आगोले जलेकी स्मिताको उपचारमा समस्या



Download our app to get more features

फलेवास (पर्वत), १७ चैत । घरकै चुल्होमा सल्किएको आगोमा परेर गम्भीर घाइते भएकी पर्वत फलेवासकी एक बालिकाको उपचारमा आर्थिक समस्या भएको छ । 

पर्वत जिल्लाको मोदी गाउँपालिका–३ बाजुङकी ६ वर्षीया स्मिता नेपालीको उपचारमा समस्या भएको हो । गत पुस महिनामा चुल्होमा सल्किएको आगोले लगाएका लुगा जल्दा गम्भीर घाइते भएकी बालिकाको अहिले राजधानीको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । 

विपन्न परिवारकी बालिका घाइते भएपछि उपचारका लागि आर्थिक समस्या भएकाले सहयोग माग्दै सदरमुकाम कुश्माबजार आइपुगेका बालिकाका बाजे काजीमान नेपालीले गुनासो गरे । उनले भने, “घरजग्गाको नाममा घरबाहेक अरु केही छैन, अन्य कुनै आर्थिक स्रोतसमेत नभएकाले निकै समस्या परेको छ ।” 

अहिलेसम्म रु दुई लाखभन्दा बढी रकम खर्च भइसकेको र अझै त्यति नै रकम आवश्यक पर्ने भएकाले सहयोगको खोजीमा भौँतारिएको उनले बताए । छोरा, बुहारी घाइते बालिकाको उपचारका लागि राजधानीमा गएपछि आफू सहयोगको खोजीमा हिँड्नु परेको काजीमानले गुनासो गर्नुभयो । घाइते बालिकाका बाबु लालकाजी र आमा कल्पना गाउँमै मजदुरी पेसा गरेर गुजारा चलाउँदै आएका थिए । 

शरीरको पूरै भाग जलेका कारण पोखरामा समेत उपचार सम्भव नभएपछि राजधानी लगिएको थियो । गुप्ताङ्ग लगायत भागको घाउ निको हुँदै गएको र अन्य स्थानमा प्लास्टिक सर्जरी गर्नुपर्ने तथा केही भागको शल्यक्रिया अझै बाँकी रहेको परिवारले जानकारी दिएका छन् । 

लालकाजीका दुई छोरी र एक छोरा रहेका छन् । अहिलेसम्म रु दुई लाख खोजेर राजधानीमा पठाएँ अझै त्यति रकम आवश्यक पर्ने भएकाले कहाँबाट सङ्कलन गर्ने हो भन्ने पिरलो परेको बाजे काजीमानले गुनासो गरे । 

स्थानीय नेकपा (एमाले) का नेता भक्त कुँवरले विपन्न परिवारकी बालिकाको उपचारका लागि आर्थिक समस्या बल्झिएको र सहयोग गर्न सबैसँग अपिल गरिएको जानकारी दिए । रासस 

Last modified on 2017-06-19 11:01:06

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts