भास्कुलर सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ



Download our app to get more features

काठमाण्डौं, ८ फागुन । मुटु तथा नशा सम्बन्धी विशेषज्ञ डक्टरहरुको संस्था भास्कुलर सोसाइटी अफ नेपाल स्थापना भएको छ । 

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रा.डा. उत्तमकृष्ण क्षेष्ठको अध्यक्षतामा ९ सदस्यीय समाज स्थापना भएको हो । नेपालमा मुटु तथा नशा सम्बन्धि रोगहरु बढ्दै गएकाले आममानिसलाई चेतना जगाउने र मुटु तथा नशारोग सम्बन्धी चिकित्सकको क्षमता अभिबृद्धि गर्न समाज स्थापना भएको समाजको अध्यक्ष तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण क्षेष्ठले बताए । उनले लामो अध्ययन, योजना, छलफल र सबैको मेहनतबाट समाज स्थापना गरेको बताए । 

डा.क्षेष्ठले नेपालमै उच्च स्तरीय मेडिकल प्रविधि भित्रिसकेको बताउंदै चिकित्सकलाई त्यही अनुसार क्षमता अभिबृद्धि गर्न समाजले प्रभावकारी भूमिका खेल्ने बताए । उनले भने 'अस्पतालमा कार्डियोभास्कुलर सम्बन्धी जटिल समस्या भएका विरामीहरु आए भाइवर,स्काइप मोवाइल फोन मार्फत २४ सै घण्टा समाजका सदस्यहरुबीच अन्तक्र्रिया गरी उपचार गर्ने व्यबस्था मिलाएका छौं ।'

समाज स्थापना कार्यक्रममा भारतको गंगाराम अस्पतालका वरिष्ठ कार्डियो भास्कुलर विशेषज्ञ प्रा.डा. भि.एस. वेदिले कार्यपत्र प्रस्तुत गर्दै मेडिकल क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताए । उनले भारतको भास्कुलर सोसाइटी अफ इण्डिया स्थापना भएको २२ वर्षपछि ढिलै भएपनि नेपालमा समाज गठन भएकोमा बधाई दिंदै आफुहरुले सहकार्य गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गुणस्तरीय उपचारको नाममा महंगो खर्च गर्दा अर्बौं रुपैयाँ बिदेसिएकोले अब नेपालमै गुणस्तरीय उपचार सेवा सम्भव भएको नवगठित संस्थाका सचिव डा. सन्दीपराज पाण्डेले बताए । पाण्डे नर्भिक अस्पताल, अन्नपूर्ण न्यूरो, इवामुरा अस्पताल र अल्का अस्पतालमा कार्यरत छन् । उनका अनुसार अब सम्बन्धित चिकित्सकहरु जुनसुकै अस्पतालमा काम गरेपनि समाजको हटलाइन मार्फत छलफल गरी उपचार गर्न सक्नेछन् । त्यस्तै समाजले चिकित्सकहरुबीच अन्र्तक्रिया, छलफल, सेमिनार तथा विभिन्न कार्यशाला गर्ने, प्रशिक्षण दिने, फेलोसिप मार्फत विभिन्न देशका नयाँ उपचार पद्धतिबारे अध्ययनका लागी सिफारिस गर्ने र सर्वसाधारण मानिसहरुलाई मुटु तथा नशारोगबारे शिक्षा दिने उद्धेश्य राखेको छ ।

डा.क्षेष्ठको अध्यक्षतामा बनेको संस्थाको उपाध्यक्षमा प्रा.डा किरण क्षेष्ठ, सचिवमा डा.सन्दीपराज पाण्डे, कोषाध्यक्षमा डा.कजराज क्षेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा डा. अनिल भट्टराई, डा. रवी बराल, डा. सम्पूर्ण तुलाधर, डा. मोहनदेव पुरी र डा. रोविन कर्माचार्य रहेका छन् । समाजको सल्लाहकारमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइराला रहेका छन् ।

Last modified on 2017-06-23 14:42:17

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts