मूत्र अवरोधबाट मुक्ति : प्रोस्टेट शल्यक्रिया



Download our app to get more features

संसारका प्रायः सबै देशको तथ्याङ्कले २१ सौं शताब्दीमा वृद्धहरूको संख्या द्रुतगतिले बढेको देखाएको छ । वृद्धहरूको संख्यात्मक वृद्धिमा जति ठूलो योगदान विकसित देशहरूले र्पुयाएका छन्, त्यसको अनुपातमा विकासोन्मुख देशहरूले र्पुयाएको हिस्सा ज्यादै धेरै छ । सरकारी जागिरबाट अवकाश पाउने उमेर धेरै देशमा ६० को वरपर भएकाले यो अवस्थालाई वृद्ध भनिने गरे पनि हाल यो उमेरका थुप्रै मानव ऊर्जा पूर्ण हुने भएकाले नयाँ कार्यमा संलग्न भएर जीवनमा नौलो अनुभव प्राप्त गरिरहेका हुन्छन् । विकसित देशमा प्रायः ६५ वर्ष नाघेपछि मात्र वृद्ध भन्ने गरिन्छ भने विकासोन्मुख देशमा ६० वर्षपछि नै वृद्ध मानिन्छ । ८० वर्ष माथिकालाई ‘वृद्ध माझका पनि वृद्ध’ भनेर पनि सम्बोधन गर्ने गरिन्छ ।

नेपालको सन्दर्भमा पनि वृद्धहरूको सङ्ख्यामा पछिल्लो ३० वर्षमा निकै ठूलो वृद्धि भएको छ । आउँदा ३० वर्षमा संसारका प्रायस् धेरै देशमा जस्तै नेपालमा पनि वृद्धहरूको संख्या द्रुतगतिले वृद्धि हुनेछ । जनसंख्या प्रक्षेपण अनुरूप सन् २०५० मा संसारमा बसोबास गर्नेको संख्या १० अर्ब पुग्नेछ । तीमध्धे ८० वर्ष र त्योभन्दा बढी उमेरका पुरुषको संख्या २२ करोडभन्दा पनि धेरै हुनेछ । 

नेपालको सन्दर्भमा हालको करिब ३ करोड जनसंख्या २०५० मा ३ करोड ६० लाखभन्दा बढी हुनेछ । हाल नेपालमा ६० वर्षभन्दा बढी उमेरका पुरुष करिब १२ लाख छन् । तीमध्ये ५८ हजार पुरुष ८० वर्ष वा त्योभन्दा पनि बढी उमेरमा प्रवेश गरिसकेका छन् । २०५० मा गएर ६० वर्ष वा त्योभन्दा बढी उमेरका पुरुषको संख्या हालको १२ लाखबाट बढेर २६ लाख पुग्ने अनुमान छ । ८० वर्षभन्दा बढी उमेरका नेपाली पुरुषको संख्या सन् २०५० मा अहिलेको ५८ हजारबाट वृद्धि भएर ३ लाख ६० हजार नाघ्ने प्रक्षेपण गरिएको छ । 

उमेरजन्य समस्या 
६० वा ८० वर्षभन्दा माथिका पुरुषमा आउँदो ३० वर्षमा नेपालमा हुनसक्ने आँकडा प्रस्तुत गर्नाको लक्ष्य के हो भने पुरुषमा यो उमेर प्रोस्टेट ग्रन्थिको कारण हुने मूत्र अवरोधको समय हो । ८० वर्ष वा माथिका पुरुषमा मूत्र समस्याले झनै उग्ररूप लिएर मृगौलामा समेत ज्यादै नराम्रो असर गर्ने सम्भावना वृद्धि हुँदै जान्छ । यो उमेरका पुरुषमा हर्निया, विभिन्न अर्वुद रोग, मूत्र तथा फोक्सो संक्रमणजस्ता रोग प्रायः देखा पर्छन् । प्रोस्टेट संलग्न मूत्र अवरोधमा निम्न लक्षण देखा पर्छन् । पिसाब फेर्न गएपछि पर्खेर कनेपछि मात्र पिसाब हुनु, पिसाबको धारा मसिनो तथा लुलो हुनु, अन्त्यमा थोपा—थोपा गरेर पिसाब खस्नु र पिसाब फेरिसकेपछि निख्रेको अनुभव नहुनु, राति बारबार पिसाब फेर्न उठिराख्न पर्नु, पिसाब फेर्न जाँदाजाँदै रोक्नै नसक्नु वा चुहिनु जस्ता समस्याले पुरुषलाई आफ्नो दैनिक कार्यमा निकै ठूलो बाधा र्पुयाउन सक्छ । यस्ता समस्या भएका पुरुषमध्ये धेरैले औषधीको प्रयोगपछि केही राहत पाउँछन् । तर अर्को थरीका पुरुष औषधी उपचारबाट सन्तुष्ट नभएर शल्य उपचार अपनाउन बाध्य हुन्छन् । 

शल्य उपचार कहिले ?
प्रोस्टेट ग्रन्थि ४० ग्रामभन्दा बढी भएका र ग्रन्थिको बीचको भाग बढेर पिसाब थैलीभित्र एक सेन्टिमिटर वा बढी घुसेमा मूत्र अवरोध हुने भएकाले र औषधी उपचारबाट यस्ता बिरामीले खासै फाइदा उपलब्ध नगर्ने भएकोले शल्य उपचार अनिवार्य हुन्छ । त्यस्तै प्रोस्टेट संलग्न मूत्र अवरोध भएका पुरुषमा मूत्र संक्रमण बारबार देखापरे, मूत्र थैलीमा पत्थरी जमे, पिसाब फेरिसकेपछि थुप्रै पिसाब बाँकी रहेर मूत्रथैली तन्केर राम्रोसँग खुम्चिन नसक्ने अवस्थामा पुगे, मूत्रवाहिनी नली तथा मृगौला फुले, राति सुतेको बेला थाहा नै नपाएर पिसाब चुहिने भए शल्य उपचार अपनाउनुको विकल्प हुन्न । प्रोस्टेट ग्रन्थिले गर्दा मूत्रथैलीमा फुलेका रगतका नसा फुटेर पिसाबमा रगत गए, यो अस्थामा दुर्बिन हालेर पिसाब थैली जाँचेर क्यान्सर छरछैन भन्ने यकिन गर्नुपर्छ । मूत्र थैलीको क्यान्सर नदेखिए पनि बारम्बार पिसाबमा रगत जाने गरे प्रोस्टेट शल्यक्रिया गराउनुपर्छ । एक्कासी पिसाब रोकिएमा प्रोस्टेट ग्रन्थिको तौल ठूलो—सानो जत्रै भए पनि शल्य उपचार अनिवार्य हुन्छ । 

युरो सर्जनलाई चुनौती
६० वर्ष वा बढी उमेरका पुरुषको सङ्ख्यात्मक वृद्धि हुँदै आएकाले नेपालमा उनीहरूमा देखापर्न सक्ने प्रोस्टेट संलग्न मूत्र अवरोध तथा प्रोस्टेट क्यान्सरको उपचार कसरी सुलभ तथा प्रभावकारी पार्ने भन्ने प्रश्न युरो सर्जनमाझ टडकारो छ । हाल उपलब्ध प्रोस्टेट ग्रन्थिको शल्यक्रियाका विभिन्न विधिमध्ये केही तरिका विना चिरेर विद्युतीय वा लेजरको ऊर्जा प्रयोग गरेर सम्पन्न गर्न सकिन्छ । त्यस्तो बाहिरी घाउरहित शल्यक्रियापछि पुरुष केही दिनमै अस्पतालबाट सन्तोषजनक अवस्थामा घर फर्कन सक्छ । हाल यस्तो प्रभावकारी सेवा प्रदान गर्न मिल्ने भएकोले २० सौं शताब्दीको जस्तो डर र त्रासका साथ शल्यक्रियाबाट विमुख भएर मूत्र अवरोधबाट हुने असजिलो र असुविधा सहिराख्नुपर्ने बाध्यता छैन । 

प्रोस्टेट शल्यक्रियाको निम्ति बिरामीको शरीरमा देखापरेका सहव्याधि तथा कमजोर अवस्थाको सक्दो बढी व्यवस्थापन अनिवार्य हुन्छ । त्यसैले यस्ता उमेरका बिरामीको उपचारलाई बहुविशेषज्ञीय टोली जाँच, उपचार तथा निगरानीमा सञ्चालन गर्नुपर्छ । 

मेरो पछिल्लो ३ वर्षको व्यक्तिगत अनुभवले के पनि भन्छ भने ‘वृद्ध माझका वृद्धहरु प्रायः अस्पताल भर्ना हुनआउँदा पिसाब पुरै रोकिएर वा राति सुतेको बेला पुरा पिसाब चुहिने भएर आउने गर्छन् । मूत्र संक्रमण र मृगौलाको कार्यक्षमतामा ह्रास भएको अवस्था उनीहरूमा प्रायस् देखिने गर्छ । उनीहरूमध्ये धेरैको हर्निया, पिसाब थैलीमा पत्थरी र मूत्रथैलीको तथा प्रोस्टेट ग्रन्थिको क्यान्सर पनि देखापर्ने गर्छ । त्यसैले यस्ता बिरामीको उपचारमा बहुविशेषज्ञहरूलाई समावेश गरेर शल्यक्रिया पनि प्रायस्जसो एकैपल्टमा २ वा बढी थरीको गर्नुपर्ने हुन्छ । 

३ वर्षमा संग्रह गरिएको ५० भन्दा बढी बिरामीको आँकडाले देखाउँछ कि पूर्ण तयारीपछि गरिएको शल्यक्रियापछि बिरामीले सजिलोसंँग मूत्र सञ्चालन गर्न सक्छन् । यी बिरामीको उमेर ८० देखि १०१ वर्षसम्म भए पनि करिब ५० प्रतिशत बिरामीमा २ वा बढी शल्यक्रिया एकैसाथ गरिएको थियो र तिनीहरू यसलाई ग्रहण गर्न योग्य थिए । बिरामीहरू जो प्रोस्टेट शल्यक्रिया पूर्व बारबार राति उठ्न बाध्य हुन्छन् वा पिसाब लागेपछि रोक्न सक्दैनन्, तिनीहरूमध्ये सबैमा शल्यक्रिया पश्चात यी लक्षण पुरै भने हाराउँदैनन् । त्यसैले शल्यक्रियापछि थप औषधी उपचारबाट यी लक्षण कम गर्ने प्रयत्न जारी राख्नुपर्छ । 

यो भन्दा अत्युक्ति नहोला कि चिना अर्थात् जन्मकुण्डली अनुसारको उमेर जति धेरै भए पनि बिरामीलाई प्रोस्टेट संलग्न मूत्र अवरोधको शल्य उपचारको फाइदाबाट बञ्चित गर्न मिल्दैन । सर्वप्रथम बिरामीलाई बहुविशेषज्ञको टोलीले तयार गरेर उपयुक्त समयमा प्रोस्टेट शल्यक्रिया गरे मूत्र अवरोध हटाउन पूर्ण सफलता प्रप्त गर्न सकिन्छ ।
(आजको कान्तिपुर दैनिकबाट)

 

Last modified on 2017-06-19 15:44:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts