto naramro lagthyo aafu pani tei medical profession ko vayera tara aaja aafailai parda dr haru prati biswaas purai lagena.Naam ko matra dr banera birami ko jivan sita khelwad nagarinu hola.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts