गौरको चौरमा डाक्टरै डाक्टर, जिल्ला अस्पताल हेर्यो बाख्रा र झिंगाको अखडा



Download our app to get more features

काठमाण्डौ, १४ चैत । हप्तादिन यता रौतहट सदरमुकाम गौरमा स्वास्थ्य मेला लागेको छ । रौतहट जिल्ला अस्पताल गौरसँगैको चौरमा हरिया मोटरहरुको लस्कर लागेको छ । टेन्टहरु गाडिएका छन् ।

सयौं बिरामी पंक्तिवद्द भएर खडा छन् जचाँउने पालो कुरेर । पोशाकमा रहेका सेनाका कुनै जवान लाइन मिलाइरहेका छन् । मोटरभित्र कतै बिरामीको एक्सरे भैरहेको छ भने कतै अप्रेसन । नेपालमै पहिलो पटक भनिएको सघन स्वास्थ्य शिविरमा भाग लिन नेपाल र भारतसमेत विभिन्न स्थानबाट सयौं बिरामीको ताँति लागेको छ । बिरामी परीक्षण, उपचार र शल्यक्रिया समेत भएको समाचार चौपर्फी आमसञ्चारमाध्यममा आउँदा गौर ‘मेडिकल हव’ जस्तै भएको छ । 

पक्कैपनि सघन स्वास्थ्य शिविरले कयौं विपन्न र अशिक्षित नागरिकको वर्षौं पुराना घाउहरुमा मल्हम दलेको छ । कयौं मधेसी महिलाले समाजको डरमा लुकाएका पाठेघर र पथ्थरीको घाउ निको भएको छ । बिसौं वर्ष पुरानो हर्निया र हाइड्रोसिलेको अप्रेशन भएपछि वृद्धहरुको ओठमा खुशी रंगिएको छ । 

तर, यो रमझम सोमवारसम्मको मात्र हो । मंगलबारदेखि रौतहट पुनः आफ्नै हैसियतमा झर्छ । अहिले शिविर चलिरहेको चौरसँगै रहेको बडेमानको भवन हो रौतहट जिल्ला अस्पतालको । रौतहट मानव विकास सूचकांकको हिसावले अति पिछडिएको जिल्ला हो । नेपालका जिल्लाहरुमध्ये रौतहट स्वास्थ्यका दृष्टिकोणमा ७३ औं स्थानमा पर्छ । यति नाजुक अवस्थाले रौतहट अस्पतालको भव्य भवनलाई गिज्याइरहेको छ । 

शिविर अवधिभर राजधानी, चितवन र हेटौंडाका अस्पतालबाट आएका चिकित्सकले अस्पतालपनि भरिभराऊ भए । नत्र भने यो भवनभित्र बल्लतल्ल तीनजना करारका डाक्टरमात्र भेटिन्छन् । त्यसमा पनि कुनै न कुनै एकजनाको बिदा परिरहन्छ । दुईजना डाक्टरले ओपिडी हेर्ने कि अप्रेसन गर्ने ? करारमा भएका मध्ये एकजना डा. जेवी तमसुक छन् । उनले नेपाल सरकारको कोटाबाट डिप्लोमा ईन गाइनेलोजी पढेका छन् । उनले सामान्यरुपमा शल्यक्रिया सहितको प्रसूति दिइरहेका छन् । त्योपनि अलि जटिल केस हुने बित्तिकै रिफर हुन्छ । जसरी केहीदिन अघि सुखियादेवीको हकमा भएको थियो । धन्न राजधानीबाट गएका सुविधासम्पन्न टोलीले उनको शल्यक्रिया गर्यो । 

४ जना डाक्टरको स्थायी दरबन्दी, एकजनापनि छैनन् 
रौतहट जिल्ला अस्पताल अहिलेसम्म २५ बेडको हो । जसअनुसार जिल्ला स्वास्थ्य कार्यालय ले नै अस्पताल सञ्चालन गरिरहेको छ । अहिलेको संरचनाअनुसार अस्पतालाको स्वकृत दरबन्दीमा ४ जना चिकित्सक, ४ जना नर्स, दुईजना प्रशासन र लेखा र २ जना अनमी छन् । तर स्थायी दरबन्दी अनुसार एकजनापनि चिकित्सक छैनन् । दरबन्दी अनुसार एकजना ९ औं वा १० औं तह मध्येको मेसु र २ जना आठौं तहको डाक्टर हुनुपर्ने हो ।

त्यस्तै एकएकजना लेखा र प्रशासनको स्थायी दरबन्दी हुनुपर्नेमा एकजना पनि छैनन् । चारजना नर्समध्ये २ जनामात्र छन् भने अनमी मात्र २ जना उपलब्ध छन् । जसले गर्दा अस्पतालको स्वास्थ्य सेवामात्र होइन प्रशासनिक सेवापनि लथालिंग भएको छ । करारमा भएका दुईजना चिकित्सकको आउँदो असारमा म्याद सकिँदै छ । अहिले अस्पतालमा सामान्य प्रसुति शल्यक्रिया र माइनर अप्रेसन हरु गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नवल किशोर झाले हाम्रो डक्टरलाई बताए । उनले भने ‘स्विकृत दरबन्दी अनुसार चिकित्सक र प्रशासनिक कर्मचारी नहुँदा गुणस्तरीय सेवा दिन सकिएको छैन ।’ 

वार्डमा झिंगा र लामखुट्टे, कम्पाउण्डमा बाख्रा र बिरामी सँगसँगै 
अलि परपट्टी शिविर चलिरहँदा जिल्ला अस्पतालको वार्डमा पित्तथैलीको अप्रेशन गरेर पोष्टअफ केयरमा रहेकी हेमन्ती पासवान आफै लामखुट्टे धपाउँदै थिइन् । उनी बसेको वार्ड अस्पतालको जस्तो देखिँदैन । कुनै सार्वजानिक पार्टीजस्तो छ । जहाँ झिंगा र लामखुट्टेको ‘डोमिनेसन’ छ । सँगै कुनामा रहेको धारोको बेसनबाट केही दिन भो पानी पास भएको देखिँदैन । बेसन मुनी तिर रगत लागेका स्यानिटरी प्याड फालिएका छन् । त्यो अस्पतालका लागि सामान्य भएको छ । किनकी यो त्यहाँका बिरामी र स्वास्थ्यकर्मीलाई बानी परिसकेको छ, त्यसैले सामान्य लागेको होला । 


अस्पतालको चौरमा कतै बिरामी लडिरहेका छन् भने कतै बाख्राको बथान चर्न आएका छन् । अस्पताल फार्मेसीको स्वरुप छ तर, फर्मासिस्टमा माकुराको दरबन्दी छ । फार्मेसीका तखाताहरुमा माकुराले जालो सजाएको छ । यही हो रौतहट जिल्लाको बेथिति ।

व्यवस्थापनका लागि आएको ३० लाख भवन मर्मत भनेरै सकियो 
अस्पतालका मेसु समेत रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाले नियमित सरसफाई हुने दावी गरे । उनले सरसफाई सहित अन्य व्यवस्थापकीय सुधारका लागि स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाले ३० लाख पठाएको भएपनि त्यो भवन मर्मतमै सकिएको बताए । तर, अस्पतालको माहोल हेर्दा ३० लाख खर्च भएर व्यवस्थापन चुस्त भएको जस्तो कुनै दृष्टिकोणबाट लाग्दैन । 

२५ बेडमै लथालिंग अस्पतालमा ५० बेड !
रौतहट जिल्ला अस्पताल अब ५० बेडको हुँदैछ । अस्पतालको शैया क्षमता बढाउन भन्दै चारवर्षअघि नै अस्पतालले भव्य भवन बनाएको हो । जसअनुसार अस्पताललाई ५० बेड बनाउन स्वास्थ्य मन्त्रालयले स्विकृति पनि दिइसकेको छ । तर, प्रश्न यहाँ छ कि २५ बेडमै आवश्यक जनशक्ति र व्यवस्थापन कमजोर भएको अस्पताल अब कसरी चल्ला ? २५ बेडका लागि छुट्याइएको दरबन्दीमा एकजना पठाउन नसकिएको अवस्था ५० बेड बनाउँदा जनशक्ति पुग्छन् भन्ने आधार खोज्न गाह्रो छ । 

के भने स्वास्थ्यमन्त्री थापाले ? 
गौर शिविर अवलोकनका लागि शुक्रवार रौतहट पुगेका स्वास्थ्यमन्त्री गगनकुमार थापाले जिल्ला अस्पताल गौरको पनि निरीक्षण गरे । सो क्रममा अस्पताल भव्य ढंगले चलिरहेको देखियो । किनकी शिविरमा आएका बिरामीको शल्यक्रिया र उपचार अस्पतालमा पनि भैरहेको थियो । शिविरमा गएका करिब ४० जना चिकित्सक मध्ये कही अस्पतालमा आएर का मगर्दै थिए । जसले गर्दा अस्पतालका वास्तविकता छोपिएको थियो । जिल्ला स्वास्थ्य प्रमुखले अस्पतालको दुर्गतिका बारेमा भनेपछि मन्त्री थापा गम्भीर भए । उनले तत्कालका लागि अस्पतालमा एकजना बालरोग विशेषज्ञ पठाउने आश्वासन दिएर राजधानी फर्किए ।  

Last modified on 2017-06-19 12:28:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. लेखने होईन गर्ने बेला हो , कम गर्ने धेरै लेखने


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts