महिलाको अण्डासयमा देखिने पोलिसिस्टिक ओभरी सिन्ड्रोम के हो ? 



Download our app to get more features

क विवाहित २८ वर्षकी महिला महिनावारीको समयमा धेरै रगत बग्ने हुँदा उपचारमा आइन् । साथै विवाह भएको लामो समयसम्म बच्चा नभएको भन्दै उपचार गर्न आएको बताएकी थिइन् । उनमा पिसिओएस भएको अनुमानमा परीक्षण गरियो । पाठेघरको भित्री भाग धेरै बाक्लो भएको हुँदा क्युरेड गरेर जाँच गरियो । साथै बायोस्पीसमेत गरियो । बायोस्पी गर्दा उनमा क्यान्सर भएको भेटियो । महिनावारीको समस्या तथा बच्चा नभएको हुँदा उपचार गर्न आएकी उनको अन्ततः पाठेघर नै फाल्नुप¥यो । 

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) महिलाहरूको अण्डासयमा देखिने एक समस्या हो । यो जुनकुनै उमेर समूहका महिलामा देखिन्छ । तर, यस्तो किसिमको समस्या आफूमा रहेको महिलालाई थाहा नै हुँदैन भने उपचारको क्रममा सामान्य रूपमा हेर्दा पनि कतिपय अवस्थामा चिकित्सकहरूले समेत पोलिसिस्टिक ओभरी सिन्ड्रोम भएको थाहा पाउँदैनन् । हाल यो समस्या महिलाहरूमा धेरै देखिने गरेको छ । यो जुनकुनै उमेर समूहका महिलामा हुने भए पनि विशेषगरी २० देखि ३५ वर्षको उमेरमा बढी देखिएको छ । 
के हो पिसिओएस ?
महिलाको दुवै अण्डाशयमा पानीको फोकाजस्तो सिस्ट आउँछ । झट्ट हेर्दा मोतीको मालाजस्तो किसिमको स–साना फोका अण्डाशयको वरिपरि रहेको हुन्छ । यसरी १० देखि १२ वटा फोका देखिने समस्यालाई पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) भनिन्छ । जसकारण हर्मोनमा समस्या उत्पन्न हुन जान्छ । हर्मोनको गडबडीले महिलाको महिनावारीमा समस्या उत्पन्न गराउनुको साथै प्रजनन क्षमतामा समेत ह्रास आउँछ । दुई÷तीन महिनाको अन्तरमा महिनावारी हुनुको साथै महिनावारीको समयमा धेरै रगत बग्छ भने कसैको सामान्यमात्र देखिन्छ । पिसिओएसका कारण गर्भधारणमा असर गरी निःसन्तान पनि गराउँछ । 

लक्षण 
महिलामा पिसिओएस भएमा हर्मोनको परिवर्तन हुने हँुदा धेरै किसिमका लक्षण देखापर्छ । महिनावारी अनियमित हुनु, विवाहित महिलामा लामो समयसम्म गर्भ नरहने, विनाकारण मोटाउनु, अनुहारमा डन्डिफोर देखिनु, अनुहारको साथै अन्य भागमा पनि पुरुषजस्तो रौँ आउने अर्थात् अनावश्यक रौँ देखिने हुन्छ । महिनावारी सुक्ने समयका महिलाहरूमा महिनावारी भइरहनेजस्ता लक्षण देखिन्छन् । 

असर
महिनावारीमा समस्या उत्पन्न हँुदा कहिलेकाहीँ धेरै रगत बग्ने हुन्छ । जसले गर्दा एनिमियासमेत हुन सक्छ । महिला मुड ठीक नभएकोजस्तो हुने, मोटोपना हुने, डन्डिफोर आउनेजस्ता समस्या देखिन्छ । पछि गएर मुटुमा समस्या देखिने, मधुमेह हुने हुन्छ । अण्डाशयमा फोका भए पनि पछि गएर यसले पाठेघरमा क्यान्सर हुने सम्भावना भने रहन्छ । पिसिओएसका कारण कम उमेरमै क्यान्सर भएको पनि पाइएको छ । 

कारण
पिसिओएस हुने कुनै कारक तत्व छैन । तर, पिसिओएस भइकेपछि हर्मोनको परिवर्तनले गर्दा विभिन्न समस्या उत्पन्न गराउँछ । अण्डाशयबाट निस्कने जति पनि हर्मोन हुन्छन् ती सबै हर्मोनमा परिर्वतन हुन जन्छ । 

निदान
माथि उल्लिखित लक्षणलाई आधार मानेर पिसिओएस भएको अनुमान लगाउन सकिन्छ । जसको पुष्टिका लागि भिडियो एक्स–रे गर्नुपर्ने हुन्छ । भिडियो एक्स–रे गर्दा पिसिओएस नदेखिन पनि सक्छ । जसका लागि भिडियो एक्स–रे गर्ने चिकित्सक पनि ध्यान दिएर हेर्नुपर्ने हुन्छ । पिसिओएस एउटा वा दुवै अण्डाशयमा हुन सक्छ । यसको साथै पिसिओएसको हर्मोन जाँच गरिन्छ । यदि भिडियो एक्स–रेमा देखिएन भने हर्मोन जाँच गर्दा पिसिओएस भएको पुष्टि हुन्छ ।

 उपचार
कम उमेरका अथवा अविवाहितलाई महिनावारी ठीक समयमा गराउनका लागि औषधि प्रयोग गरिन्छ । जसको उपचार हर्मोनद्वारा गरिन्छ । मोटोपना भएका महिलामा मधुमेह हुने सम्भावना रहेको हुँदा त्यसैअनुरूप उपचार गरिन्छ । अनुहार डन्डिफोर आउने, रौँ आउने समस्या भएमा पुरुष हर्मोन कम गर्ने औषधि सेवन गर्नुपर्ने हुन्छ । 

विवाहित महिलामा बच्चा नहुने समस्या रहन्छ । यस्तो अवस्थामा बढी भएको हर्मोनलाई नियन्त्रण गर्दै लैजानुपर्ने हुन्छ । साथै गर्भधारणका लागि समेत औषधि प्रयोग गरिन्छ । 

महिनावारी सुकी सकेपछि पनि रगत बगिरहेको महिलामा क्यान्सर हुने सम्भावना रहँदा बायोस्पी गरेर हेर्नुपर्ने हुन्छ । त्यसपछि मात्र उनीहरूमा उपचार प्रक्रिया अगाडि बढाइन्छ ।

उपचारपछि फोकाहरू ठीक भएर जान्छ । पिसिओएस भएपछि हर्मोन परिवर्तन हुने हुँदा यो समस्या ठीक भए–नभएको जाँचका लागि हर्मोन नै जाँच गर्नुपर्ने हुन्छ । यो समस्या ठीक भयो भएर बस्नुहँुदैन । पछि पनि देखिन सक्ने हुँदा नियमित रूपमा परीक्षण गर्नु पर्ने हुन्छ । नियमित परिक्षण गरेन भने मुटुमा समस्या, मधुमेह, क्यान्सर हुने सम्भावना रहन्छ । 

पिसिओएस समस्याबारे महिला मात्र होइन, चिकित्सकले समेत राम्रोसँग बुझेका छैनन् । यस्तो समस्या लिएर आएका बिरामीलाई कन्ट्रासेप्टिक पिल्सको भरमा उपचार भइरहेको हुन्छ । के कारणले महिनावारीमा समस्या देखियो भन्ने कुरामा ध्यान दिएको पाइँदैन । यो समस्या हाल बढी मात्रामा देखिएको हँुदा चिकित्सकले पनि यस्ता समस्या लिएर आएका महिलामा एकपटक पिसिओएसको जाँच गरेर हेर्नुपर्छ । जसले गर्दा भविष्यमा गएर उनीहरूमा मुटुरोग, मधुमेह तथा क्यान्सर हुने सम्भावनाबाट बचाउन सकिन्छ । 

(डा. वैद्य नर्भिक इन्टरनेसनल हस्पिटलकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।)

Last modified on 2017-06-29 13:27:32

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. oho sachai malai pani yestai vaako thiyo fist time cyst xa vannu vako thiyo 2nd patak normal xa vannu vathyo ahile k xa tha xaina tara mero minsuration cycle regular xaina .yo padhera man sarai attiyo kaha k garne hola?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts