कान पाक्ने समस्या छ ? कसरी जोगिने ? चिकित्सकको सुझाव यस्तो छ (भिडियो सहित)



Download our app to get more features

कानको समस्या धेरै व्यक्तिमा हुन्छ । अधिकांशमा कान पाक्ने वा दुख्ने समस्या हुन्छ । के कारणले कान पाक्छ र कसरी बच्ने? वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा.डा. नरमाया थापाका केही टिप्सः

कानमा लाग्ने रोग हेर्दा साधारण लागे पनि समयमै उपचार भएन भने यसले अन्य अंगमा पनि असर गर्न सक्छ । कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै कान पाक्ने समस्या हो । जुन सुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ । हाम्रो देशको सन्दर्भमा कान पाक्ने समस्या अझ धेरै छ । कारण कानको हेरचाहामा ध्यान नदिनु ।

कान पाक्ने भनेको के हो ?
कानको बनावट हेरेर ३ भाग(बाहिरी ,मध्य र भित्री)मा विभाजन गरिएको हुन्छ । जसमा मध्य भागमा विभिन्न कारण संक्रमण हुदा पीप जम्छ , जमेको पीपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ । यस लाई नै कान पाकेको भनिन्छ ।

बच्चाहरुमा बढी कान पाक्ने कारण :
घाँटी र कान जोड्ने नसा एउटै हुन्छ । यस्तो नसा वा नली बच्चाहरुमा सिधा रहेको हुन्छ भने ,उमेर बढेसंगै प्रौढहरुमा यस्तो नसा टेडो हुन्छ । त्यसका कारण बच्चाहरुमा घाटीमा संक्रमण हुने बित्तिकै सिधै कानमा असर गर्छ र छिट्टै पाक्छ  । प्रौढहरुमा भने रोग प्रतिरोधात्मक क्षमता पनि बढी र नशा टेडो भएकाले संक्रमण कम हुने गर्छ । 

कान पाक्ने प्रमुख कारण :
१.बच्चालाई सुतेर दूध खुवाउँदा कानमा पर्दा ।
२. फोहोर पानीमा पौडी खेल्दा वा नुहाउँदा ।
३.दुर्घटना, झगडा वा कानमा असर पुग्ने गरि कानको जाली फुट्दा ।
४.टन्सिलको समस्या हुँदा ।
५.लामो समय रुघाखोकी लाग्दा, कानमा प्रेसर पर्ने गरी सिँ सिँँ गर्दा ।
६. धेरै समय नाकमा संक्रमण हुँदा पनि कान पाक्छ ।
६.कानेगुजी झिक्न वा फोहोर सफा गर्न भन्दै धेरैले सिन्का, प्वाख , सलाईको काटी जस्ता सामानले कान कोट्याउने गर्छन् । यसले कानको जालिमा असर गर्नुका साथै विभिन्न संक्रमण देखा पर्छ जसले गर्दा कान पाक्छ ।

कान पाक्दा यसरी सुनाई कम हुन्छ :
लगातार कान पाक्दा कान ढम्म हुनुका साथै दुख्ने हुन्छ । कान पीप बगिरहँदा कानको भित्री भागमा समेत संक्रमण हुन्छ । कानको जालीनै प्वाल पर्ने भएकाले कम सुन्ने वा सुन्दै नसुन्ने हुन सक्छ ।
कान पाक्ने समस्याको बेलैमा उपचार नगर्दा यस्ता असर देखा पर्नसक्छ

१. ज्वरो आउने ।
२. कानको पछाडी पट्टीको भागबाट सुन्ने जस्तो हुने ।
३.रिंगटा लाग्ने ।
४.कसैमा कान पाकेको लामो समय भएमा मुख बाड्गो हुने गर्छ ।

कान पाक्नबाट बच्ने उपाय :
१.बच्चालाई दुध चुसाउँदा होस् गर्ने, कतै दूध कानमा त परेको छैन् ।
२. रुघा लाग्दा बेस्सरी सिँसिँ नगर्ने ।
३.कानमा तेल नहाल्ने ।
४.नुहाउँदा वा पौडी खेल्दा कपासमा भ्यासलिन लगाएर कानमा राख्ने, ताकी कानमा पानी नछिरोस् ।
५. जथाभावी कान नकोट्याने ।
६. चिसोको समयमा कान छोप्ने वा न्यानो राख्ने ।
७.सवारी साधानमा यात्रा गर्दा वा कुनै पनि समयमा कानमा किरा वा अन्य कुरा पस्नबाट जोगाउने ।
८. जथाभावी औषधिको प्रयोग नगर्ने ।

कानमा कुनै समस्या आईहाल्यो भने, तत्काल चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ ।

 

भिडियो हेर्नुस्

 

Last modified on 2017-07-06 12:13:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. नबराज पराजुली on Fri, Jan 26 2018 01:30 PM

    म लामो समय देखि कानको समस्या बाट पीडित छु डाक्टरलाई देखाउदा दुबै कानको जालिमा प्वाल परेको छ भन्नुहुन्छ ,।आजभन्दा करिब १२,13 बर्ष पहिला ईन्डिया मा अप्रेसन गराएको थिए तर ,सुनाइमा सुधार भएन र कान पाक्ने समस्या पनि रोकिएन ।कानको सुन्ने शक्ति एकदम कम हुदै गइरहेको छ।मेरो ध्यान सोचाइ सबै कानमै केन्द्रित हुन्छ ।जसले गर्दा मेरो काममा मन लाग्दैन ।जति बेला पनि हिन भावना ले ग्रस्त हुन्छु।डाक्टर साहब मेरो विकल्प के हुनसक्छ होला ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts