फागुनभित्र काठमाण्डौमा दर्ता भए ८ सय स्वास्थ्यसंस्था, कहाँ गए अरु ६ सय ?



Download our app to get more features

काठमाण्डौं, ७ चैत । स्वास्थ्य संस्था दर्ता तथा नविकरण गर्न स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार फागुन मसान्तसम्म दर्ता भैसक्नुपर्ने भएपनि उपत्यकामा भएका करिव ६ सय स्वास्थ्य संस्था नविकरणका लागि काठमाण्डौं जिल्ला जनस्वास्थ्य कार्यालयमा आएनन् ।  

देशभर अवैधरुपमा सञ्चालनमा आएका स्वास्थ्य संस्थालाई मन्त्रालयले सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता तथा नविकरणका लागि फागुन मसान्तसम्मको समयसीमा दिएको थियो । 

फागुन मसान्तसम्म जिल्ला जनस्वास्थ्य कार्यालयमा नयाँ दर्ता तथा नविकरण गर्न ८ सयभन्दा धेरै स्वास्थ्य संस्थाहरु आएको काठमाण्डौका जनस्वास्थ्य निरीक्षक महेन्द्र गिरीले बताए । उनले भने ‘जसमध्ये धेरै नयाँ स्वास्थ्य संस्था दर्ता गर्ने रहेका छन् ।’ अन्तिम दिन अर्थात फागुन ३० गतेमात्रै नयाँ दर्ताको लागि ४० वटा निवेदन परेका थिए । 

गिरीका अनुसार दर्ता गरी नविकरण नगरेको लामो समय भएको हुँदा नविकरणमा जरिवाना धेरै तिर्नुपर्ने भएकाले पनि नयाँ दर्ता धेरै रहेको हुनसक्छ । मंसिर ७ गते भन्दा पहिला म्याद सकिएका स्वास्थ्य संस्थाले ५ गुणा दस्तुर तिरेर मात्र नविकरण गर्नुपर्ने थियो । 

निर्देशिका अनुसार फागुन मसान्त पछि नयाँ दर्ता तथा नविकरण पूर्णरुपले बन्द भएको छ । तर फागुन मसान्तपछि म्याद सुकिएका संस्थाको भने नविकरण हुने छ । ‘चैत १ गतेदेखि दर्ता तथा नविकरण प्रकृया पूर्णरुपले बन्द भएको छ’ गिरीले भने ‘फागुन मसान्तपछि म्याद सकिएका स्वास्थ्य संस्थाको भने नविकरण नियमित हुनेछ ।’ 

के छ निर्देशिकामा
मन्त्रालयले गत मङ्सिरमा अनुगमनका क्रममा अधिकांश स्वास्थ्य संस्था अवैध पाइएपछि स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका संशोधन गरेको थियो । निर्देशिका संशोधन गर्दै मन्त्रालयले कानुनी दायरामा आउन निर्देशन दिएको थियो । 
निर्देशिका अनुसार दर्ता तथा नवीकरण नभएका निजी अस्पताल, शिक्षण अस्पताल, क्लिनिक, पोलिक्लिनिक, फार्मेसी, प्रयोगशाला, नर्सिङ होम, स्वास्थ्य अनुसन्धान केन्द्र लगायतका स्वास्थ्य संस्थाले फागुनभित्रमा दर्ता तथा नवीकरण गर्नुपर्ने छ । फागुन मसान्तसम्म उक्त स्वास्थ्य संस्था दर्ता तथा नविकरण प्रकृयामा नआएमा खारेज हुने छन् । साथै त्यस्ता संस्थाका सञ्चालकलाई भविष्यमा कुनै पनि स्वास्थ्य संस्था सञ्चालन अनुमति प्रदान नगने व्यवस्थासमेत निर्देशिकामा उल्लेख गरिएको छ । 

स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा फागुन मसान्तसम्म स्वास्थ्य संस्थाले दर्ता नगरे स्वास्थ्य संस्थालाई मन्त्रालयले नचिन्ने बताएका छन् । ‘फागुन महिनाभित्र अनुमति नलिएकालाई मन्त्रालयले चिन्दैन्’ उनले भने, ‘मन्त्रालयले नचिन्ने स्वास्थ्य संस्थालाई जनताले पनि चिन्दैनन् ।’

नियमितरुपमा अनुगमन भएको दावी
जिल्ला जनस्वास्थ्य कार्यालयले हाल पनि ४ जना विशेषज्ञ चिकित्सकसहित नियमित रुपमा अनुगमन गरिरहेको बताएको छ । अनुगमनका क्रममा दर्ता तथा नविकरण नभएका संस्था भेटिए प्रहरीको सहयोगमा बन्द गर्ने जनस्वास्थ्य निरिक्षक गिरीले दावी गरे । उनले भने ‘दर्ता तथा नविकरण बन्द गरेको अवस्थामा  संस्था बन्द गर्नु बाहेक अर्को विकल्प छैन ।’ उनीहरुले पछि पनि उक्त संस्था नविकरण गर्न पाउने छैनन् । साथै अनुगमनका क्रममा नियमसंगत नभएका संस्थाहरु भेटिएमा पनि बन्द गरिने गिरीले बताए । 

कति छन् उपत्यकामा स्वास्थ्य संस्था
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार उपत्यकामा मात्र करिव १६ सयको हाराहारीमा स्वास्थ्य संस्था रहेको अनुमान छ । तर फागुन मसान्तसम्म नयाँ तथा नविकरण गरी ८ सयको संख्यामा मात्र दर्ता भएका छन् । जनस्वस्थ्य निरीक्षक गिरीका अनुसार दर्ता भएका ६ सय पुराना स्वास्थ्य संस्था नविकरणका लागि आएकै छैनन् । 

कहाँ गए ६ सय स्वास्थ्य संस्था
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार दर्ता भएका केही स्वास्थ्य संस्था बन्द भइसकेका छन् । निर्देशिका अनुसार लामो समयसम्म नविकरण नगरेको हुँदा जरिवाना धेरै तिर्नु पर्ने भएकाले केही स्वास्थ्य संस्थाहरु नयाँ दर्ता प्रकृयामा आएका छन् । उनीहरुलाई नविकरण गर्नु भन्दा नयाँ दर्ता प्रकृयामा जान सजिलो हुने देखिएको छ ।

कुन क्षेत्रबाट कति दर्ता भए 

जनस्वास्थ्य कार्यालयले क्षेत्र अनुसार दर्ता रेकर्ड राखेको छ । धेरै स्वास्थ्य संस्था रहेको चाबहिल क्षेत्रमा अपेक्षाकृत रुपमा दर्ता प्रकृयामा आएका छैनन् त्यस क्षेत्रबाट ७४ वटा मात्र स्वास्थ्य संस्था दर्ता प्रकृयामा आएका छन् । त्यसैगरी नारायणगोपाल चोक अर्थात चक्रपथ क्षेत्रबाट ८३, गोंगबु क्षेत्रबाट १ सय ४२, बालाजु क्षेत्रबाट ५४, स्वयम्भु क्षेत्रबाट २२, कलंकी क्षेत्रबाट ५१ बल्खु क्षेत्रबाट २६ रहेका छन् । दर्ता प्रकृयामा आएका संस्थाको रेकर्ड राख्ने काम भइरहेको हुदा यसमा केही संख्या बढ्न सक्ने गिरीले बताए ।

Last modified on 2017-03-21 10:29:46

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts