मुटुको अवस्था बुझ्न ट्रेडमिल टेस्ट



Download our app to get more features

मुटुमा भएका तीन मुख्य रक्तनलीले मुटुको मांसपेशीमा रक्तसञ्चार गराउँछ । रगतकै माध्यमबाट मुटुका मांसपेसीलाई चाहिले अक्सिजन पूर्र्ति हुन्छ । कारणवश यी रक्तनली साँघुरिन गयो र नलीमा रगत जमेर मांशपेसीमा रक्तप्रवाह बन्द भयो भने मांशपेशी नै मर्ने र हृदयघात हुन्छ । त्यसो त मुटुका रक्तनली साँघुरिएको छ÷छैन बेलैमा पत्ता लगाउन पनि सकिन्छ र हार्टअट्याकबाट बच्न सकिन्छ । तर, यसका लागि के गर्नुपर्छ ? मुटुरोग विशेषज्ञ डा.मिलनप्रकाश श्रेष्ठले यसबारे जानकारी दिएका छन् ः

के हो ट्रेडमिल टेस्ट ?

१. मुटुका रक्तनली साँघुरिने समस्या पहिचान गर्न सकिने धेरै किसिमका जाँचहरु उपलब्ध छन् । भरपर्दो, सबैको पहुँचभित्रको र धेरै खर्च पनि नलाग्ने एउटा जाँच हो, ट्रेडमिल टेस्ट अर्थात् टिएमटी । ट्रेडमिल एक किसिमको मेसि हो, जुन घरमा या फिटनेस सेन्टरमा शारीरिक सुगठनका लागि पनि प्रयोग गरिन्छ ।

२. ट्रेडमिल टेस्टमा मेसिनसँग इसिजी पनि जोडिएको हुन्छ । बिरामीलाई मेसिनमा हिँड्न लगाइन्छ र लगातार मुटुको इसिजी अध्ययन गरिन्छ । इसिजीसाथै बिरामीको मुटुको चाल, रक्तचापलगायत पनि अध्ययन गरिन्छ । यो जाँचको मुख्य उदेश्य बिरामीलाई हिँडाएर मुटुलाई बढी काम गराउनु नै हो । मुुटुलाई बढी काम गर्नुपर्दा बढी धड्किन्छ । बढी धड्किँदा बढी अक्सिजनको आवश्यक्ता पर्छ ।

३. मुटुका रक्तनली स्वस्थ छन् भने मेसिनमा व्यक्ति हिँड्दै गर्दा रक्तनलीहरु फुक्दै र खुल्दै बढी रक्तप्रवाह गर्छन् । बिरामीलाई कुनै किसिमको समस्या महसुस हुँदैन । रक्तनली साँघुरिन थालेका छन् भने बिरामी हिँड्दै जाँदा मुटुका मांसपेशीमा आवश्यक मात्रामा रक्तप्रवाह हुन पाउँदैन । यो अवस्थामा बिरामीलाई छाती दुखेको, सास फेर्न गाह्रो भएको महसुस हुन्छ । आवश्यक मात्रामा रक्तप्रवाह नभएपछि मुटुका मांसपेशीमा अक्सिजनको कमी भएको इसिजीमा देखिन्छ । यसकै आधारमा रिपोर्ट दिइन्छ । रिपोर्ट नेगेटिभ हुनु राम्रो हो भने पोजेटिभ देखिए मुटुमा समस्या देखिएको बुझिन्छ ।

४. ट्रेडमिल टेस्ट खाली पेटमा गर्नुपर्ने बाध्यता हुँदैन । जाँचका क्रममा कुनै किसिमको सुई दिने, घोच्ने र बेहोस पार्ने काम हुँदैन । १५–२० मिनेटमा सकिने यो जाँचका लागि कुनै विशेष तयारी आवश्यक नै पर्दैन ।

५. योय जाँच मुटुरोग विशेषज्ञको प्रत्यक्ष निगरनीमा गरिन्छ । जाँच गर्नुअघि विशेषज्ञसँग आफ्नो स्वास्थ्यस्थितिबारे सल्लाह भने गर्नुपर्छ । पहिल्यै अन्य समस्याल मुटुको अवस्था कमजोर भएको, विभिन्न भल्भमा समस्या भएको, रक्तचाप अनियन्त्रित भएको लगायत अवस्थामा भने यो जाँच गर्न मिल्दैन । यो जाँच गरिने ठाउँमा आपत्कालीन स्थितिमा चाहिने डिफिब्रिलेटर तथा अन्य उपकरण पनि तयारी हालतमा रहनुपर्छ ।

टिएमटी कस्तो आउँदा के गर्ने ?

ट्रेडमिल टेस्ट नेगेटिभ आए मुटुको नली साँघुरिने समस्या रहनेछ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । यसको मतलब मुटुका नली सांँघुरिएर हृदयघात हुने सम्भावना तत्काललाई छैन भन्ने बुझ्नुपर्छ । तर, पोजेटिभ आए बिरामीलाई कोरोनरी उन्जियोग्राफी भन्ने जाँच गर्न सल्लाह दिइन्छ । यो जाँचमा मसिनो तारका माध्यमबाट मुटुका कुन–कुन रक्तनली कहाँ, कति प्रतिशत साँघुरिएको छ भन्ने प्रस्ट देखिन्छ । साँघुरोपन साधारण मात्रै छन् भने खाने औषधि हेरेर एन्जियोप्लास्टी गरेर खोल्ने, स्टेन्ट राख्ने वा बाइपास अप्रेसन गर्ने आदि उपाय अपनाउने गरिन्छ । यस्ता उपायबाट समयमै जोजिन सकिन्छ ।

कस्ता व्यक्तिले टिएमटी गर्ने ?

चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने, उच्च रक्तचाप तथा सुगरको समस्या भएका, रगगतमा बोसोको मात्रा बढी भइरहने व्यक्ति, बढी मोटा तथा पटक्कै व्यायाम नगर्ने व्यक्तिले वर्षमा एकपटक ट्रेडमिल टेस्ट गर्नु आवश्यक हुन्छ । नातागोतामा कसैलाई हृदयघात भएको छ भने नजिकका व्यक्तिले पनि यो टेस्ट गरेर सजग हुनुपर्छ । यस्ता व्यक्तिले ६ महिनामा एकचोटी टिएमटी गर्नुपर्छ ।

यो पनि 

मुटुका रक्तनली साँघुरिने प्रक्रिया वर्षौ लागेर हुने हो । यो सानो अवस्थाबाट सुरु भएर विस्तारै ठूलो रुप लिन्छ । त्यसैले वेलैमा सजग हुन सके वर्षौपछि निम्तिन सक्ने खतरालाई आजैबाट कम गर्दै निस्तेज पार्न सकिन्छ ।   

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-06-23 15:28:27

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts