उठ्न खोज्दै भुकम्पले थलिएको नुवाकोट जिल्ला अस्पताल, अझै पालभित्र उपचार



Download our app to get more features

काठमाडौ, ११ चैत । दुईवर्ष अघिको भूकम्पले जिल्ला अस्पताल त्रिशुलीलाई विनासकारी भूकम्पले एकाएक धुलोमा परिणत गरिदियो । तर पनि अस्पतालले तत्काल पालमा राखेर बिरामीलाई सेवा निरन्तर दिइरह्यो । भुकम्पपछि बिरामीलाई पालमा राखेर सेवा सुचारु गर्दै बिस्तारै तङ्ग्रिदै गरेको अस्पताल २ बर्ष बितिसक्दा पनि अझै पूर्ण रुपले उठिसकेको भने छैन । 

झण्डै १५ महिनासम्म पालमा राखेर बिरामीलाई सेवा दिँदै आएको  थियो  । गत साउनदेखि भने जर्मन विकास नियोगको सहयोगमा १५ श्यैयामा निर्माण भएको प्रिफ्याव भवन निमार्णबाट सेवा सञ्चालन सुचारु गरिरहेको छ । तर,  ५० शैयाको अस्पताल भए पनि १५ वटा शैयामा मात्र उपचार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुर्य भुसालले बताए ।

प्रिफ्यावको भवन गर्मीमा अझ तात्तिने र चिसोमा झन चिसिने समस्या 
भत्केको भवनबाट सेवा दिन बाध्य रहेका अस्पतालहरुले तत्काल प्रिफ्याव भवनको निमार्ण गरेर सेवा सुरु गर्नु आफैमा उपलब्धीमुलक कार्य हो  । तर, प्रिफ्याव भवनमा गर्मीमा धेरै गर्मी र जाडो समयमा धेरै चिसो हुने समस्या रहेकाले अस्पताल र बिरामीले कठिनाई भोग्नुपरेको डा. भुसालले गुनासो गरे ।  उनले भने ‘अस्पलालका प्रसासनले त सास्ती खप्नुपरे समस्या थिएन, बिरामीलाइ अफ्ठयारो पर्ने देखिएकाले अस्पतालले वातानुकूल मेसिनको समेत व्यवस्था गरेको छ । 

फिजियोथेरापी अहिले पनि पालमै
भवनको अभावले फिजियोथेरापी अहिलेसम्म पालमैै रहेको छ । पुरानो भवन मर्मत गरी र रेडक्रसको सहयोगमा ओपीडी र ल्याव सञ्चालन भएपनि भवनको अभावले फिजियोथेरापी सार्न नसकिएको डा. भुसालले बताए । 

थप २० शैयाको भवन बनाउने तयारी
अस्पतालले छिट्टैनै २० जनालाई भर्ना गर्नसक्ने किसिमको एउटा टहरा बनाउने लक्ष्य लिएको छ । उक्त टहरा निमार्णका लागि विकास समितिबाट समेत पास भइसकेको डा. भुसालले जानकारी दिए । उनका अनुसार स्थानीय रुपमा रहेको सामाग्री तथा पुरानो भवनमा रहेको सामाग्रीलाई प्रयोग गरिने छ भने अपुग सामाग्री खरिद गरिने छ । 

५० शैयाको भवन कोइन्काले निर्माण गरिदिने
भूकम्पपछि १५ शैयाको प्रिफ्याव भवन सञ्चालन हुदै आएको अस्पतालमा कोइन्काले ५० शैयाको भवन बनाइदिने आश्वासन दिएको मेसु डा. भुसालले बताए । कोइन्काले २/३ महिना पनि भवन निमार्णको कार्य सुरु गर्ने छ । स्थायी रुपमा निमार्ण हुन लागेको अस्पताल कोइन्काले तीन वर्षमा पुरा गर्ने लक्ष्य लिएको छ । 

अस्पतालमा बिरामीको चाप
भूकम्पपछि पालबाट सेवा दिदै आएको अस्पताललमा बिरामीको चाप घटेको थियो । प्रिफ्याव भवनमा अस्पताल सञ्चालन भएसँगै बिरामीको चाप बिस्तारै बढ्दै गएको छ । डा. भुसालका अनुसार हाल दैनिक रुपमा ओपिडीमा ८० जना सम्म आउने गरेका छन् । यो संख्यामा बिस्तारै बृद्धि भइरहेको छ ।  अस्पतालमा मौसम अनुसारका बिरामी बढी आउने गरेका छन् । ज्वरो, ग्यास्ट्रिक, निमोनियाका बिरामी बढी आउने गरेको छन् । 

अस्पतालमा १४ जना चिकित्सक
भुकम्पको समयमा डा. सुर्य भुसालले केही समय अस्पताल एक्लै चलाए । पालमा एक्लै अस्पताल सञ्चालन गर्नु सहज भने थिएन । तर पनि डा. भुसालले हरेस खाएनन् नुवाकोटका जनतामा स्वास्थ्य सेवा पु¥याउन । तर, अहिले अस्पतालमा उनी एक्लै छैनन् । उनलाई साथ दिन अस्पतालमा हाल विशेषज्ञ सहित १४ जना चिकित्सक रहेका छन् । जसले भूकम्पका समयमा थिलो थिलो पारेको जिल्ला अस्पताललाई बिस्तारै माथि उठाइरहेका छन् ।   

मेडिकल सुपरिटेन्डेन डा. सुर्य भुसाल

आफ्नै फार्मेसीको अन्तिम तयारी
अस्पतालले आफ्नै फार्मेसी सञ्चालनका लागि भवन तयार पारीसकेको छ । फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्ति पनि छनोट भईसकेको अस्पतालले जनाएको छ । औषधि किनेर ल्याउने काम मात्र बाँकि रहेको छ । अस्पतालमा लेखा, स्टोरका सबै कर्मचारी नयाँ भएको कारण छिटो फार्मेसी सञ्चलानमा ल्याउन नसकिएको डा. भुसालले बताए । ‘अस्पताललाई औषधि खरिदका लागि साढे चार लाख निकासी भएको छ’  उनले भने ‘यसबाट सञ्चालन गर्न गाह्रो छ, तर नगर्नु भन्दा सुरुवात गछौं ।’ विस्तारै बिक्री भएको पैसाबाट औषधि थप गर्दै लाने योजना समेत डा. भुसालले सुनाए । 

 

विशेषज्ञ शल्यचिकित्सा अझै भएन 
सरकारले फागुन १ देखि आकस्मिक सहितको विशेषज्ञ शल्यचिकित्सा सेवा देशैभर विस्तार गर्ने भन्दा त्यसको पहिलो चरणमा नुवाकोट पनि परेको थियो । हालसम्म शल्यक्रियाबाट सुत्केरी गराउनेमात्र शल्यक्रियाको व्यवस्था रहेको जिल्ला अस्पताललाई भने यता निर्णय भएको दुईमहिनाभन्दा बढी हुँदा पनि आकस्मिक र शल्यचिकित्साको सेवा बनाउने बारेमा थप केही थाहा छैन । एकमहिनाअघि यसका बारेमा अनभिज्ञता प्रकट गरेको नुवाकोट अस्पतालले अहिलेपनि थप जानकारी नभएको प्रतिक्रिया दिए । सरकारले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा स्नातकोत्तर पढेका विद्यार्थीलाई सामुदायकि पोष्टिङ गराएर विभिन्न जिल्ला अस्पताल पठाउने त्यहाँ शल्यक्रिया र आकिस्मक उपचार सञ्चालन गर्ने बताएको थियो । त्यसका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न प्रतिष्ठानहरुसँग सम्झौता गरेको भएपनि अझै प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । 

Last modified on 2017-06-19 13:34:58

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts