किन हुन्छ पाठेघरको मुखको क्यान्सर ? 

सन्दर्भः विश्व क्यान्सर दिवस



Download our app to get more features

हिलामा मात्र हुने क्यान्सरको विषयमा चर्चा गर्दा शरीरको माथिल्लो भागबाट हेर्दा स्तन क्यान्सर, यौनीको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाठेघरको क्यान्सर, अण्डासयको क्यान्सर पर्दछ । तर स्तन क्यान्सर महिलामा मात्र नभई पुरुषमा पनि देखिन्छ । यो क्यान्सर पुरुषको तुलनामा महिलामा धेरै पाइन्छ । महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रुपमा रहेका छ ।

विश्वको आँकडा हेर्ने हो भने पाठेघरको मुखको क्यान्सरबाट करीब ५ लाख २८ हजार महिला प्रभावित भएको पाइन्छ । नेपालमा हालसम्म कुनै आँकडा छैन । तर अस्पतालको आँकडा हेर्ने हो भने सबैै क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सरमा रहेको छ । 

क्यान्सर हुने प्रमुख कारण हालसम्म पत्ता लाग्न सकेको छैन । सुर्तीजन्य पदार्थको सेवन, खानपान, जीवनशैली परिवर्तन, बंशाणुगत जस्ता कारण भएको पाइन्छ । तर पाठेघरको मुखको क्यान्सर सामान्यतया भाइरल संक्रमणले गर्दा हुन्छ । ह्युमन पापिलोमा नामक किटाणुको कारण हुने गर्दछ । यो संक्रमणलाई प्री क्यान्सर पनि भनिन्छ । पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलामा ह्युमन पापिलोमा किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गरी त्यसलाई अनियन्त्रित बनाउँदा कोषिकाहरु बढ्न जान्छन् जसले गर्दा त्यो विस्तारै क्यान्सरमा परिणत हुन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सरको जोखिम उच्च हुन्छ । जसले गर्दा यो क्यान्सर एक जनाबाट अर्कोमा सर्ने संभावना रहन्छ ।

पाठेघरको मुखको क्यान्सर एउटा यस्तो क्यान्सर हो जुन क्यान्सर हुनु पूर्वनै थाहा पाउन सकिन्छ । जसका लागि भीआईए तथा प्याप स्मेयर टेष्ट गर्नुपर्ने हुन्छ । 

अन्तराष्ट्रिय अभ्याँसलाई हेर्ने हो भने प्याप स्मेयर टेष्ट गरेको पाइन्छ । तर नेपालमा ल्यावको गुणस्तरका कारण यो अपेक्षित प्रभावकारी छैन । कतिपय अवस्थामा नेगेटिभ रिपोर्ट आएको महिलामा समेत पछि गएर क्यान्सर भएको पाइएको छ । त्यसैले नेपालमा हाल भिआईए जाँच प्रभावकारी रुपमा लिइन्छ । नेपाल सरकारले पनि भिआईए टेष्टलाई नै अंगालेको छ । सरकारले यो टेष्टलाई हेल्थपोष्टसम्म लाने बताएको छ । भिआईए टेष्ट एक प्रकारको सरल जाँच गर्ने प्रविधि हो जसबाट तुरुन्तै रिपोर्ट आउँछ । यो जाँच जुनसकै समयमा पनि गर्न सकिन्छ । महिनावारी भएको समयमा एवं कम रगत बगेको अवस्थामा पनि गर्न सकिन्छ । समयमै संक्रमण पत्ता लगाउन सकेमा १० वर्षपछि हुनसक्ने पाठेघरको मुखको क्यान्सरको जोखिमलाई टार्न सकिन्छ । 

पाठेघरको मुखको क्यान्सर हुने सम्भावना
३० वर्षभन्दा कम उमेरका महिलालाई यो क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । ४० वर्ष उमेरमाथिका महिला तथा महिनावारी बन्द भएका महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी रहन्छ ।

शारीरिक यौनसम्पर्क नभएका महिलामा यो क्यान्सर हँुदैन । पुरुषसँग शारीरिक यौनसम्बन्ध भईसकेका महिलालाई मात्र योे क्यान्सर हुने सम्भावना रहन्छ । पुरुषले धेरै महिलासँग असुरक्षित यौन सम्बन्ध राखेमा पनि महिलामा क्यान्सर सर्न सक्छ ।

किन हुन्छ पाठेघरको मुखको क्यान्सर ? 

  • महिलाले धेरै पुरुषसँग असुरक्षित यौन सम्बन्ध राखेमा
  • सानो उमेरमै विवाह गरेमा
  • सानो उमेरमा यौन सम्बन्ध राखेमा
  • धेरै बच्चा जन्माएमा
  • सानो उमेरमा बच्चा जन्माएमा
  • धेरै गर्भाधारण गरेमा
  • सुर्तीजन्य पदार्थ तथा रक्सी सेवन गरेमा
  • ५ वर्षभन्दा बढी समयसम्म परिवार नियोजनको चक्कि सेवन गरेमा

पाठेघरको मुखको क्यान्सरका लक्षणहरु
सामान्यतया शुरुको अवस्थामा यो क्यान्सरले कुनै लक्षण देखाउँदैन । क्यान्सर फैलिसकेको अवस्थामा निम्न लक्षणहरु देखा पर्नसक्छ । 

  • यौनसम्पर्क गर्दा रगत देखिने
  • गन्हाउने पानी आउने
  • पटक पटक संक्रमण भइरहने
  • महिनावारी नभएको समयमा पनि रगत देखिने
  • महिनावारी बन्द भइसकेका महिलामा पुन रगत देखा पर्ने
  • पेट फुल्ने
  • खुट्टा सुन्निने
  • ढाड तथा कम्मर दुख्ने
  • दिसा पिसावमा परिवर्तन आउने

(नेपाल क्यान्सर केयर फाउण्डेशनमा समेत आवद्ध डा. घिमिरेसँग बासुदेव न्यौपानेले गरेको कुराकानीमा आधारित ) 


 
 

Last modified on 2017-06-29 13:18:58

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts