राप्ती अञ्चल अस्पतालमा बिरामी बढे



Download our app to get more features

दाङ, ४ माघ । दाङको अस्पतालमा ६० प्रतिशत बिरामी बढेका छन् ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा टिचिङ हस्पिटल, महाराजगन्जका आवासीय विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालमा पनि दिनप्रतिदिन सेवा लिने बिरामी सङ्ख्यामा वृद्धि हँुदै गएको अस्पतालले जनाएको छ । 

हाल अञ्चल अस्पतालका बिरामीको भीड लाग्ने गरेको छ । आवासीय विशेषज्ञ चिकित्सकबाट सेवा लिने बिरामीसँगै अन्य बिरामी पनि दिनहुँ बढ्दै गएको अस्पतालले जनाएको छ । अस्पतालमा पहिले दैनिक एकसय बिरामीले सेवा लिने गरेकामा हाल भने दुई सयभन्दा बढी बिरामी वहिरंग सेवा लिन आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट चिकित्सक पदमराज अधिकारीले बताए । 

उनका अनुसार हाल अस्पतालमा बालरोग, हाडजोर्नी चिकित्सक पनि करारमा आएका र अन्य आवासीय विशेषज्ञ चिकित्सक आएका कारण बिरामी पनि बढेका हुन् । अस्पतालमा पहिलोपटक सातजना आवासीय विशेषज्ञ चिकित्सक आउनुका साथै हाडजोर्नी, बालरोग विशेषज्ञ चिकित्सक आएको अस्पतालले जनाएको छ । 

निमित्त मेसु अधिकारीले भने,“पहिलेको भन्दा बिरामी ६० प्रतिशतले बढेका छन्, आवासीय विशेषज्ञ डाक्टरका साथै अस्पतालमा अन्य डाक्टर पनि आएका कारण बिरामी बढेको होला ।” 

त्यसैगरी, अस्पतालमा सबैभन्दा बढी बिरामी हाडजोर्नी र स्त्रीरोगका आउने गरेको पनि बताइएको छ । अस्पतालमा हाडजोर्नी, गाइनो, एनएस्थेसिया, फिजिसियन, बालरोग, मानसिक रोग गरी विभिन्न आवासीय विशेषज्ञ आएका छन् । विशेषज्ञ चिकित्सकको अभावमा बाहिर जान बाध्य भएका बिरामीलाई यहीँ सेवा दिने गरेका कारण पनि बिरामीको सङ्ख्यामा वृद्धि आएको बताइएको छ । 

आवासीय विशेषज्ञ चिकित्सक आएसँगै आफूहरुलाई सेवामा सहजता भएको बिरामीले बताएका छन् । “हाडजोर्नीको समस्या थियो, कि त नेपालगन्ज कि त यहाँ आउने डाक्टरहरुलाई कुनुपर्ने समस्या थियो तर अञ्चल अस्पतालमै सेवा पाइने रहेछ, हामीलाई धेरै सहज भयो”, तुलसीपुर–२ का रामबहादुर केसीले भने । त्यसैगरी दाङमा मानसिकलगायत अन्य विशेषज्ञ नभएका कारण पनि बिरामी अन्यत्र सेवा लिन जान बाध्य थिए । 

यसैबीच, अन्चल अस्पतालमा सरकारले ल्याएको विस्तारित सेवा पनि सुरु भएको छ । अस्पतालले अब बिहान १० देखि साँझ ५ बजेसम्म सेवा सुरु गरेको मेसु अधिकारीले बताए । 

बिहान ११ देखि २ बजेसम्म ओपिडी र २ देखि ५ बजेसम्म सशुल्क विस्तारित सेवाअन्तर्गत क्लिनिक सञ्चालन गरेको बताइएको छ । अस्पतालले विस्तारित सेवाअन्तर्गत क्लिनिक सञ्चालन गरेपनि पैसा तिनुपर्ने भएकाले बिरामी कम आउने गरेको बताइएको छ । 

“हामीहरुले विस्तारित सेवा पनि सुरु गरेका छौँ, सो सेवामा दिनमा पाँच÷छजना मात्र बिरामी आउनुहुन्छ, त्यही पनि टाढाबाट आउने बिरामी मात्र”, अधिकारीले भने । 

सो सेवा त्यति प्रभावकारी नभएको पनि बताइएको छ । १० रुपैयाँमा निःशुल्क चेकजाँच हुनेलाई किन चारसय तिर्नुपर्ने भनेर बिरामी पनि चेकजाँच नगराउने समस्या रहेको अस्पतालका एक अधिकारीले भने । रासस 

Last modified on 2017-07-04 15:03:58

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts