मुखबाट अमिलो पानी किन आउँछ ?



Download our app to get more features

मुखबाट अमिलो पानी आउने समस्या हामी धेरैमा हुन सक्छ । प्राय बिहान उठ्ने बित्तिकै यो समस्या देखिने हुन्छ । मुख्यतः पेटमा रहेको एसिड लगायतका तरल पदार्थ खाना जाने नली हुँदै माथि आएमा यस्तो लक्षण देखिन्छ । स्वस्थ मानिसमा खाना जाने नली र सञ्चय हुने पेटको बीचमा मांसपेशीले कसिलो बनाएको हुन्छ जसले गर्दा एसिड माथि आउन पाउँदैन । तर कुनै पेटको समस्याले त्यो खुकुलो हुन गएमा एसिड माथि आइ अमिलो पानी आउने समस्या देखिन्छ ।

कुन कुन रोगमा यस्तो समस्या देखिन्छ ?

  • ग्यास्ट्राइटिस
  • रिफ्लक्स डिजिज
  • अल्सर
  • खाना नलीको मांशपेशीको समस्या
  • पित्तथैलीमा ढुङ्गा हुनु वा अन्य पित्तथैलीको समस्या
  • आन्द्राहरु माथि फोक्सोतिर आउने समस्या (डायफ्रामेटिक हर्निया)

अरु लक्षणहरु के के देखिन्छ ?
मुखमा अमिलो पानी आउनेको साथमा अरु निम्न लक्षणहरु पनि देखिन सक्छः

  • वाकवाकी लाग्ने
  • वान्ता हुने
  • खान मन नलाग्ने
  • दुब्लाउँदै जाने
  • छाती पोल्ने
  • निल्न गाह्रो हुने
  • खोकी लाग्ने
  • घाँटी दुख्ने
  • दातको रंग बिग्रने

कस्तो बेलामा खतरा हुनसक्छ ?
अमिलो पानी आउने साथसाथै निम्न लक्षण देखिएमा त्यसको उपचारको निम्ति तुरुन्त अस्पताल गइहाल्नुपर्छः

  • बान्तामा रगत देखिएमा
  • दिसा कालो रंगको आएमा
  • पेट सहनै नसक्नेगरि दुखेमा
  • तौल धेरै नै घटेमा

जाँच कसरी गर्ने?
के कारणले अमिलो पानी आउने समस्या देखिएको हो भनेर थाहा पाउन अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम विभिन्न जाँचहरु गराउनुपर्छ । इन्डोस्कोपीबाट ग्यास्ट्राइटिस, अल्सर आदि थाहा पाउन सकिन्छ ।

उपचार के हो?
चिकित्सकको सल्लाह अनुसार एसिड बन्न कम गर्ने वा बनेको एसिडको असरलाई न्यूनीकरण गर्ने विभिन्न औषधिहरुको सेवन गर्न सकिन्छ । थोरैमा कुनै किसिमको शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ । एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।

कस्तो सावधानी अपनाउने ?

  • तौल घटाउने
  • रक्सी, चुरोट आदि सेवन नगर्ने
  • अमिलो, पिरो खानेकुरा सकेसम्म नखाने
  • चिया, कफी पिउन कम गर्ने
  • भोकै खालीपेट नबस्ने
  • एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने
  • सकेसम्म घोप्टो परेर नसुत्ने, नबस्ने
  • सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने
  • सुत्दा टाउकोलाई तकियाले थोरै माथि उठाउने
Last modified on 2018-11-19 10:57:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts