बैतडीमा जन्मियो टाउको नभएको बच्चा



Download our app to get more features

बैतडी, ११ चैत । बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् । 

मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार विहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी महतोले जानकारी दिइन् । 

जन्मिएको बच्चा छोरी रहेको छ, स्टाफ नर्स महतोले भनिन्, “आठ महिनामै सुनिताले जन्माएको बच्चाको टाउको नभएको र जन्मिने बित्तिकै बच्चाको मृत्यु भएको छ ।” 

सुनिताको बच्चाको जन्म भने सामान्यरुपमा नै भएको तर बच्चाको जन्म भइसकेपछि अत्यधिक रक्तस्राव भएको अस्पताल स्रोतले बताएको छ । बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएको भएपनि सुनिताको कोही पनि नआएका स्टार्फ नर्स महतोले बताइन् । 

उनले भनिन् “घरपरिवार तथा आफन्त कोही नआउँदा रिफर गर्न पनि गाह्रो भएको थियो ।” सुनिताको भने अत्यधिक रक्तस्राव भएकाले बिहीबार बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएको छ । 

पोखरेलको चार महिना हुँदा गर्भ जाँच गराउँदाखेरी नै बच्चाको टाउको नभएको भनेर भने पनि आर्थिक अवस्था कमजोर हुँदा बाहिर जान नसकेको बताइएको छ । आर्थिक अवस्था कमजोर तथा अन्धविश्वासका कारण समयमै अस्पताल नजाँदा यस्तो अवस्था आएको स्थानीयवासी अर्जुन कुँवरले बताए । 

उनले भने, “स्वास्थ्यकर्मीले बच्चाको टाउको नभएको जानकारी दिएपनि धामीझाँक्रीको भरमा परेर अस्पताल नगएका हुन् ।” सुनिताका श्रीमान् करन पोखरेल रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । सुनिताले यसपटक दोस्रो बच्चाका रुपमा जन्म दिएकी हुन् । 

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले चार महिनाअगाडि भिडियो एक्स–रे गर्दा नै टाउको नभएको भन्ने थाहा भएको र उपचार गर्न स्वास्थ्य संस्था नआएको बताए । 

“गर्भ रहेको चार महिनाभित्र गर्भवती महिलाले कुनै पनि किसिमको औषधि सेवन गर्नु हँुदैन”, उनले भने, “केही औषधि सेवन गरेको हुनसक्छ ।” औषधि सेवन गरेर बच्चाको शरीरको मात्रै विकास भएको र टाउकाको नभएको हुनसक्ने भएपनि यो अहिलेसम्म पुष्टि नभएको उनले बताए । 

बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएकी सुनिताको डडेल्धुरामा पनि रगत नपाउँदा उपचारमा समस्या भएको डाक्टर नवराज जोशीले जानकारी दिए । रासस
 

Last modified on 2017-06-19 13:36:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts