दर्ताबिनै अस्पताल सञ्चालन ः अदक्षले गरे अप्रेसन



Download our app to get more features

बुटवल (रूपन्देही), ६ फागुन । रूपन्देहीको लुम्बिनीस्थित एक अस्पतालमा अदक्ष व्यक्तिले बिरामीको अप्रेसन गरेका छन् । दर्तासमेत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको नैना अस्पतालले चिकित्सा क्षेत्रमा दक्षता नभएकाहरूबाटै अप्रेसन गराउने गरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले बिहीबार अस्पतालमा छापा मारेको थियो । गैरकानुनीरूपमा अस्पताल सञ्चालन गरी बिरामीको जीवनमाथि खेलवाड भएको जानकारीपछि कार्यालयले छापा मारेको जनस्वास्थ्य कार्यालयका प्रमुख चूडामणि भण्डारीले जानकारी दिए । ‘हामीले छापा मार्दा अप्रेसन गरेका ६ जना बिरामी बेडमै सुतिरहेका थिए,’ उनले भने, ‘अदक्ष व्यक्तिबाट अप्रेसन हुने गरेको रहेछ ।’ उनले अस्पताललाई कानुनअनुसार कारबाही गर्न प्रक्रिया अघि बढाएको बताए ।

लुम्बिनी–१, खुनगाईमा केही वर्षदेखि निजी लगानीमा उक्त अस्पताल खुलेको थियो । जनस्वास्थ्यले इलाका प्रहरी कार्यालय लुम्बिनीको सहयोगमा अस्पतालमा छापा मारेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख भण्डारीले अस्पताल जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको बताए । बिरामीको अप्रेसनसमेत गरिरहेको प्रत्यक्ष प्रमाणसहित फेला पारेकाले आवश्यक कारबाही अघि बढाइएको उनले बताए ।

अस्पतालमा जाँच गर्ने दक्ष स्वास्थ्यकर्मी, प्राविधिक तथा भौतिक सामग्रीविनाको अप्रेसन थिएटर बनाइएको थियो । जनस्वास्थ्यले छापा मार्दा अस्पतालमा कार्यरत डा. विद्या शुक्ला र डा. सुरज गिरी भागेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्यको टोलीले अस्पताल सञ्चालक डा.जेपी शुक्लालाई भने हिरासतमा लिएको छ । अस्पतालको बेडमा रहेका ६ जना बिरामीलाई एम्बुलेन्समार्फत भीम अस्पताल भैरहवा ल्याइएको जनस्वास्थ्य प्रमुख भण्डारीले बताए ।

विष्णुपुरा गाविसका बेचन सहनीले लुम्बिनीमा नयाँ अस्पताल खुलेको थाहा पाएपछि ५० हजार रुपैयाँ धरौटी राखी ६ दिनअघि पत्थरीको अप्रेसन गरेको बताए । उनीसँगै पार्वती लोध, सजरुद्दीन मुसलमानलगायत मोटो रकम धरौटीमा राखी उपचार गराउन अस्पतालको बेडमै भेटिएका थिए ।

लुम्बिनी क्षेत्रमा भारतीय क्षेत्रका डाक्टरले झोले अस्पताल सञ्चालन गर्दै आएको सर्वसाधारणको गुनासो छ । जनस्वास्थ्य कार्यालयको फितलो अनुगमनका कारण झोले डाक्टरको बिगबिगी बढ्दा जनताको स्वास्थ्यमा खेलबाड भएको सर्वसाधारणले बताएका छन् ।


(आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ)

Last modified on 2017-02-17 10:59:44

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts