रौतहटको सघन स्वास्थ्य शिविर, जहाँबाट सुखियादेवी र रामचन्द्रहरुको खुशी फर्कियो



Download our app to get more features

रौतहट, ११ चैत ।  कर्कच कर्मैयाकी ३० वर्षीय सुखियादेवीलाई चैत सात गते बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । प्रसव पीडाले छटपटिएकी उनलाई तत्काल रौतहट जिल्ला अस्पताल गौर ल्याइयो । सुत्केरी व्यथाले आलसतालस भएकी उनको छट्पटिएर लड्दा खुट्टा पनि फ्याक्चर भयो । दोहोरो व्यथाले तड्पिएकी उनको कसरी उपचार गर्नु न त अस्प्तालमा योग्य चिकित्सक छन् न त आवश्यक उपकरण नै । गौर अस्पतालले तत्काल उनको शल्यक्रिया गर्न नसक्ने बताउँदै उनलाई रिफर गर्ने निर्णय गर्यो । तर, सुखियादेवीको परिवार उनलाई अन्त लैजान तयार देखिएनन् ।

जटिल अवस्थामा रहेकी सुखियादेवीको छट्पटाहटका बीच भोलिपल्टबाट सघन स्वास्थ्य शिविर चलाउन राजधानीबाट नेपाली सेनाका चिकित्सक र उपकरण सहितको टोली गौर आइपुग्यो । तर सुखियादेवी र उनको भावी सन्तानको जीवन रक्षार्थ टोलीले धैयर्ता नसाँधिकन उनको शल्यक्रिया गर्यो । शल्यक्रियापश्चात आमाछोरीकै जीवन बाँच्यो । 
शुक्रवार गौर अस्पतालको पोष्ट अप्रेटिभ वार्डमा पुग्दा उनी छोरीसहित प्रसन्न मुद्रामा थिइन् । नेपाली सेनाको टोलीले आफ्नै ठाउँमा आएर दुई ज्यान छुट्याइदिएपछि उनले मनमनै गदगद भएर स्वास्थ्य शिविर गरिदिनेहरुलाई धन्यवाद दिएकी छिन् । हाम्रो डक्टरसँग कुरा गर्दै उनले भनिन् ‘परिवारले अन्त लैजान मानेको थिएन । यहाँका सरहरुले अप्रेशन नगरेको भए हामी बाँच्ने थिएनौं जस्तो लाग्छ ।’ 

पोष्ट अप्रेटिभ वार्डकै बाहिर पनि कुर्सीमा ७१ वर्षीय रामचन्द्र साह श्रीमतीको आड लाएर मुसुमुसु हाँस्दै थिए । उनको घर रौतहटकै कटहरिया हो । उनको वर्षौ पुरानो हर्नियाको शल्यक्रिया भैकन उनी शुक्रवार डिस्चार्ज भएका छन् । उनले बल्ल आफुलाई हर्निया भएको थाहा पाएका थिए । 


रामचन्द्र साह र सुखियादेवी जस्ता प्रतिनिधिपात्र रौतहटमा जारी सघन स्वास्थ्य शिविरमा थुप्रै भेटिए । उनीहरु सबैको आआफ्नै पीडा र खुशी छन् । शिविरमा दूधे बालकदेखि बयोवृद्धसम्मले उपचार सेवा लिए । 

पाठेघर र हर्नियाका बिरामी ज्यादा
चैत ८ देखि सुरु सघर स्वास्थ्य शिविरका कारणले वर्षौसम्म पाठेघर खस्नुको पीडा गुम्साएर बसेका महिलाहरुले आङ हलुका बनाएका छन् भने कयौं पुरुषले हर्निया र हाइड्रोसिलको उपचार पाएका छन् । महिलामा पाठेघर खस्ने र पुरुषमा हर्निया हाइड्रोसिलको समस्या ज्यादा देखिएको उपचारमा संलग्न डा. सर्वेस शर्माले बताए । 
उनले भने, ‘चरम गरिबी, अशिक्षा र चेतना अभावका कारण बिरामीले रोग पालेर बसेको पाइयो । कतिपयले अप्रेशन गर्न अझै मानेका थिएनन् ।’ यसबाहेक शिविरमा पित्तथैली, एपेन्डिसाइटिस् र पाइल्सका बिरामीको पनि शल्यक्रिया गरिएको छ । 

४ हजार २ सयले पाए उपचार, एक चौथाई बिरामी भारतका

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा भएको शिविरमा चारदिनमा ४ हजार २ सयले उपचार र परीक्षण गराएका छन् । नेपाली सेनाका महासेनानी दीपक अधिकारीका अनुसार ती मध्ये १ हजार ९ सय २९ जना महिला र २ हजार ३ सय २० जना पुरुष रहेका छन् । शुक्रवारसम्म शिविरमा १९ जनाको सामान्य शल्यक्रिया र ५८ जनाको सघन शल्यक्रिया गरिएको अधिकारीले जानकारी दिए । शल्यक्रिया पछि थप उपचार आवश्यक भएकालाई गौर अस्पतालमा थप उपचार गरेर घर पठाउने बताइएको छ । 

रौतहट सदरमुकाम गौरमा सञ्चालित शिविरबाट नेपालकामात्र नभै भारतका बिरामी समेत लाभान्वित भएका छन् । सीमानाका नजिकै रहेको शिविरस्थलमा कम्तिमा एक चौथाई बिरामी सीमा नजिकका भारतीय गाउँहरुबाट आएको चिकित्सकले अनुमान गरेका छन् । निशुल्क स्वास्थ्य शिविर भएको भन्ने थाहा पाएर उताबाट थुप्रै बिरामी आएको उपचारमा रौतहटका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाले बताए । 

रक्षामन्त्री र स्वास्थ्यमन्त्रीले अवलोकन गरे 
नेपालमै पहिलोपटक गरिएको सघन स्वास्थ्य शिविरका लागि भन्दै स्वास्थ्य मन्त्रालयले यसलाई धेरैअघिदेखि प्राथमिकतामा राखेको थियो । स्वास्थ्यमन्त्री गगन कुमार थापाले पटकपटक नेपाली सेनासँग छलफल गरी मोबाइल क्याम्प राख्ने योजना बनाएका हुन् । दुईपटक स्थगित भएर सञ्चालन भैरहेको शिविरको शुक्रवार स्वास्थ्यमन्त्री थापा र रक्षामन्त्री बालकृष्ण खाँणले अवलोकन गरेका छन् । 

अवलोकनका क्रममा स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य सेवा, सचेतना र प्रविधि नपुगेका ठाउँमा सुविधासम्पन्न शिविर पुर्याउने स्वास्थ्य मन्त्रालयको योजना रहेको सुनाए । यसका लागि नेपाली सेनासँगको सहकार्यमा थप कार्यक्रम गरिने बताए । सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँणले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा शिविर हुँदा सयौं बिरामीले उपचार पाएको भन्दै खुशी व्यक्त गरे । 

सघन स्वास्थ्य शिविर १४ गतेसम्म सञ्चालन गरिने कार्यक्रम छ । शिविरमा सामान्य चिकित्सा, रेडियोलोजी, शल्यक्रिया, दाँत उपचार, प्याथोलोजी लगायत सेवा उपलब्ध छन् ।  मानव विकास सूचकांकमा शिक्षा र स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै पिटडिएको जिल्लामा शिविर सकेपछि नेपाली सेनाको टोलीले अर्को शिविर नेपालगञ्जमा गर्ने बताएको छ ।

Last modified on 2017-06-19 13:27:51

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts