नेपाल फर्मा एक्स्पो सरोकारवालाका लागि एउटा उत्सव हो : अध्यक्ष घिमिरे



Download our app to get more features

 शुक्रबारबाट राजधानीको भृकुटिमण्डपमा नेपाल औषधि उत्पादक संघको आयोजनामा छैठौं फर्मा एक्स्पो सुरु हुँदैछ । नेपाल र विदेशका समेत विभिन्न औषधि उत्पादक, उपकरणका निर्माता, निर्यातकर्ता तथा बजारीकरणमा संलग्न कम्पनी एवं संस्थाहरु एक्स्पोमा सहभागी हुँदैछन् । एक्स्पोले नेपाली औषधिबजारलाई अन्तराष्ट्रियकरण गर्न र नयाँ प्रविधि र ज्ञानलाई आत्मसात गरेर गुणस्तरीय औषधि उत्पादन एवं बजारीकरणमा सघाउ पुग्ने यसका सरोकारवालाले बताएका छन् । फर्मा एक्स्पोले नेपाली औषधि बजारलाई विस्तार गर्न कसरी सहयोग गर्छ भनेर हामीले औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेलाई सोधेका छौं ।

छैटौं फर्मा एक्स्पोको बारेमा बताइदिनुस न ? 

नेपाल फर्मा बजारको लागि अब सानो बजार रहेन ।  आत्मनिर्भर बजारका रुपमा विकास भैसकेको छ । हिजोको जस्तो अवस्था छैन । ५० वटाभन्दा बढी औषधि कम्पनीहरु छन् । हरेक दिन नयाँ प्रविधि र विकासक्रमलाई हामीले आत्मसात गरेर हिडेनौं भने पछि परिन्छ । 

सानो सानो प्रविधिका बारेमा पनि थाहा नहुँदा हामी पछि परीरहेका छौं । त्यसैले विश्वबजारमा औषधिको अनुसन्धान, प्रशोधन र उत्पादनमा कस्ता टेक्नोलोजी आएको छ भन्ने थाहा पाउन कि त मेला गर्नुभयो कि त इन्टरनेटमा खोज्नुपर्यो । त्यसैले हामीले नेपालमै नियमित फर्मा एक्स्पो गरिरहेका छौं । यहाँ नहुँदा हामी भारतमा, चीनमा वा अरु देश जानुपर्छ । 

नेपालका सबै सरोकारवाला उता जान सक्दैनन् ।  एक्स्पो आयोजना गरेर हामीले त्यहाँ हुने कुरा नेपालमै ल्याउन खोजेका हौं । फर्मा एक्स्पोमा विदेशी आएर आफ्ना प्रविधि र विकासका सूचकलाई प्रर्दशन गरिरहेका हुन्छन् । उनीहरुले आफ्नो टेक्नोलोजी सेयर गर्नु पाउँछन् । फर्मासिस्टका विद्यार्थी एवं व्यवसायीहरुका लागि सिक्ने मौका पनि हो । विदेशमा विकास भएको प्रविधि नेपाली चिकित्सकले देख्न सक्छन् । साइन्सका विद्यार्थीले अवलोकन र भ्रमण गर्न सक्छन् । 

भोलिका दिनमा नेपालमै औषधि समिश्रण र उत्पादनको भविष्य रहेछ भन्ने कुरा फर्मा एक्स्पोबाट थाहा पाउन सक्छन् । साथै नेपालमा भइरहेको विकास देखेर विदेशमा जाने फर्मासिस्टहरु पनि नेपालमै रोकिएर व्यवसायिक भविष्य खोज्न सक्छन् । विगतको एक्स्पोमा हामीले यस्तै महसुुस गरेका छौं । यसबाट धेरै ज्ञान आदानप्रदान गर्न सहयोग भएको छ । एक्स्पोले हाम्रो बजार पनि विस्तार गर्न सहयोग गरेको छ । यसअर्थमा फर्मा एक्स्पो यसका सरोकारवालाका लागि एउटा उत्सव हो । 

एक्स्पोबाट नेपाली कम्पनीलाई कसरी फाइदा पुग्छ ?
एक्स्पोमा विदेशका विभिन्न कम्पनीबाट आएका फर्मासिस्टहरु हुन्छन् । कसैले केही बुझ्न चाहेमा उनीहरुले जानकारी दिन्छन् । नेपालमा भइरहेका उत्पादनहरुको प्रर्दशनी भएको हुन्छ । उत्पादन हुँदै आएको औषधि, उपकरणको बारेमा पनि जानकारी दिइएको हुन्छ । धेरै जागिरको बारेमा जानकारी लिन आएका हुन्छ । त्यसको जानकारी दिइन्छ । 

हाम्रो स्टलमा आएर बुझ्दा हाम्रो प्रोफाइल बढ्न जान्छ । प्रविधि, प्रयोग र बजारका दृष्टिकोणले नेपाली उत्पादक अन्तराष्ट्रिरयकरण हुन सघाऊ पुग्छ । नेपाली बजारको इमेज बढ्ट । प्रविधिहरुका बारेमा तुरुन्तै थाहा हुन्छ । पहिलेका हाम्रो एक्स्पो पछि विश्व स्वास्थ्य संगठनले हामीलाई पत्र पठाएको थियो । सबै कम्पनी विस्तारै जिएमपीमा गए जाँदैछन्  । एक्स्पो पछि हामीले कच्चा पदार्थ राम्रो स्थानबाट  पाउन थाल्यौं । नयाँ नयाँ सप्लायर, डिजायनर भेट्यौं । यो सबै एक्स्पोकै देन हो । 

एक्स्पोले नेपाली औषधि उत्पादनको प्रयोगलाई कत्तिको बढाउँछ ? यसले विदेशी उत्पादनलाई नेपालबाट क्रमिक रुपमा विस्थापित गर्नसक्ला ? 

जती धेरै चिकित्सकलाई अवलोकन गराउनका सकिन्छ । त्यतिनै मेलाको सान्दर्भिकता र औचित्य पुष्टि हुन्छ । चिकित्सकहरुले हाम्रो उत्पादन र कच्चा पदार्थको बारेमा प्रत्यक्ष देख्न पाउँछन् । कुन कम्पनीले कुन गुणस्तरको औषधि उत्पादन गरेको छ भन्ने थाहा पाउँछन् । उनीहरुले मेलामा आएर सबै चीज बुझ्न सक्छन् । हाम्रा प्राविधिक, फर्मासिस्ट, विज्ञहरुसँग छलफल र विचार विमर्श गर्न पाए । 

त्यस्तै हामीले पनि विदेशी प्रविधिहरुको बारेमा ज्ञान लिन  पाउँदा हाम्रो दायरा बढ्न जान्छ । जसले गर्दा विस्तारै नेपाली औषधिको अन्तरािष्ट्रयकरण र कालान्तरमा देशभित्रै यसको आत्मनिर्भरता बढ्न जान्छ । 

एक्स्पोमा सरकारी प्रोत्साहन कस्तो छ ?
सरकारले अहिले आएर यस्ता एक्स्पोको मुल्य बुझेको छ । यस्ता मेलालाई प्रवद्र्धन गर्ने नीति लिएको छ । यसले राष्ट्रिय गौरव बढाउँछ भन्ने तथ्यलाई आत्मसात गरेको छ । सरकारी नियामक निकाय औषधि व्यवस्था विभागले हामीसँग सिधै सहकार्य गर्न थालेको छ । जसले गर्दा हाम्रो औषधिको गुणस्तरीय उत्पादनमा सहयोग पुगेको छ । यसले नेपाली बजारलाई विश्व समुदायमा विस्तार गर्छ भन्ने तथ्यलाई राज्यले अहिले आएर बुझेको छ । जुन हाम्रा लागि थप प्रोत्साहन हो । 

औषधि उत्पादनको समग्र प्रकृयामा आश्रित जनशक्ति कति छन् देशमा ? 
औषधिको मोल्युक्यूल देखि अनुसन्धान, उत्पादन र बिक्रिवितरणमा समेत गरि करिब १० हजार मानिस यससम्बन्धी पेशामा आवद्ध छन् । पहिले पहिले औंलाले गन्ने मान्छे औषधिको क्षेत्रमा थिए । अहिले यसका विषयगत अध्ययन, बढ्दो बजार, कारोबार र रोजगारीका कारण नयाँ पुस्तापनि यो क्षेत्रमा भविष्य खोजिरहेका छन् । 

फेरी मेलामै जाउँ, आर्थिक कारोवार चाहीँ कस्तो हुन्छ मेलामा ? 
अन्य एक्स्पोमा जस्तो हाम्रो एक्स्पोमा प्रत्यक्ष कारोबार हुँदैन । हामीले कुनै मेशिन किनेका छौ भने एक्स्पोमा ल्याएका बेलामा केही छुट मिल्छ । अब एक्स्पो समयमै कुनै कम्पनीले उपकरण, प्रविधि सप्लाइ गर्दैछ भने उसले त्यहाँ देखाएर विज्ञापन गर्नसक्छ । तर एक्स्पो बिक्रि गर्नैका लागि चाहीं भएको होइन । हाम्रो एक्स्पोमा बिक्रि हुने भन्ने हुँदैन । प्रविधि र प्रयोगका बारेमा ज्ञान आदानप्रदान गर्नेमात्र हो । 

छैठौं संकरणसम्म आउँदा कस्तो  छ फर्मा एक्स्पोको रेस्पोन्स ? 
एकदमै राम्रो छ । रेस्पोन्स बढ्दै गएको छ । पैसाको कुरा आउँदैन, स्टलको भाउ महङ्गो भयो भन्ने हुँदैन । कम्पनी जति धेरै भए प्रचार प्रसार गर्न उतिनै सजिलो हुन्छ । पहिलो दोश्रो संस्करणसम्म कतिपयले यसको औचित्य र महत्वका बारेमा बुझेका थिएनन् । तर अहिले यसको आश्यक्ता सबैलाई महशुस भैसकेको छ । 
 
नेपालमा अझ पनि औषधि व्यवस्था विभाग र चिकित्सकले समेत नेपाली औषधिलाई विश्वास गर्ने वातावरण बनेको छैन भन्ने गरिन्छ । यो धारणालाई एक्स्पोले परिवर्तन गराउँछ ?  
सही प्रश्न गर्नुभयो । एक्स्पोले यस्तो मानसिकतामा धेरै परिवर्तन ल्याएको छ । हामीले सुरु सुरुमा नेपाली उत्पादन निकाल्दा चिकित्सकले हामीलाई विश्वास गर्दैनथे । २० वर्ष पहिला म आफै मार्केटिङ्ग अफिसर भएर काम गर्दाको अवस्था थियो ।  अहिले नेपाली औषधिको बजार रामो भएको छ । उत्पादनमा भित्रिएका नविन र उच्चस्तरी प्रविधिले हामी विश्वबजारमै प्रतिस्पर्धा गर्ने अवस्थामा पुगिसकेका छौं । सबै चिकित्सकले नेपाली उत्पादनमा विश्वास गरेका छन् । उनीहरुले नेपाली औषधिनै बिरामीलाई सिफारिस गरिरहेका छन् । 

हामीले यहाँको बजार र सरोकारवालालाई नयाँ औषधिको बारेमा जानकारी दिँदै आएको छौं । चिकित्सकहरुलाई लक्षित गरि सेमिनारहरु गरिरहेका छौं । अब विस्तारै नेपाल सरकारले सहयोग गरेमा हामी औषधि निर्यात गर्नसमेत सक्षम भैसकेको छौं । त्यस किसिमका औषधि कम्पनी, प्रविधि र प्रयोगमा बढावा आएको छ । 

छैठौं एक्स्पो भइरहँदा नेपाली कम्पनीलाई अध्यक्षको नाताले के भन्नु हुन्छ ?
नेपाली कम्पनीलाई एक्स्पो भएपनि नभएपनि हामी नेपाली हौ, नेपाली औषधि बिरामीले आफै किनेर खाँदैनन्, चिकित्सकको सिफारिस चाहिन्छ । हामीले चिकित्सकलाई पनि गलत बाटो देखाउनु हुँदैन । राम्रो औषधि उत्पादन गरौं नेपालीलाई मध्य नजर गरेर मुल्य राखौं, गुणस्तरमा सम्झौता नगरी कम मूल्यमा दिन सकौं ।

हामीले डिल बोनसको लफडा छोडौं । डिल बनोसले गर्दा भएको भन्दा धेरै बदनाम भएका छौं । विदेशी कम्पनीसँग उचित मूल्य र गुणस्तरमा ध्यान दिउँ । 

पैसा कमाउने नाममा गलत धन्दा नगरौं । केही समयअघिमात्रै पनि दुईवटा कम्पनीलाई कारवाही भएको छ । सञ्चालक अहिलेसम्म पनि फरार छन् । यदि गल्ती छैन भने किन फरार भएका हुन् त ? त्यसैले गलत काम नगरौं पूर्ण व्यवसायिक भएर काम गर्दा हाम्रो बजार सुनिश्चित छ । कसैसँग आँत्तिनु पर्दैन । 

यस्तै घटनाहरुले गर्दा समग्र बजारकै प्रतिष्ठामा आँच आएको छ नी !
घरको परिवारमा एउटाले गलत गर्यो भने परिवार नै गलत भएको सन्देश जान्छ । तर, यसमा सबै जनताले बुझिदिनु पर्यो, गलतलाई गलत नै भनौं । तर यहाँ राम्रा कम्पनीपनि छन् । सबै स्वदेशी कम्पनीलाई गाली गर्दा देशभित्रका उद्योग चल्न सक्दैनन् । 

देशमा इन्डस्ट्रिज चाहिन्छ । धेरैलई रोजगारी दिएको छौं । सरकारलाई ट्याक्स तिरेका छौं । त्यसैले कानुनभित्र राखेर स्वदेशमै औषधिको उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । हामी आत्मनिर्भर बन्न अझ थुप्रै मेहेनत गर्न आवश्यक छ । 

नेपालमा ५० वटा कम्पनी छन् तर करिब ८-१० बटाजति मात्र टिकेर चलेको छन् भनिन्छ नि हो ? 
यसमा हामी आफै चिन्तित छौं ।  पक्कैपनि बजारमा ८÷१० वटा कम्पनीको पकड धेरै छ । त्यसमा कोही हाम्रो दोष छैन । औषधि उद्योग खोल्दा नै सरकारले गुणस्तर, प्रविधि र लगानीको एउटा मापदण्ड बनाउनुपर्ने हो । पहिले औषधि कम्पनी खोल्न दिने अनि लगानी गरिसकेपछि च्याप्ने काम हुन्छ ? सबैलाई एउटा स्ट्याण्डर्डमा राख्नुपर्छ । 

ठूला कम्पनीपनि सानोबाट ठूलो भएको हो । मेरा आफ्नै एशियन फर्मास्युटिकल्सपनि पहिले ४÷५ करोडमा कम्पनी खुल्छ भनेका थियौ तर पछि १२ करोड लगानी लाग्यो । औषधि व्यवस्था विभागले यस्ता कुरामा प्रोत्सान गरेको पाइँदैन । लगानी थप्दै जानु पर्छ । गुणस्तरमा सरकारले नियमन गर्नुपर्छ । त्यसपछि आफसेआफ राम्रो उत्पादन गर्ने कम्पनी माथि पुगिहाल्छ । सरकारले पहिल्यै कम्पनी खोल्दैमा कडाइ गर्नुपर्यो । पछि गएर अवरोध गर्नुभएन । लगानी गर्नेले पनि हचुवामा लागनी गर्नुभएन । औषधि बजारको सबै विशिष्ठतालाई बुझेरमात्र यसक्षेत्रमा हात हाल्नुपर्यो । 

फर्मा एक्स्पोले सरकारलाई कुनै दबाव दिन्छ ? औषधि कम्पनी राम्रो बनाउन । 
बौद्धिक र नैतिक दवाब दिन्छ । हामी आफै व्यापारी हांै दवाव दिन सक्दैनौं । हाम्रो समुह पनि कम छ । हामीले दिने दवाव भनेको बौद्धिक दवाव हो । फर्मा एक्स्पोले बौद्धिक दवाव दिन्छ । 

अर्थ मन्त्रालयसँगको छलफलमा यति ठूला मेशिन ल्याउनु भएको रहेछ हामीलाई थाहा नै थ्एिन कम्पनी हेरौ भन्नुभयो । बाहिरी देशमा ३५ देखि ४० बटा विभिन्न शीर्षकमा औषधि कम्पनीलाई सहयोग गर्ने निकाय छ । जसले अनुसन्धान, उत्पादन एवं बजारीकरण गर्न सहयोग गर्छ । तर नेपालमा त्यस्तो छैन । निजी क्षेत्रले पैसा कमायो भनेर रिस गर्नेमात्र छन् । यस्तो मानसिकतामा परिवर्तन आउन जरुरी छ । 

औषधिको मुल्यमा टेर्नुभएन नि यहाँहरुले सरकारलाई हैन ? 
औषधिको मुल्य कन्ट्रोल भन्ने शब्द नै गलत भयो । गलत धारणाबाट काम किन गर्ने ? सकरात्मक विश्लेषण गरौं न हामी राज्यको कानुन मान्ने व्यवसायी हौं । हामीले खाली गणितीयमात्र नभई वैज्ञानिक तवरबाट मूल्य निर्धारण गर्न भनेका छौं । नेपालमा अझै ६० प्रतिशत औषधि बाहिरबाट आउछ ४० प्रतिशतमा मात्र हाम्रो नियन्त्रणमा छ । 

४० प्रतिशतलाई पेल्नमात्र कानून ल्याउने ? नेपाल औषधि लिमिटेडबाट उत्पादन गरेर यतिमा तयार हुन्छ भन्यो भने हामी मान्न तयार छौं । सरकारले गर्नुपर्छ । सरकारले वैज्ञानिक अध्ययन गरेर यसको मुल्याङ्कन ऽ समिक्षा गर्नुपर्यो । मन्त्रालयमा बसेर मुल्य निर्धारण गर्नु भएन । कती नबुुझेर न्यूनतम मूलयको पछि लागेका छन् कती भने बुझेर पनि नाटक गरिरहेका छन् । 

Last modified on 2017-06-11 13:29:26

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts