पाल्पामा मातृशिशु मृत्युदर न्यून



Download our app to get more features

रामपुर (पाल्पा), १४ फागुन । पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृशिशु मृत्युदरमा कमी आएको छ । 

आमा सुरक्षा कार्यक्रमबाट प्रभावित भई हिजोआज स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ग्रामीण तहदेखि सहरी क्षेत्रमा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले मातृ शिशु, नवजात शिशु र गर्भवती तथा सुत्केरी महिलाको मृत्युदरमा न्यूनता आएको छ । 

विसं २०६८ बाट सुरु भएको यस कार्यक्रमले स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनाको विकास महिलामा जाग्दै गएको छ । पहिले पहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुन हिच्किचाउने महिला पछिल्लो समय परिवारको साथमा स्वास्थ्य संस्थामा सुत्केरी हुन जान थालेका छन् । 

जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकी गरी जिल्लाभरिमा कुल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए । यी स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क रुपमा सुत्केरी सेवा प्रदान गरिँदै आइएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय मातहतका यी स्वास्थ्य संस्थामा चार पटक गर्भवती परीक्षणबापतको रु ४०० र स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलाका लागि यातायात खर्चबापतको रु एक हजार रकम प्रदान गरिएको छ । कार्यालयको तथ्याङ्कअनुसार २०७१÷७२ मा छ हजार ५०० र २०७२÷७३ मा छ हजार ३०० महिलाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएको पाइएको छ । जसले गर्दा जिल्लामा पछिल्लो समय मातृशिशु, नवजात शिशुको मृत्युदर न्यून हुँदै गएको छ । 

स्वास्थ्य कार्यालयले बेला बेलामा गाउँगाउँमा पुगेर सचेतना कार्यक्रम, स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउनुका फाइदा, सुत्केरी महिलाले पाउने सेवा सुविधाका बारेमा जनचेतना गराउन थालेपछि ग्रामीण भेगका महिलामा स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने भावना क्रमिक रुपमा जागृत हँुदै गएको रामपुर अस्पतालका अहेब तीर्थप्रसाद ढुङ्गाना बताउछन् । रासस 
 

Last modified on 2017-06-23 14:09:20

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts