नियमित खोप नदिँदा बर्षेनी ठेउला संक्रमण बढ्दै



Download our app to get more features

काठमाडौं, १७ चैत । नियमित खोप कार्यक्रममा नपारिएको ठेउला (चिकन पाक्स) संक्रमण बर्षेनी देखा परिरहेको छ । पाल्पा, विरकोट–३ मा चार–पाँच दिनयता २९ जनामा यो संक्रमण देखिएको स्वास्थ्य अधिकारीले बताएका छन् । ५ देखि १९ वर्ष उमेर समूहमा यो संक्रमण देखिएको छ ।

सरकारले दिने ११ वटा नियमित खोप कार्यक्रममा ठेउला समावेश छैन । बालबालिकालाई दिइने खोपमा ठेउला नपरेकैले यसको संक्रमण देखिने क्रम बढेको विज्ञ बताउँछन् । 

‘यो थप्नुपर्ने खोप नै हो, यसलाई नियमित खोप कार्यक्रममा राख्ने हो भने ठेउलाको प्रकोप धेरै कम हुन्छ’, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले भने । उनका अनुसार मुलुकमा बर्षेनी ठेउलाका हजारौं केस देखिने गरेका छन् । 

धेरैजसो बच्चामा पाइने भाइरसका कारण हुने संक्रामक रोग ठेउला सामान्य रूपमा आफंै निको हुन्छ । रोगप्रतिरोधक क्षमता कमजोर केही संक्रमितमा भने यसले निमोनियालगायत जटिलता ल्याउन सक्छ । ‘ठेउलाको जटिलताले बालबालिकामात्र नभई वयस्क अभिभावकसमेतको मृत्यु भए पनि यसवारे खासै अध्ययन छैन,’ स्वास्थ्य मन्त्रालयका एक विशेषज्ञले भने । 

कतिपय मुलुकमा ३५ वटासम्म खोप निस्शुल्क दिने गरिए पनि गलत चिकित्सा नीतिका कारण नेपालमा बालबालिका र वयस्कसमेत ठेउलालगायत रोगबाट पीडित हुने गरेको विज्ञको भनाइ छ । इपिडिमियोलजीका डा. गुणनिधि शर्माका अनुसार हर्पिज भेरिसेल्ला जोस्टर भाइरसले गर्दा हुने यो संक्रमण मुख्य रूपमा एकबाट अर्को व्यक्तिमा हावा, थुक, हाच्छियूँ, बिमिराबाट निस्केको पीप, लुगाफाटो, ओछ्यान आदिको सम्पर्कमा आउँदा सर्छ । एक प्रतिशतभन्दा कम मृत्युदर रहेको यो संक्रमणले रोग प्रतिरोधक क्षमता कमजोर भएकाम भने खतरा निम्त्याउँछ । यो भाइरसको संक्रमण भएको ७ दिनदेखि ३ सातासम्म बालबालिकामा लक्षण देखिन सुरु हुन्छ । यो संक्रमणको लक्षण जीउ चिलाउने र रातो दागसँगै बिमिरा देखिनु हो । संक्रमण सुरु भएपछि ज्वरो, हलुका खोकी, रुघा, मांसपेशीको दुखाइ, थकाइ, कमजोरी आदि देखिन सक्छ । यो संक्रमण फोक्सोसम्म फैलिँदा सास फेर्न असजिलो हुने, छाती दुख्ने, खोकीजस्ता समस्या देखिन सक्छ ।

 

(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

Last modified on 2017-06-19 10:59:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts