हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने



Download our app to get more features

इलाम, १३ फागुन । जिल्लाका दक्षिणी सीमावर्ती क्षेत्रका गाविसहरु हात्तीपाइले रोगको उच्च जोखिममा छन् । 

महमाई, चुलाचुली, दानाबारी, शान्तिपुर, लक्ष्मीपुर, चिसापानी, बाँझो, साकफारा, जिर्मले गाविसलगायत हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ । 

गोदक र चुलाचुली गाविसमा कार्यालयले एकवर्ष अघि गरेको अध्ययनअनुसार सात जनामा हात्तीपाइले रोगको लक्षण देखापरेको थियो । हात्तीपाइले रोग निवारणअन्तर्गत विगत पाँच वर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । 

सो अन्तर्गत यस वर्ष छैठौं पटक जिल्लाका ४३ गाविस र तीन नगरपालिकामा एकैपटक यो अभियान सञ्चालन गर्न लागेको हो । यही चैत ५, ६ र ७ गते जिल्ला जनस्वास्वास्थ्य कार्यालयले दुई लाख ७० हजारलाई हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने लक्ष्य लिएको कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले जानकारी दिए । 


यसका लागि एक हजार नौ सय ४४ स्वयम्सेवक र तीन सय ६१ जना स्वास्थ्यकर्मी परिचालन गरिने छ, उनले भने दुई वर्षदेखि ७० वर्ष उमेर समूहका सबैले यो औषधि खान सकिन्छ । बिरामी, गर्भवती महिला, दम तथा मुटुरोगका बिरामी बाहेक सबैले औषधि सेवन गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । 

क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट स्वस्थ्य मानिसमा यो रोगको किटाणु सर्दछ, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभु शाहले भने – शरीरमा कम्पन उत्पन्न हुनु, गिर्खा देखिनु, पुरूषको अण्डकोष सुनिनु, महिलाको यौनाङ्ग र स्तन सुन्निनुलगायत यो रोगका लक्षण हुन् । 

रोगबाट बच्न लामखुट्टे नियन्त्रण, फोहोरपानी जम्मा हुन नदिनु, पानीलाई स्वतन्त्र रूपले बग्न दिनु, घरवरपर भएका खाल्डाखुल्डीलाई पुर्नु पर्ने उनले सुझाव दिए । रासस 
 

Last modified on 2017-06-23 14:15:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts