एचआईभी संक्रमित बढ्दो



Download our app to get more features

दैलेख, ४ माघ । खरीगैरा ६ की बालु बयकले कर्जा निकालेर पतिलाई विदेश पठाइन् । विदेशबाट फर्किएको केही समयपछि पतिको एचआईभीका कारण मृत्यु भएपछि उनलाई छोराछोरीको भविष्यको चिन्ताले सताएको छ । राकम कर्णालीकी सावित्रा नाथ योगीको पीडा पनि उस्तै छ । ५ जनाको परिवारमा छोरीबाहेक सबै एचआईभी संक्रमित छन् । वैदेशिक रोजगारीमा गएका पतिले उतैबाट रोग सारेर ल्याएपछि सबै संक्रमित भएका हुन् । सिहौसन स्थायी घर भएकी उनी गाउँमा सबैले संक्रमित भन्दैै अपहेलना गरेपछि परिवारसहित राकमको खिड्कीज्युला सरेकी हुन् ।

त्यहाँ मजदुरी गरी परिवार पाल्दै आएकी उनलाई फेरि यो ठाउँ छोड्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ । अहिले एचआईभी संक्रमित परिवारका सदस्य स्थानीय स्वास्थ्य चौकीमार्फत एआरटी सेवा लिइरहेका छन् । वैदेशिक रोजगारीमा जाने पुरुषबाट महिलामा एचआईभी संक्रमण बढ्दै गएको छ ।

पछिल्लो समय ग्रामीण क्षेत्रका बालबालिकामा संक्रमण देखिन थालेको छ । दैलेखमा २ सय ५१ जना महिला र पुरुषमा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । यहाँका ३६ जना बालबालिकामा एचआईभी संक्रमण छ ।

राकम कर्णाली क्षेत्रमा एकल महिलाहरुको संघर्ष समितिकी अध्यक्ष नानीदेवी शाहीले पुरुषहरुका कारण एचआईभीको संक्रमण बढ्दै गएपछि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । जिल्लामा एआरटी जाँचका लागि सबसेन्टर नहुँदा ६÷६ महिनामा चेकजाँच गर्न असहज भएको छ । यसका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता छ ।


(आजको कान्तिपुर दैनिकमा समाचार छ) 

Last modified on 2017-07-04 15:02:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts