चैतमा ३० जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने 



Download our app to get more features

काठमाण्डौं ३०, फागुन । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चैतमा हात्तीपाईले रोगविरुद्धको औषधि खुवाउने भएको छ । महाशाखाले ३० वटा जिल्लामा दुई चरणमा गरी औषधि खुवाउने तयारी गरेको हो । 

रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन र रोग लागिसकेकालाई पनि जटिल हुन नदिन औषधि खुवाउने अभियान सञ्चालन गर्न लागेको महाशाखाले जनाएको छ । महाशाखाले पहिलो चरणमा चैतको ५, ६, ७ गते र दोस्रो चरणमा चैतको १७, १८ र १९ गते औषधि खुवाउने अभियान सञ्चालन गर्न लागेको सोमबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पहिलो चरणमा २५ र दोस्रो चरणमा ५ जिल्लामा औषधि खुवाउने महाशाखाका डा. भेसराज पाख्रेलले जानकारी दिए । हात्तीपाईले रोग लामखुट्टेको टोकाईबाट ‘उच्चेरेरिया बाँन्क्रोफ्टी’ नामक परजिवीबाट लाग्ने गर्छ । 

पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ्ग, म्याग्दी, पर्वत, लमजुङ्ग, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुलामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ । त्यसै गरी दोस्रो चरणमा झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने महाशाखाले जनाएको छ ।  महाशाखाले ३० जिल्लामा एक करोड ८ लाख १३ हजार ७ सय २६ जनामा औषधि खुवाउने लक्ष्य लिएको छ ।  

कस्ले खानु हुँदैन हात्तीपाईले रोगको औषधि

हात्तीपाईले रोगविरुद्धको औषधि दुई वर्ष नपुगेका केटाकेटीहरु, गर्भवती र ७ लिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीहरुले खान नहुने महाशाखाले जनाएको छ । यो औषधि कुनै शंका विना ढुक्क भएर सेवन गर्न सकिने एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भिम आचार्यले बताए । उनले भने ‘औषधि सेवनपछि हात्तीपाईलेका परजिवी शरीरमा भएमा कसै कसैलाई ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, वाक वाकी लाग्ने जस्ता सामान्य असर देखिन सक्छ तर त्यस्तो भएमा आत्तिनु हुदैन ।’ 

महाशाखा प्रमुख आचार्यले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने कार्यक्रममा ९ ख संर्घष समितिले कुनै अवरोध नपु¥याउने प्रतिवद्धता जनाएको जानकारी पनि दिए । ‘आन्दोलनरत स्वास्थ्यकर्मीहरु विभिन्न सात वटा ट्रेड युनियनहरुले अभियानमा अवरोध नपु¥याउने प्रतिवद्धता जनाएका छन् ।’ डा. आचार्यले भने । 

विश्व स्वास्थ्य संगठनले हात्तीपाईले रोग विश्वबाट सन् २०२० सम्म निर्मूल पार्ने लक्ष्य लिएको छ । तर नेपालले सन् २०१८ सम्ममै निर्मूल पार्ने लक्ष्य लिएको महाशाखा प्रमुख आचार्यले बताए । नेपालमा सन् २००३ देखि ६१ जिल्लामा औषधि खुवाउन सुरु गरिएको हो । हाल ३१ जिल्लामा यो अभियान पुरा भइसकेको छ ।

नेपालमा हात्तीपाइले रोगको अवस्था
नेपालमा हात्तीपाईले रोगको अवस्था तथा बिरामीको संख्या पत्ता लगाउन महाशाखाले सन् २००१, २००५ र २०१२ गरेर तीन पटक सर्भे समेत गरिसकेको छ । सुरुको अवस्थामा करिव १३ प्रतिशतमा हात्तीपाईले रोग देखिएको थियो । हाल यसका बिरामीको संख्या एकिन छैन । तर, औषधि खुवाउदै आएको मध्ये करिव १० हजारमा हात खुट्टा सुन्निएको र करिब एक लाखमा हाइड्रोसिल भएका बिरामी रहेको डा. तुल्सी अधिकारीले जानकारी दिए । 

 

Last modified on 2017-03-14 12:48:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts