फेरिँदै दुर्गमको स्वास्थ्यसेवा, बाजुरामा पहिलोपटक विशेषज्ञसहित ६ चिकित्सक



Download our app to get more features

बाजुरा, १० चैत । केही अघिसम्म यहाँस्थित जिल्ला अस्पताल महिनौं डाक्टरविहीन हुन्थ्यो । पछिल्ला दिनमा नियमित चिकित्सक बस्न थालेका छन् । जिल्ला अस्पताल मात्र होइन, समग्र जिल्लाकै स्वास्थ्य सेवाले काँचुली फेर्दै छ । पहिलो पटक विशेषज्ञसहित ६ जना चिकित्सक बिरामी उपचारमा खटिएका छन् ।

अहेवको भरमा महिनौं सञ्चालन हुने जिल्ला अस्पतालमा दन्त उपचार सेवा समेत सुरु भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा अन्यत्र यो सेवा छैन । स्वास्थ्य मन्त्रालयद्वारा गरिएको सेवा प्रवाह मापनमा आव २०७२÷०७३ मा देशकै उत्कृष्ट छैटौं स्थान प्राप्त गर्न सफल भएको जिल्ला स्वास्थ्यमा पछिल्लो अवधिमा सेवा विस्तार हुँदै गएको छ । ‘आईसीयूमै राख्नुपर्ने अवस्था बाहेकका बिरामीलाई बाहिर रिफर नगर्ने प्रयास गरिरहेका हुन्छौं,’ विशेषज्ञ चिकित्सक डा. दुर्गाराज महर्जनले भने, ‘यहाँ नपाइने औषधि बाहिरबाटै झिकाएरै भए पनि जिल्लामै उपचार गर्ने प्रयत्न गरिरहेका छौं ।’ 

हाल जिल्लामा एक जना एमडीजीपी, एक जना दन्त सर्जन र अन्य ४ जना मेडिकल अधिकृतहरू कार्यरत छन् । यी मध्ये ५ जना जिल्ला अस्पतालमा र एक जना मेडिकल अधिकृत सदरमुकाम बाहिरको कोल्टी प्राथमिक केन्द्रमा सेवारत छन् । 

बाजुरामा पहिलोपटक डेन्टल सेवा आरम्भ भएको छ । उक्त सेवा प्रदान गर्न उपकरणसहित चिकित्सकसमेत उपलब्ध भएका छन् । यस्तै शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) स्थापना भएको छ । त्यसमार्फत शल्यक्रियाद्वारा प्रसूति गराउने सेवा समेत उपलब्ध भएको छ । ‘मृत्युको मुखमा पुगेका दूरदराजका थुप्रै महिलाहरूको ज्यान जोगिएको छ,’ डा.महर्जनले भने, ‘शल्यक्रिया गर्नुपर्ने अन्य बिरामीले समेत सामान्य अवस्थामा जिल्लाबाहिर जानैपर्ने बाध्यताको अन्त्य भएको छ ।’ 

यसअघि सामान्य बिरामीको जाँच तथा अन्यत्र र्पुयाएर उपचार गराउनुपर्दा आर्थिक व्ययभार खेप्नुपर्ने अवस्था थियो । एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान भइरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. रूपचन्द्र विकले बताए । प्रविधि र चिकित्सकहरूको संख्या थपिँदै गएकाले सामान्य सेवाका लागि पनि बाहिर जानुपर्ने बाध्यता घट्दै गएकोमा स्थानीय खुसी छन् । उपचारका क्रममा जिल्ला अस्पतालमा रहेकी स्थानीय मनमती विकले भनिन्, ‘पहिला भन्दा धेरै सजिलो रहेछ ।’ 

दैनिक सरदर सय जना बिरामी उपचारका लागि आउने जिल्ला अस्पतालमा हाल कम्प्युटर प्रणाली जडित प्रयोगशाला, ईसीजी, भिडियो एक्सरे लगायतका सेवाहरू समेत भर्खरै स्थापना भएका हुन् । गरिबी र मानव विकास सूचकांकमा पुछारमा परेको बाजुराका स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको भए पनि सकेसम्म सेवा प्रवाहमा कुनै कसर नराख्ने चिकित्सकहरू बताउँछन् ।

जिल्लाको स्वास्थ्य अवस्था सुधारका लागि विभिन्न दातृ निकायले समेत सहयोग बढाएपछि सहज भएको छ । स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटले आकस्मिक प्रसूतिलगायत अन्य शल्यक्रियाका लागि पहिलो पटक विशेषज्ञ चिकित्सक पठाएको छ । यस कार्यमा डा. महर्जन र डा. टीकाराम राईको टोली खटिएको छ । दन्त चिकित्सातर्फ डा. बुद्धि खडायत कार्यरत छन् । 

हाल जिल्ला स्वास्थ्य कार्यालयको प्रमुखमा डा. रूपचन्द्र विक सरुवा भएर आएका छन् । उनी यही जिल्लामै जन्मेहुर्केर विद्यालय शिक्षा पढेका दलित समुदायबाट डाक्टर भएका पहिलो व्यक्ति हुन् । ‘लोकसेवामा सफल हुनेबित्तिकै मैले आफ्नै जिल्लाको स्वास्थ्य सुधारका लागि योगदान गर्ने सोच बनाएर यहाँ आएको हुँ,’ प्रमुख डा. विकले भने, ‘कमजोर पूर्वाधार र व्यवस्थापकीय सुधार मुख्य चुनौती भए पनि आवश्यक सुधारमा केन्द्रित हुन्छौं ।’ 

दन्त चिकित्सक डा. बुद्धि खडायत समेत जिल्लाकै बासिन्दा हुन् । छात्रवृत्ति पाएर डाक्टर बनेका डा. खडायत समेत आफ्नो पेसागत जीवन जिल्लावासीकै सेवाबाट आरम्भ गर्ने उद्देश्यले बाजुरालाई पहिलो रोजाइमा पारेको बताए । यस्तै विशेषज्ञ चिकित्सक डा. महर्जन भन्छन्, ‘विभिन्न तथ्यांक तथा सञ्चार माध्यममार्फत यहाँका विपन्न समुदायको स्वास्थ्य अवस्था थाहा पाएरै केही सुधार्न सकिन्छ कि भनेर सबैभन्दा पुछारको जिल्ला रोजें ।’

 

(आजको कान्तिपुर दैनिकमा अर्जुन शाहले लेखेको समाचार)

Last modified on 2017-06-19 14:57:38

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts