भरतपुर अस्पतालको प्रगतिः अब नवजात शिशुलाई एनआईसियू निःशुल्क



Download our app to get more features

चितवन, १२ चैत । चितवनको सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालले नवजात शिशु सघन उपचार कक्ष (एनआईसियु) को सेवा निशुल्क गर्ने भएको छ ।

अस्पतालको सेवा विस्तारसँगै एनआईसियु सेवालाई निशुल्क गर्न लागेको हो । अस्पतालको ५४ औ वार्षिकोत्सवको अवसरमा आईतवारदेखि यो सेवालाई निशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । नवजात शिशु सघन उपचार कक्षमा १२ वटा वेड संचालन भएको छ भने ८ वटा वेड विस्तार गर्न लागिएको छ ।

एनआईसियुमा अत्यन्त संवेदनशिल र जटिल अवस्था भएका शिशु र नवजात शिशुहरुको उपचार गरिन्छ । अस्पतालले आफै खर्च ब्यहोरेर भएपनि सेवा निशुल्क गरेको अध्यक्ष राजभण्डारीले बताए। एक वर्षअघि सुरु गरिएको सो सेवामा यसअघि शैयामात्र निःशुल्क गरिएको थियो । एनआईसीयूको लागि निजी अस्पतालमा ५ देखि सात हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।

यस्तै नवजात शिशुहरुको लागि उपचारका लागि छुट्टै कक्षमा सेवा सुरु गरिने भएको छ । १६ शैया क्षमता सहितको नवजात शिशुहरुका लागि सेवा सुरु गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए । एनआईसियु र नवजात शिशु वार्डमा सबै सेवा निशुल्क गरिएको डा. मरासिनीको भनाइ छ । यसका लागि उपकरण र जनशक्ति थप गरिने मरासिनीले बताए ।

अन्यत्र भन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी वर्षेनी बढ्न थालेका छन् । बच्चाको लागि अतिआवश्यक एनआईसीयु सेवा चलाएपछि बिरामीहरुको लागि सहज भएको छ । निजी अस्पतालमा उपचार खर्च महंगो हुने भएपछि सरकारी अस्पतालप्रति बिरामीको आकर्षण बढेको हो ।

Last modified on 2017-03-25 14:45:56

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts