पाल्पामा अनुमतिबिना स्वास्थ्य शिविर

What's This?


Download our app to get more features

पाल्पा ४, फागुन ।  गैरकानुनी ढंगबाट गाउँगाउँमा स्वास्थ्य सेवा प्रदान गर्दै आए पनि सम्बन्धित निकाय मौन बसेको पाइएको छ । नेपाल जेसुइट सोसाइटीको नाममा पाल्पाका विभिन्न स्थानमा क्लिनिकमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको भेटिएको हो ।

कार्यक्रम गर्न जिविस परिषद्मा स्वीकृत गर्नुपर्छ । स्वास्थ्य कार्यालयसँग पनि समन्वय गर्नुपर्छ । तर, कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी स्वास्थ्य जाँच तथा औषधि वितरण गर्दै आएको भेटिएको जिविसका कार्यक्रम अधिकृत विनोद नेपालले बताए । ३ वर्षदेखि यसरी कार्यक्रम सञ्चालन गरेपनि जिविस, स्वास्थ्य कार्यालय र प्रशासन ‘बेखबर’ छन् ।

ललितपुर, ४ मा दर्ता भएको सोसाइटीले जिविस, स्वास्थ्य कार्यालयसँग समन्वय गरेको छैन । उसले जिल्लाको खस्यौली, राम्दी, छहरा, मुझुङ, पिपलडाँडा, देउराली, कोलडाँडा, मस्यामलगायत स्थानमा क्लिनिक सञ्चालन गर्दै आएको छ । यसअघि पनि सोसाइटीले अन्य गाविसमा निःशुल्क स्वास्थ्य परीक्षणसाथै औषधि वितरण गरेको स्थानीयले बताए । 

दर्ता शुल्क २० रुपैयाँ

दर्ता शुल्क स्वरूप २० रुपैयाँ लिएर कार्ड तथा औषधि दिने गरेको सोही संस्थाका सिनियर अहेब दुर्गालाल श्रेष्ठले बताए । ‘फरकफरक स्थानमा दैनिक क्लिनिक सञ्चालन हुँदै आएको छ,’ उनले भने, ‘हामी कर्मचारी हौं अह्राएको काम गरेका छौं ।’ स्वास्थ्य कार्यालयले क्लिनिक चलाउन कुनै स्वीकृति पत्र नदिएको जनाएको छ । ‘हामीले स्वीकृति दिएर कार्यक्रम गर्ने भन्ने हुँदैन,’ सूचना अधिकारी माधव ज्ञवालीले भने । संस्थाले जिविसमा कुनै कागजात पेस गरेको छैन । समाज कल्याण मन्त्रालयबाट काम गर्ने अनुमति ल्याएको छैन ।

सोसाइटीमार्फत पैसा आउने र सोही रकमबाट औषधि खरिद गरी गाउँमा क्लिनिक सञ्चालन गर्दै आएको श्रेष्ठले बताए । ‘काम गरे पनि हामीलाई सबै कुरा थाहा छैन,’ उनले भने । चिर्तुङधाराको घोरबन्दामा सोही संस्थाले भवन निर्माण गरी कार्यालय सञ्चालन गरेको छ । यहाँ दक्षिण भारतीय मूलका दुई महिला कार्यरत छन् । साथै ३ नेपाली कर्मचारी पनि छन् । एक सिनियर अहेब र अनमीबाटै गाउँमा औषधि वितरण गर्न क्लिनिक चलाउँदै आएका हुन् ।

सिटामोलको धूलोलाई ‘प्रभुको बुटी’

यही संस्थाबाटै भुवनपोखरीमा क्लिनिक चलाउँदा सिटामोलको धूलो दिएर ‘प्रभुको बुटी’ भन्ने गरेको आरोप लागेको थियो । स्थानीयका अनुसार क्लिनिक चलाएर निस्शुल्क औषधि वितरण गर्दै विपन्न समुदायमा धर्मप्रचार गर्नु मुख्य उद्देश्य देखिएको छ । ‘गरिब, दलित र विपन्न समुदायलाई धर्म परिवर्तन गराउने योजना हुनसक्छ,’ भुवनपोखरीका स्थानीयले भने । 

चिर्तुङ्धाराको क्लिनिक इन्चार्ज सिस्टर मेरी हुन् । उनी मेडिकल पर्सन होइनन् । ‘हामीले सामान्य रोग लागेकालाई उपचार गर्ने हो,’ सिनियर अहेब श्रेष्ठले भने, ‘ठूलो रोग भेटिए रिफर गर्छौं ।’ पछिल्लो समय जिविसको पत्र नलगे सहयोग रोकिने भएपछि मात्र उक्त संस्थाले अवैध रूपमा काम गर्दै आएको खुलेको हो । स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले समाज कल्याण मन्त्रालयबाट सिफारिस लिएर आए मात्रै काम गरेको प्रमाणित गर्न सकिने बताए । ‘३ वर्षदेखि अवैध तरिकाले काम गरेको संस्थालाई सिफारिस दिन मिल्दैन,’ उनले भने । परिषद्मा पेस गरी कार्यक्रम स्वीकृति गराएपछि मात्र उसको वैध तरिकाले काम गरेको देखिने बताए ।

प्रजिअ बाबुराम गौतमले यसरी अवैध ढंगले काम गर्दा जिविस र स्वास्थ्यको पनि कमजोरी रहेका बताए । ‘३ वर्षदेखि कार्यक्रम गर्दा कसैलाई थाहा नभएको होला र ?’ उनले प्रश्न गरे । सोसाइटीको नाममा कार्डसमेत छापेर औषधि वितरण गर्दा थाहा नभएको भन्नु गलत हो ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

फाईल तस्वीर

Last modified on 2017-02-15 13:23:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts