महिनावारी हुँदा सरसफाइ



Download our app to get more features

काठमाडौँ, ७ फागुन । तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडी हुनेजस्ता समस्या लिएर चिकित्सककहाँ पुग्ने महिलामध्ये करिब एक तिहाइलाई महिनावारीका बेला सरसफाइमा लापरबाही गर्दा यस्तो भएको हुन्छ । 

महिनावारीका समयमा स्वच्छताप्रति गम्भीर नहुँदा गुप्तांगको बाहिरी सतह मात्र नभई मूत्रमार्गरप्रजननमार्गमा विभिन्न संक्रमण, बाँझोपन, गर्भाशयबाहिर गर्भ बस्नेजस्ता जटिलता देखिनुका साथै क्यान्सरसम्म हुन सक्छ । 

महिनावारीमा स्वच्छताको अभावले हुने स्वास्थ्य समस्यालाई लिएर हाम्रो मुलुकमा हालसम्म कुनै महत्त्वपूर्ण अध्ययन नभए पनि यसको मारमा पर्नेहरूको संख्या उल्लेख्य छ । 

‘तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडीजस्ता समस्या लिएर मकहाँ आउनेमध्ये करिब एक तिहाइलाई यो समस्या महिनावारीको समय राम्ररी सरसफाइ नगर्दा हुने गरेको देखिएको छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. चन्दा कार्की भन्छिन्, ‘महिनावारीमा सरसफाइको अभावले क्यासरसहित विभिन्न शारीरिक समस्या हुन सक्छ ।’ 

उनका अनुसार, नेपालका गाउँघरमा करिब ७० प्रतिशतसम्म महिलालाई महिनावारीसम्बन्धी स्वच्छताबारे ज्ञान छैन । सहरमा पनि आमाबुवा, आफन्तले भन्दा युवतीहरू आफैँले यताउता पढेर यसबारे जानकारी प्राप्त गर्ने गर्छन् ।

खानेपानी तथा सरसफाइ समन्वय परिषद्का राष्ट्रिय संयोजक गुणराज श्रेष्ठको अनुभवअनुसार, महिनावारी जैविकरप्राकृतिक प्रक्रिया हो र यो भएका बेला त्यस्तै सावधानी आवश्यक हुन्छ भन्ने जानकारी निकै कम जनसंख्यामा छ । महिनावारीमा बहुसंख्यक जनसंख्यामा उचित वैज्ञानिक सरसफाइ र स्वच्छताको अभावसमेत देखिएको छ । रजस्वलाका बेला उपयुक्त सरसफाइको अभाव हुँदा धेरैजसो महिलामा पिसाबसम्बन्धी संक्रमण हुने गरेको छ । महिनावारीमा उचित सरसफाइ नभएर मुलुकको ठूलो जनसंख्या प्रभावित भइरहे पनि यो उपेक्षित विषयकै रूपमा छ । 

‘नेपालको पछिल्लो जनगणना अनुसार, करिब १ करोड ४३ लाख १० हजार महिलामध्ये कम्तीमा ६० प्रतिशत महिनामा एक पटक महिनावारी हुने गरेका छन्,’ डा. कार्की भन्छिन् । 

महिनावारीको बेला बग्ने रगत रोक्न उपयोग गरिने वस्तुको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा असावधानीका कारण संक्रमण हुन्छ र यो गुप्तांगमा कुनै प्रकारको घाउ, पीडा, दुर्ग्न्धित पानी, चिलाइ जस्ता थुप्रै रूपमा हुन सक्ने औल्याउँदै डा. कार्की भन्छिन्, ‘यही कारणले योनिबाट असामान्य स्राव हुन थाल्छ र तल्लो पेट, कमर आदि दुख्न थाल्छ ।’

महिनावारीका बेला चार दिनमा मात्रै होइन कि दिनहुँ नुहाउनुपर्छ । नुहाउँदा गुप्तांगसमेत राम्ररी धुनुपर्छ । डा. कार्कीको सुझाव छ, ‘महिनावारी भएका बेला झन् धेरै नुहाउने गर्नुपर्छ ।’ 

महिनावारीका समयमा स्वच्छतामा ख्याल नगरे प्रजनन मार्गको संक्रमण (रिप्रोडक्टिभ ट्र्याक इन्फेक्सन) को जोखिम बढ्छ । हाम्रो मुलुकमा प्रजनन मार्गको संक्रमण बढी फैलिनुको मुख्य कारणमध्ये एउटा महिनावारीको समयमा सरसफाइको कमीसमेत रहेको डा. कार्की औंल्याउँछिन् । 

हरेक महिना हुने रक्तस्रावले महिलाको पाठेघरलाइ शुद्घ बनाउँछ । यसले आन्तरिक झिल्लीसँगै पाठेघरको ससानो संक्रमण पनि सफा गर्छ । महिनावारी हुँदा सामान्यतः ३५ मिलिलिटरदेखि ५० मिलिलिटरसम्म रगत निस्किन्छ । तर कसैकसैलाई योभन्दा बढी वा कम रक्तस्राव हुन सक्छ । 

के हो महिनावारी ?

महिलामा मुख्य रूपमा दुइटा अण्डाशय, पाठेघर र यसलाई जोडने दुइटा नली हुन्छन्, जसलाई फेलोपिन ट्युब भनिन्छ । किशोर भएपछि अण्डाशयबाट हरेक महिना अण्डा बाहिर निस्किन्छ । यो पाठेघरको भित्री भित्तामा हरेक महिना जम्ने रगतको तहमा टाँसिन्छ । यो समयमा महिलाको अण्डाले पुरुषको शुक्रकीटसँग मिल्न नपाए पाठेघरको भित्री तहमा जम्मा भएको रगतको तह टुट्न थाल्छ र यो अण्डा शरीरबाट बाहिर निस्किन्छ । यसैलाई महिनावारी भनिन्छ । 

कपडाका माध्यमले पनि स्वच्छता

हाम्रो मुलुकमा आर्थिक लगायतका अन्य कारणले महँगो प्याड उपयोग गर्न नसक्ने महिलाहरू प्रशस्त छन् । महिनावारी प्रबन्धनमा सामान्य कपडासमेत उपयोगमा आउन सक्छ । तर, त्यसलाई त्यस्तो कपडा स्वच्छ हुनु अत्यावश्यक छ ।

 

(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

Last modified on 2017-06-23 14:45:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts