औषधिको मूल्य २० गुणा बढी



Download our app to get more features

काठमाडौँ, ६ माघ । सय एमजीको प्रोजेस्टोरोन नामक औषधि नेपाल भित्र्याउँदा भन्सारमा सकारिएको मूल्य ८० पैसा छ । त्यसैलाई बजारमा १६ रुपैयाँमा बेच्ने गरिएको छ । यो स्वास्थ्यमन्त्री गगन थापाले टिपाएको विवरण हो । यसको उदाहरण दिँदै उनले भने, ‘भन्सारमा सकारेभन्दा २० गुणाभन्दा बढीमा समेत औषधि बिक्री भइरहेको पाइएको छ ।’ 

सरकारले अत्यधिक मूल्य बढाइएका यो र यस्ता औषधिको बिक्रीमा निलम्बन वा रोक्का भने गरेको छैन । त्यसका आयातकर्ता र विक्रेतालाई कारबाहीको दायरामा पनि ल्याएको छैन । बरु ‘छानबिन’ मा अल्झिएको छ । ‘भारतीय बजारमा अति सस्तो पर्ने औषधि नेपाली बजारमा अत्यन्त महँगोमा बेच्ने गरेको गुनासा हामीकहाँ आइरहेका छन्,’ मन्त्री थापाले भने, ‘हामीले यसमा छुट्टै टिम बनाएर छानबिन सुरु गरेका छौं । सर्वसाधारणले छिट्टै सही मूल्यमा औषधि पाऊन् भनेर विभिन्न प्रक्रिया सुरु गर्दै छौं ।’ 

सरकार कडा हुन नसकेकैले मुलुकमा औषधिको ‘कालो बजारी’ बढेको पाइएको छ । क्यान्सरका औषधिमाथि गरेको अनुसन्धानका क्रममा भन्सारमा देखाएको मूल्यभन्दा धेरै गुणासम्म बढीमा बिक्री गरेको फेला पारेको छ । किसप्लेटिन नामक औषधि १० मिलिग्रामको भन्सारमा ४२ रुपैयाँ मूल्य देखाइएको छ । यसलाई पसलमा २ सय ३६ रुपैयाँ पर्छ । जोलिड्रोनिक ४ मिलिग्रामको भन्सारमा सकारेको मूल्य ५ सय ५ रुपैयाँ भए पनि यो बजारमा २ हजार ७ सय ६६ रुपैयाँमा किन्नुपर्छ । इरिनोटिकेन एचसीएल ४० मिलिग्रामको भन्सारमा सकारेको मूल्य ८ सय १९ रुपैयाँ भए पनि यो २ हजार ४ सय १३ रुपैयाँ ८० पैसामा बिक्री भइरहेको छ । 

‘औषधिको मूल्य अत्यधिक हुनुमा विक्रेता, आयातकर्ता, चिकित्सकदेखि सबैको खराब साँठगाँठ रहेको प्रारम्भिक जानकारीमा देखिएको छ,’ स्वास्थ्यमन्त्री थापाले भने, ‘हरेक नेपालीको जीवनसँग जोडिएको औषधिको मूल्यलाई ठीक ठाउँमा ल्याएर यसभित्र भएको खेल समाप्त पार्ने प्रक्रिया सुरु भइसकेको छ ।’ चिकित्सकका अनुसार महँगो पर्ने क्यान्सरका औषधिमा अझै धेरै चलखेल हुने गरेको छ । 

‘भारतमा चार हजारमा पाइने केमोथेरापीको औषधि हामीकहाँ करिब १४ हजार पर्ने गरेको छ । अन्य औषधिको मूल्यमा पनि तेब्बरभन्दा बढीको अन्तर छ,’ भक्तपुर क्यान्सर अस्पतालका एक चिकित्सकले भने, ‘औषधि व्यवस्था विभागमा भारतका स्थानीय कम्पनीले यस्ता औषधि दर्ता गराएर मनपरी भाउमा बेचिरहेका छन् ।’

‘क्यान्सर उपचारमा उपयोग गरिने औषधिमा भन्सारमा सकारेको मूल्यभन्दा २० गुणाभन्दा बढीमा बिक्री हुने गरे पनि अहिलेसम्म कसैलाई कारबाही भएको छैन,’ विभागका एक पदाधिकारी भन्छन्, ‘विभागमा तलदेखि माथिसम्मको सेटिङले यो जारी छ ।’

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले औषधिमा अतिकम अर्थात् १ देखि ५ प्रतिशतसम्म भन्सार महसुल लाग्ने बताए । भ्याट भने छुट छ । ‘यति थोरै भन्सार तिर्नसम्म मूल्य कम देखाउने तर यता ल्याएर मनपरी मूल्य राखी उपभोक्ता ठग्ने काम भइरहेको छ,’ विभागका ती अधिकारीले भने । 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले पनि औषधि आयात गरिएका भारतलगायत केही मुलुकमा भन्दा अत्यन्त बढी मूल्यमा बिक्री गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसकिएको स्विकारे । उनले भने, ‘क्यान्सरको औषधिमा देखिएको अत्यन्त धेरै मूल्य अन्तर कि ठगी हो या नेपालका लागि भनेर छुट्टै मूल्य निर्धारण गराएर भएको हो ।’ उनले यस्ता औषधि फ्रेन्चाइजीको नाममा ल्याएर नेपालमा आफैं मूल्य थपेर बिक्रीवितरण गर्दा यस्तो अन्तर देखिएको हुन सक्ने औंल्याए । 

विभागका अनुसार औषधिको अधिकतम मूल्यभित्रै १५ प्रतिशत रिटेलर र ७ देखि १० प्रतिशतसम्म डिस्ट्रिब्युटरले लिने गरेका छन् । यसभन्दा बढी लिनेहरू कारबाहीको दायरामा पर्छन् । ‘औषधिको परल मूल्यमा धेरै अन्तर हुनु गैरकानुनी हो, त्यसमा संलग्नलाई कारबाही हुनैपर्छ,’ औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने, ‘भ्याट र करसमेत छुट भएकाले भारतमा पर्नेभन्दा खास बढी मूल्य यहाँ हुनु हुँदैन ।’ 

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ मा दिइने एन्टिभाइरल सोफोसोभिर औषधिको एक महिनाको डोज (२८ चक्की) को भन्सारमा सकारेको मूल्य ४ हजार ३ सय ३६ देखि ९ हजार ६ सय ५९ भए पनि नेपाली बजारमा यसलाई ४० हजार रुपैयाँसम्म लिने गरिएको छ । मन्त्री थापाले व्यवसायीले मूल्य नियन्त्रणमा नसघाए सरकार श्रीलंका र बंगलादेशजस्तो आफैं औषधि किन्ने प्रक्रियामा जान सक्ने चेतावनी दिए ।


(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

Last modified on 2017-07-04 14:52:53

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts