मधुमेह छ भने आँखा जचाइहाल्नोस् , नत्र आँखाको ज्योति गुम्ला है !



Download our app to get more features

काठमाडौ । तपाईँ वा तपाईँको परिवारमा कसैलाई मधुमेह लागेको छ ? छ भने समय समयमा आँखा परीक्षण गर्ने गर्नुहोस है  । नत्र तपाईँको आँखामा समस्या देखिन सक्छ  । समयमै उपचार गरिएन भने दृष्टिबिहिनसम्म हुनसक्ने अध्ययनहरुले देखाएको छ । 

शहरीकरण बढेसँगै  नेपालमा करिव १० लाख मानिसमा  मधुमेह रोग देखा परेको अनुमानित तथ्यांक छ । ति मध्ये ४० प्रतिशतलाई आँखा नदेख्ने वा कम देख्ने समस्या छ । मधुमेह रोगले मानिसको आँखाको रेटिनामा असर पुर्याएर दृष्टिविहीनसमेत बनाउन सक्ने भएकाले समयमै आँखाको जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ । तिलगंगा अस्पतालकी नेत्ररोग बिशेषज्ञ डा. रवा थापाका अनुसार मधुमेहका बिरामीमा अन्य मानिसमा भन्दा दुइ गुणा बढि आँखामा समस्या हुने सम्भावना रहन्छ भने २५ गुणा बढी दृष्टिविहिन हुने सम्भावना हुन्छ । 
विश्वभरमा करिब पाँच प्रतिशत अन्धोपन मधुमेहका कारणले हुने गछ । तर, नेपालमा भने त्योभन्दा झन्डै तीनगुणा बढी अन्धोपनको कारण मधुमेह देखिएको छ ।  डा. थापाका अनुसार नेपालमा १३ प्रतिशत अन्धोपनको कारण मधुमेह हो । समयमै आँखाको परीक्षण गराई मधुमेहबाट हुने अन्धोपनबाट बच्न सकिने भएपनि अधिकांश बिरामी आँखामा असर परिसकेपछि मात्र अस्पतालमा पुग्ने गरेको डा. थापा बताउँछिन् ।

ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा मधुमेह रोगका बिरामीको सख्या बढि रहेको  छ । शारीरिक व्ययामको अभाव , खानपानको कारणले गर्दा रगतमा ग्लोकोजको मात्रा बढ्दै गएपछि मधुमेह रोग लाग्ने गर्छ । हाल काठमाण्डौ जिल्लामा सबैभन्दा बढी मधुमेह रोगी रहेका छन् । त्यस्तै मधुमेह रोगकै कारण आँखामा सबैभन्दा बढी समस्या देखा परेको काठमाडौ जिल्ला नै रहेको अध्ययनले देखाएको छ ।  सन् २०१६ मा डाईबेटिक रेटिनोपेथी कार्यक्रमले राजधानी सहित ६ जिल्लामा गरेको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो । मधुमेहले आँखामा पार्ने असर मकवानपुर भक्तपुर , ललीतपुर , काठमाडौका बिरामीमा बढी देखिएको हो । 

मधुमेह रोगले आखामा कस्तो असर पार्छ ?
आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्लीलाई रेटिना भनिन्छ । जसलाई नांगो आँखाले देख्न सकिँदैन । मधुमेहले त्यही रेटिनामा रक्तश्राव गराउने, चिल्लो पदार्थ जम्मा हुने र सुजन गराउने गर्छ । आँखाको  रेटिनाका रक्तनशाहरुमा हुने गर्दछ । र विस्तारै रेटिनामा रक्तश्राव हुने , सुन्निने ,नयाँ रक्तनशाहरुको विकास हुने गर्दछ । समयमा नै उपचार नभए आखाँभित्र अत्याधिक रक्तश्राव भई रेटिना खुम्चने र आखाको चाप बढन गई दृष्टि पूर्णरुपमा गुम्न सक्ने डा. थापा बताउछिन् । 

धेरै असर नपुगेसम्म लक्षण देखिन्न 
मधुमेहका कारण आखाँमा धेरै असर नपगुन्जेल कुनैपनि लक्षण नदेखिने भएकाले मधुमेह रोगीले आँखा ठिक छ भनेर ढुक्क भएर बस्ने नहुने चिकित्सक बताउँछन् । कतिपय अवस्थामा दृष्टि धमीलो हुदैँ रेटिनामा धेरै क्षति भैसक्दा मात्र लक्षण देखिने भएकाले उपचारमा आइपुग्दा ढिला भइ राम्रो दृष्टि फर्काउन नसकिने डा. थापा बताउँछिन् । ‘हाम्रो देशमा आँखाका समस्या नदेखिएसम्म देखाउने चलनको बिकास भइसकेको छैन’, डा. थापाले भनिन्, ‘त्यसैले मधुमेहका धेरै बिरामी आँखामा गम्भिर समस्या देखिएपछि मात्र चिकित्सककँहा पुग्ने भएकाले आँखा बिग्रिसकेको हुन्छ, त्यसैले समयमै जचाँउनु एकदम आवश्यक छ ।’

डाइवेटिक रेटिनोपेथिको उपचार
डाइबेटिक रेटिनोपेथिको उपचार प्रणाली भनेको लेजर थेरापी हो । लेजर थेरापीले आखाँको रेटिनामा भएको रगत , सुनिएको रेटिनालाई सेकाएर कम गराउने गरिन्छ । लेजर थेरापी पश्चात पनि विरामीले पनि ब्लड प्रेसर , रगतमा चिनिको मात्रा कम गराउन सकेन भने समय समयमा लेजर थेरापी गराउनुपर्ने डा. थापा बताउँछिन् । लेजर थेरापीपश्चात पनि बिरामीले पहिलेको जस्तै आखाँ देख्न भने सक्दैनन् । त्यसकारण डाइवेटिज भएका बिरामीले समय समयमा आखाँको परीक्षण गराउनु पर्छ । 

डाइबेटिक रेटिनोपेथीका कारणहरु
सानै उमेरमा मधुमेह रोग देखा पर्यो भने 
रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा नहुनु
उच्च रक्तचाप
रगतमा चिल्लो पदार्थ बढी हुनु
मिर्गौलाको समस्या 
धुम्रपान
मोटोपन
बच्ने उपाय
मधुमेह रोग लागेका व्यक्तिले समय समयमा आखाँको परीक्षण गर्ने 
मोटोपन कम गर्ने
बढी चिल्लो र चिनीको प्रयोग नगर्ने । 

मधुमेह के हो?
रगतमा चिनीको मात्र आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह रोग भनिन्छ । मधुमेह एक दीर्घरोग हो जसले शरीरका आँखा, मुटु, स्नायु, मिर्गौला, खुट्टामा असर गर्छ । आम रूपमा मधुमेहलाई चिनीरोग भनेर चिन्ने गरीन्छ । शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ । यसका साथै इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने हुन्छ ।
समय समयमा आखाँको परीक्षण गर्ने एवं रगतमा चिनीको मात्रा नियन्त्रण गर्दै लैजाने हो भने यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।  शारीरीक व्यायम गर्ने खानपानका हेरविचार गर्ने र धुम्रपान नगर्ने हो भने मधुमेह लागेका बिरामीको आँखामा असर कम हुने चिकित्सकहरु बताउँछन् । मधुमेह रोगका कारण आँखामा समस्या हुन्छ भन्ने थाहा नहँुदा यो समस्या बढदै गएको छ ।

Last modified on 2017-06-19 12:26:23

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts