जिल्लामा अत्यावश्यक औषधि अभाव भए कारबाही गरिने



Download our app to get more features

काठमाडौँ, ४ माघ । अत्यावश्यक औषधि खरिद नगरी अभाव सिर्जना गर्ने जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयका प्रमुख कारबाहीमा पर्ने भएका छन् । 

धेरै जिल्लामा निःशुल्क औषधिको अभाव भइरहेको समाचार आएपछि मन्त्रालयले सबै जिल्लाका १३१ अस्पतालमा १३ करोड १३ लाख निकासा गरिएको मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले जानकारी दिए । 

औषधि खरिदका लागि समयमा रकम पठाए पनि धेरै जिल्लामा बोलपत्र प्रक्रियाका कारण ढिलाइ भए पनि मन्त्रालयले सोझै खरिद गरी अभावको अन्त्य गर्न प्रत्येक जिल्लालाई रु पाँचदेखि पन्ध्र लाखसम्म पठाएको हो । मन्त्रालयको मौज्दात स्वीकृत कार्यक्रमबाट उक्त रकम पठाएको हो । स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा पर्याप्त औषधि मौज्दात रहेको दाबी गर्दै आए पनि आन्तरिकरुपमा भने औषधि अभाव भएकाले खरिदका लागि पत्र पठाएको हो । मन्त्रालयले गत पुस ४ गते चौथोपटक सार्वजनिक खरिद ऐनको नियमावली परिर्वतनलाई आधार मानेर जिल्लालाई रु पाँच लाखसम्मको अत्यावश्यक औषधि किन्नका लागि पत्राचार गरिएको हो । 

सार्वजनिक खरिद (चौथो सशोधन) नियमावली २०७३ को नियम ८४ (२) (१ क) बमोजिम रु पाँच लाखसम्मको अत्यावश्यक वस्तु सोझै खरिद गर्न व्यवस्था गरिएको छ भने जिल्लाको हकमा रु ५० लाखसम्मको औषधि बोलपत्रमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको अधिकृत शर्माले बताए । 

मन्त्रालयले अत्यावश्यक औषधि कुनैपनि हालतमा अभाव हुन नदिन कडा निर्देशन दिएको छ । अभावका स्थिति सिर्जना भए कडा कारबाही गर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार कतिपय जिल्लामा बोलपत्र नगर्ने र शीघ्र औषधि खरीद प्रक्रिया अगाडि नबढाउने प्रवृत्ति र कतिले अन्तिम चरणमा आएर बोलपत्र रद्द गर्ने करणले पनि अत्यधिक औषधि अभाव हुने गरेको छ । 

विसं २०७१ भदौ १३ को मन्त्रिपरिषद्को बैठकले जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३६ प्रकार औषधि निःशुल्क वितरण गर्ने निर्णय गरेको थियो । सोही समयदेखि समयमा रकम निकासा नहुँदा औषधि खरिद हुन सकेको थिएन । विगतमा पुस महिनामा मात्र बोलपत्र आह्वान हुने र जिल्लामा वैशाख जेठमा मात्र प्रक्रिया सुरु हुने हुँदा औषधि अभावको स्थिति रहँदै आएको छ । 

यस वर्ष असोजमै बोलपत्र आह्वान गरिएको र जिल्लामा खरिद प्रक्रिया सुरु गर्न समयमा रकम पठाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले ३८ जिल्लामा औषधि खरिद भइसकेको छ भने अन्य जिल्लामा पनि प्रक्रिया आगडि बढिसकेको छ । रासस 

Last modified on 2017-07-04 14:59:20

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts