आदित्यनाथले लगाए सुर्तीजन्य पदार्थमा प्रतिबन्ध



Download our app to get more features

लखनउ (भारत), १० चैत । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले मन्त्रिपरिषद्को कार्यविभाजनसँगै बुधबार थुप्रै महत्वपूर्ण निर्णय गरेका छन् । 

सरकारी भवनमा पान, सुर्ती सेवनमा प्रतिबन्ध लगाउन आदेश दिएका छन् । उत्तर प्रदेशको सचिवालय पुगेका योगीले कुनै पनि कर्मचारीले सरकारी भवनमा गुटखा, पान तमाखु सेवन नगर्न आदेश दिएका छन् ।
यसैगरी सरकारी भवनमा प्लास्टिकको प्रयोग रोक्न आदेश दिएका छन् । सम्बन्धित अधिकारीले बुधबार नै उक्त आदेश लागू गराउन सुरु गरिसकेका छन् ।

उत्तर प्रदेशको सचिवालय निरीक्षणका क्रममा आदित्यनाथले भित्ता र भुइँमा ती चिज देखेपछि यस्तो आदेश दिएका हुन् । उनले सरकारी अधिकारीलाई भने, ‘काम गर्ने संस्कृति बदल्नुहोस् । मैले नियमित परीक्षण गर्नेछु । पान र सुर्तीको खाएर फोहर भएको देख्नु नपरोस् ।’

उनले कार्यालय सफा राख्नुपर्नेमा जोड दिएका छन् । उनले आफूकहाँ आइपुगेका सबै फाइल पढ्न सहसचिवहरूलाई आदेश दिएका छन् । एक साताभित्र ती फाइल हेरेर जरुरी काम तत्काल गर्न र अनावश्यक फाइल अलग गर्नुपर्ने बताए । सबै फाइललाई अनलाइनबाटै काम गर्ने व्यवस्था मिलाउन पनि निर्देश दिए ।

मुख्यमन्त्री योगीको आदेश तत्काल आफ्नो जिल्लामा सुरु गरेको बरेलीका डिस्ट्रिक्ट मेजिस्ट्रेट सुरेन्द्र सिंहले जानकारी दिएका छन् । मंगलबार नै योगीले राज्यका प्रत्येक थाना र चौकीलाई स्वच्छ राख्न आदेश दिएका थिए ।


(आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ)

Last modified on 2017-06-19 14:32:21

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts